महाशिवरात्रि पर्वका रहस्यमय कुराहरु जान्नुहोस्

31

महाशिवरात्रि अर्थात् फाल्गुनकृष्णचतुर्दशी साक्षात् शिवजीव निराकारबाट साकार रूपमा प्रकट भएको दिन हो । शंकर भगवान् विशालकाय अग्निलिङ्मा प्रकट हुनुभएको दिन फाल्गुन कृष्णचतुर्दशी अर्थात् महाशिवरात्रि हो । लिङ्ग पुराणमा शिवोत्पत्तिको विशेष वर्णन पाइन्छ । भगवदुत्पत्तिसँगै यो सृष्टिको पनि आरम्भ भएको हो । माघमासस्य शेषे या प्रथमे फाल्गुनस्य च ।
कृष्णा चतुर्दशी सा तु शिवरात्रिः प्रकीर्तिता ।। (कालमाधवीयस्कन्ध, नागरखण्डम् ) अर्थात् फाल्गुन कृष्ण चतुर्दशीलाई शिवरात्रि भनिन्छ । जुन शिवउपासनाका निम्ति उत्तम दिन हो । महाशिवरात्रिपर्व विशेषतः रातमा पर्ने गर्दछ अर्थात् भनौँ रात्रिव्यापिनी हुन्छ । जुन रातले चतुर्दशीलाई धेरै छोएको हुन्छ सोहीदिन महाशिवरात्रि पर्व मनाउने गरिन्छ । रात्रिका प्रत्येक प्रहरमा शिवजीको विधिपूर्वक पूजा अर्चना गर्ने विशेष पद्धति पनि रहेको छ ।

भगवान् शंकरका विभिन्न ज्योतिर्लिङ्ग पनि यही फाल्गुन कृष्णचतुर्दशीमा प्रकट भएका हुन् । पछि आएर समुद्रमन्थनबाट प्राप्त विषलाई पनि राक्षतु् नीलकण्ठ भगवान्ले यही दिन आफ्नो कण्ठप्रदेशमा राख्नुभएको कथा विभिन्न पुराणमा वर्णन पाइन्छ । यसैगरी भगवान शिव र पार्वतीजीको शुवविवाह पनि यही समयमा भएका कथा प्रसङ्ग पनि पाइन्छन् । विशेषतः याे शिवशक्तिको साकार स्वरूप प्रकट भएको यो पुण्य समय हो । शिवरात्रिमा भगवान् शंकरको उपासना गर्नाले अभीष्ट फल प्राप्त गर्नेकुरा शास्त्रमा वर्णन पाइन्छ । रावणले भगवान् शिवलाई खुशी पार्न महाशिवरात्रिको व्रतधारण गरी आफ्नो अभीष्ट सिद्धि गरेका थिए । यसैगरी भगवान् श्रीरामले पनि रामेश्वर शिवलिङ्को उपासना गरी युद्धमा विजय हासिल गरेका दिव्य कथाप्रसङ्ग रामायणमा पनि पाउन सकिन्छ ।

शंकर तम तत्त्वप्रधान भएकाले कृष्णपक्षको चतुर्दशीमा प्रादुर्भाव हुनुभएको हो । यस्तो अन्धमय समयमा पनि कल्याण गर्ने विश्व ब्रह्माण्डका अखिल नायक सृष्टिस्थिति र लयकर्ता आद्य शक्ति परमात्मा परमेश्वर देवाधिदेव महादेवको महिमा अपरम्पार छ । शिवशक्ति आद्य परमात्मा परब्रह्म हुनुहुन्छ । यो संसार भगवान् शिवकै अंशरूपमा चलिरहेको छ । चराचर जगत्् शिव सङ्कल्पबाट सृजित भएको हो । शिवलीला अपरम्पार छ । सृष्टिसँगै लय पनि अवश्यम्भावी छ जो परमात्मा परमेश्वका कृपाले सम्भव छ । आद्य शविशक्तिबाट नै यो संसारको उत्पत्ति भएको हो । वेदले पनि भगवान् शिवको स्तुति गरेका छन् । तन्मे मनः शिवसङ्कःपमस्तु..को वेदध्वनिबाट पनि उक्त कुराको पुष्टि हुन आउँछ ।

वेद विश्वको सर्वप्राचीन अपौरुषेय ग्रन्थ हो । जहाँ परमात्मा परमेश्वरको स्तुतिगान गरिएको छ । यस अन्तर्गत कर्मकाण्ड र ज्ञानकाण्ड रहेका छन् । कर्मद्वारा ईश्वर प्राप्त गर्ने विधि कर्मकाण्ड हो । यस अन्तर्गत यज्ञयागादि हुने गर्दछन् । ज्ञानद्वारा परमात्मा प्राप्त गर्ने विधि ज्ञानकाण्ड हो । ज्ञानकाण्डलाई उपनिषद् भनिन्छ । चारवटै वेदले परमात्मा परमेश्वरको विशेष स्तुतिगान गरेका छन् । यजुर्वेदमा शिवका स्तुतिहरू प्रशस्तै पाइन्छन् । रुद्राभिषेक यजुर्वेदकै मन्त्रबाट सम्पादन गरिन्छ । जहाँ विविध प्रकारले शिवपार्वतीको महिमा गान गरिएको छ । हरेक कण–कणमा शिववास हुने र त्यस्ता कणरूपी महेश्वरलाई शतत नमन छ भन्दै सम्पूर्ण यजुर्वेदमा शिवमहिमा गान गरेको पाउन सकिन्छ । नमो हिरण्यवाहवे सेनान्येदिशाञ्चपतयेनमो नमो वृक्षेभ्यो हरिकेशेभ्यः पशूनाम्पतये नमोनमः ।। ( यजुर्वेद,१६।१७) नमो गणेभ्यो गणपतिभ्यश्चवोनमोनमोव्व्रातेभ्यो व्व्रातपतिभ्यश्चवोनमोनमो… (यजुर्वेद।१६।२५) स्वर्ग, अन्तरिक्ष, पृथ्वी आदि सर्वत्र व्याप्त परब्रह्मलाई शतत नमन गरिएको छ ।

सामवेद संगीतको आद्य स्रोत हो । जसका पिता शिवजी हुनुहुन्छ । भगवानको नटवर स्वरूपबाट नृत्य र गायनका सा रे ग म प ध नि सा आएका हुन् । यसैगरी अथर्ववेदले पनि शिव महिमा गान गरेको छ । अथर्ववेदमा मारण मोहन र उच्चाटनका कुरा छन् । जसका जनक स्वयं साम्बसदा शिवजी हुनुहुन्छ ।

वेद विहित विषयवस्तुको ज्ञानकाण्ड र कर्मकाण्डका रूपमा ब्राह्मणा र उपनिषद् आएका हुन् । उपनिषद् ज्ञान काण्ड हो भने ब्राह्मण आरण्यक कर्मकाण्ड अन्तर्गत पर्दछन् । परमात्मा परमेश्वर प्राप्त गर्ने विविध उपाय ब्राह्मण उपनिषद्मा पाउन सकिन्छ । परमात्मा परमेश्वरको शिवसायुज्य प्राप्त गर्ने विधि (कर्म र ज्ञान) ब्राह्मण उपनिषद्ले बताएका छन् । प्रकारान्तरले परमात्मा परमेश्वरको आराधना नै ब्राहण उपनिषद्को मुख्य ध्येय हो ।

भगवान् महेश्वर स्वयं पशुपतिनाथ हुनुनहुन्छ । प्रकृतिदेखि पृथ्वीसम्म २४ तत्त्वलाई पाशरूप भनिन्छ । यिनै २४ तत्त्वकाे पासोमा जीवलाई पशुपतिले बाँध्नु भएको छ । अविद्या, अस्मिता, राग, द्वेष र अविनिवेश नामका पाँच क्लेशको वर्णन पुराणको आरम्भमा गरिएको छ । भगवान् शङ्करका अष्टमूर्तिमा सम्पूर्ण तत्त्व समावेश पाइन्छ । अष्टमूर्तिमा पञ्चब्रह्मरूपको प्रधानता रहेको छ । पञ्चब्रह्मरूपमा ईशान, तत्पुरुष, अघोर, वामदेव र सद्योजात पर्दछन् । ईशान रूपमा भोक्ता र भोग्य दुवै अविभक्त रूपमा स्थित रहन्छन् । भोक्ता क्षेत्रज्ञ कहलाउछ र त्यसैको एकभाग भोग्यरूपबाट परिणत हुन्छ । तत्पुरुष प्रकृतिरूप, अघोर बुद्धिरूप, वामदेव अहंकार रूप र सद्योजात मनस्तŒवरूप हुन् । यी पाँच क्रमशः पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय हुन् । यी समष्टिरूप ज्ञानेन्द्रिय र कर्मेन्द्रियबाट नै व्यष्टिरूप जीवका ज्ञानेन्द्रिय र कर्मेन्द्रिय भएका हुन् । यसप्रकार पञ्च तन्मात्रा हुँदै पञ्च महाभूत रूपमा परिणत हुन्छ । यिनै २५ तŒवको समष्टि रूप शिवानन्द हो । आत्मस्वरूप दर्शन नै विद्या हो । भ्रान्तिस्वरूप दर्शन अविद्या हो । परंतत्त्व विद्या र अविद्याभन्दा पनि पर रहेको छ अर्थात् पृथक छ । सोही परं ततत्त्व परमात्मा परमेश्वर साक्षात् शिवजी हुनुहुन्छ ।

लिङ्गपुराणको अन्तिम अध्यायमा मन्त्रयोग, स्पर्शयोग, भावयोग र महायोगको चर्चा गरिएको छ । मुखले मन्त्रको जप, मनबाट रूपको ध्यान गर्नु मन्त्रयोग हो । नाडीशुद्धिबाट वायुशुद्धि गर्ने प्रक्रिया स्पर्शयोग हो । भित्र र बाहिर भगवद् रूपको स्फुरण हुनु भावयोग हो । यी तिनवटै सिद्धि पश्चात् सर्वोत्तम महायोगको स्थान आउछ, जो निर्विकल्प समाधिरूप हो । यसको सिद्धिपश्चात् सम्पूर्ण बन्धनबाट मुक्त भएर शिवसायुज्य प्राप्त हुन्छ भन्ने कुरा लिङ्गपुराणमा व्यक्त गरिएको छ । महाशिवरात्रि शिवतत्त्व प्राप्तिको उत्कृष्ट दिन हो । पुराणका अनुसार विष्णु भगवान् र ब्रह्माजीका बीचको आपसी विवाद सल्टाउन भगवान् शङ्करले जसले शिव लिङ्गको आदि र अन्त्य पत्तालगाउछन् उही सर्वप्रथम पूजनीय हुन्छन् भन्ने शिव आज्ञा पश्चात् शिवलिङ्गको फेद पत्ता लगाउनु विष्णु भगवान् र शिर पत्ता लगाउन ब्रह्माजी माथितिर लाग्नु भयो । ब्रह्माजीले झुटो बोली शिर पत्तलालगाएको कुरा बताएपछि शिवश्राप पर्दछ । यता विष्णु भगवान् पनि शिवलिङ्गको अन्त्य प्राप्त नभएपछि शिवजीको प्रार्थना गर्नुहुन्छ । ब्रह्मा र विष्णु भगवान्मा पनि शिवतत्त्वको बोध हुन्छ । उक्त महिमा गान गरी शिवतत्त्व प्राप्त गरेको दिन नै महाशिवरात्रि हो । यसदिनलाई आत्मतत्त्व बोधका रूपमा पनि पुराणले वर्णन गरेका छन् ।

शिवरात्रि शिवउपासनाको उत्तम दिन हो । रात्रि तमको प्रतीक हो । शिवजीको उपासनाले अन्धकारबाट पनि मुक्ति मिल्ने भएकाले महाशिवरात्रिको विशेष महिमा बताइएको हो । शिव साक्षात् ईश्वरीय तत्त्व भएकाले सो प्राप्तिका निम्ति महाशिवरात्रि उत्तम दिन मानिन्छ । चतुर्दशी तिथिका स्वामी पनि साक्षात् शिवजी नै हुनुहुन्छ । चतुर्दशीमा गरिएका शिव उपासना फलदायी रहने भएकाले पनि महाशिवरात्रिको विशेष महिमा रहेको पाइन्छ ।

Comments

comments