क्रिकेट युनिभर्सल बोस भनेर चिनिने वेष्ट इण्डिजका विष्फोटक अलराउण्डर क्रिस गेलले सन्यासको घोषणा गरेका छन् ।गेलले आगामी विश्वकपपछि अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । लामोसमयदेखि वन डे टिमबाट बाहिर रहेका गेल इङल्याण्डसँग हुन लागेको एकदिवसीय सिरिजमा टिममा कमब्याक गरेका छन् । राष्ट्रिय टिममा उनको कमब्याक विश्वकपलाई लक्षित गरी भएको अनुमान गरिएको छ ।

गेलले गएको २०१५ को विश्वकपमा एकदिवसीय क्रिकेटमा दोहोरो शतक हानेका थिए । जिम्बाब्बेविरुद्ध भएको उक्त खेलमा गेलले कीर्तिमानी एक इनिङमा १६ छक्का प्रहार गरेका थिए । सन्यासको घोषणा गर्दै गेलले आफू अझै पनि युनिभर्स बोस नै रहेको टिप्पणी गरे ।

३९ वर्षीय गेलले एकदिवसीय क्रिकेटमा १० हजार रन बनाउन अझै २७३ रन बाँकी छ । उनले यो रन आगामी सिरिज र विश्वकपमा पूरा गरेर १० हजार रन पूरा गर्ने लक्ष्य राखेका छन् । यो विश्वकपसम्ममा १० हजार रन बनाउन सके गेल १० हजार एकदिवसीयरनको आँकडा पार गर्ने विश्वकै १४ औं ब्याट्सम्यान हुनेछन् ।

Comments

comments