सामाजिक सञ्जाल खोल्दाखोल्दै एउटा दु:खद समाचारले आँखा बिझायो ! खबर थियो , बद्री इहलीलाबाट बिलाए । स्तब्ध भएँ म । रिँगटा लाग्यो , फनफनी घुम्यो धर्ती ,अकस्मात् । अप्रत्याशित थियो मुटु कटक्क खाने खबर मेरानिम्ति । मगजलाई हठात् हिर्कायो , एउटा स्मरणबाट टाढै रहुँ भन्ने पीडादायी घटनाले । त्यसो त बद्री समाचार बन्नैपर्ने यो समाजका इनेगिने व्यक्ति थिएनन् , न त कुनै चर्चा- परिचर्चाका पात्र नै थिए । कुनै खबरकागज या विद्युतीय सञ्चारमाध्यमका शीर्षक बनेनन् उनी । बन्ने विषेश योग्यता पनि थिएन भनौं । र, पनि मेरो मगज भने बेस्सरी खज्मज्याएको थियो , सञ्जालको भित्ता रङ्गिएको दु:खद खबरले ।

* * *

त्यतिबेला ज्ञानेन्द्रको शाही निरङ्कुशताले पराकाष्ठा नाघेको थियो । एकाध सडकमा देखापर्ने आन्दोलनकारीलाई चरम दमन गरिन्थ्यो । त्यसैको मारमा थिए दिवंगत गिरिजाप्रसाद कोइरालालगायत सिङ्गो निरङ्कुशता विरोधी सडक सङ्घर्ष । माधव कुमार नेपालहरू प्रतिगमन आधा सच्चिएको भन्दै ज्ञानेन्द्रलाई नै सघाइरहेका थिए । तत्कालीन माओवादीले प्रारम्भ गरेको जनयुद्धले देशको ठूलो भू:भागमा राज्यको उपस्थिति शून्यप्राय: बनाइदिएको थियो । आश वा त्रासले ठूलो जनसमूह जनयुद्धमा समाहित थियो । देशमा उकुसमुकुसको वातावरण थियो । मान्छे बोल्न पनि हिच्किचाउँथे । नयाँ मान्छे देख्नासाथ एक खालको भय उत्पन्न भइहाल्थ्यो मान्छेको अन्तरमनमा ।

युद्ध वारपारको अवस्थामा पनि पुगेको थिएन । ज्ञानेन्द्रले युद्धलाई निस्तेज पार्ने दिवास्वप्न देखे । उनको टीके सरकारले कार्यसम्पादन निकै चुस्त दुरुस्त भएको देखाउन र शान्ति तथा अमनचयन कायम भएको देखाउन पनि निर्दोष एवं सहरमा कुनै न कुनै काममा संलग्न माओवादीका शुभेच्छुक वा उनीहरूसँग बाह्र हातको साइनो समेत नभएका सामान्यजनलाई गिरफ्तार गर्दै सेनाका बङ्करहरूमा खर्क्याउने, बेपत्ता पार्ने, अपराध बकाउने नाममा यातना दिएर अङ्गभङ्ग गर्ने सम्मका मानवताविरोधी हर्कत गरिरहेका थिए । ठिक त्यसैबेला चुनावी नाटकको मञ्चन पनि गरिएको थियोे ।

यो संस्मरणकारलाई पनि चिलले चल्ला छोपेझैँ कलेजको कक्षाबाट अपहरण गरिएको थियो । त्यसो त कलेजकी प्राचार्य स्वयं संस्मरणकारलाई फसाउने खेलोमा लागेको विभिन्न दसीहरू पनि भेटिएकै थिए । तर शाही सेनालाई उनको कुरा विश्वास गरिहाल्ने आधार प्राप्त भइसकेको थिएन । ऊ असमञ्जसमा थियो । किन्तु ऊ कतिबेला थप केही टिप्स भेटिन्छ र चौखुर्‍याउन सकिन्छ भन्ने ताकमा रहेको सहजै अनुमान गर्न सकिन्थ्यो ।

यसैबीच पक्राउ परेछन् बद्री । उनलाई शाही सेनाले यति चरम अमानवीय यातना दिएछ कि यो अवर्णनीय छ । यातनाका सिलसिलामा उनका लामा आकर्षक जुँगा आधासरो उखेलिएका थिए र उनलाई अन्य मान्छे पक्रन सहयोगी (मतियार)को भूमिकामा राजी गराइएको थियो । निरङ्कुश सत्ता अन्तरध्वंस गरेर समाप्त पार्न चाहन्थ्यो, जनयुद्धलाई । मतियारहरू थिए , तुलसी गिरीदेखि कमल थापा र टङ्क ढकालसम्म । ज्ञानेन्द्रलाई दुनियाँका आन्दोलनका शृङ्खला र परिवर्तनको हुन्डरीबारे कम चासो थियो र उनलाई प्रिय हुने कुरामात्र रिपोर्टिङ गरिन्थ्यो । सेना माओवादीको समूल नष्ट गर्न चाहन्थ्यो । धूर्त पूर्वपञ्चहरू राज्यकोषमा एकलौटी हैकम जमाउन चाहन्थे , ज्ञानेन्द्रलाई मोहोरी बनाएर । हो, यही सेरोफेरोमा मेरो पक्राउ भएको थियो , सेनाको टुकडीद्वारा । धेरथोर सूचना प्रवाह बद्रीबाट पनि भएको थियो ।

अशह्य पीडा खप्न नसकेकै कारण उनले यो कसुर गरेका थिए र खोरबाट रिहा भएपछि पटकपटक आफ्नो महाभुलको महसुस गरे उनले र पश्चाताप पनि । यो हर्कत गर्नुमा कुनै दुर्भावनाले भन्दा पनि उनको बाँच्ने लालसाले काम गरेको थियो । म विरुद्ध उनको दुराग्रह जीवनकालभरि पाइनँ ।

* * *

सेनाले सोधपुछ गर्‍यो त्यो रात । हाम्रो आँखामा पट्टी भएकालेे को को थिए प्रश्नकर्ता ठम्याउन सक्ने कुरो भएन । सेनाले व्यक्तिगत सोधपुछ गरिसकेपछि सामूहिक ढङ्गले राख्यो एकै ठाउँमा । कुनै कुख्यात नेतालेझैं भाषण गर्न थाले सेनाका हाकिम (सायद ) ले । उनको मकसद फगत हामीलाई माओवादी गलत छ भन्ने थियो । उनले भने -” आतङ्ककारी यो समाजका धमिरा हुन् । तिनीहरु ऐस आराममा छन् र तपाईंहरूजस्ता निर्दोष मान्छेहरूलाई मुठीको माखा बनाएर आफ्नो अभीष्ट पूरा गर्न खोजेका हुन् । यी धमिराहरूलाई बेलैमा चिनिएन भने तपाईं हामीलाई सिध्याउँछ्न् र सिङ्गो देश खोक्र्याउँछ्न् । अब यिनको खैरियत छैन । तपाईंहरूले नलुकाईकन भन्दिनुस् यिनीहरूको हर्कत हामी केही दिनमा सिध्याइदिनेछौं । तपाईंहरूले पाएको दु:ख यिनैको कारणले हो भनेर बुझ्नासाथ वर्तमान अनिश्चय स्वत: हटेर जानेवाला छ । अब ढिला नगरीकन हामीले आआफ्नो जिम्मेवार पूरा गरौं र आतङ्ककारीलाई निमिट्यान्न पारौं ।

हाम्रा महाराजहरूले संरक्षण गरेको मातृभूमि यिनले पराईको पाउमा चढाउने छन् र हामीलाई गुलाम बन्न बाध्य पार्नेछ्न् ।” यस्तै यस्तै कुरा गरेर पगाल्न खोजे कैदीबन्दीलाई उनले । त्यतिबेला हाँमा हाँ मिलाउने गर्थे बद्री र अरु कुनै एकदुई जना कैदी बन्दी पनि । अरुको मनको कुरा त मलाई पर्गेल्न निकै धामा भयो किन्तु बद्री चाहिँ केवल त्यो कालकोठरीबाट मुक्ति पाउनका निम्ति गर्दै थिए यो अपाच्य गतिविधि भन्ने अनुमान गर्न कठिन थिएन । एक त उनी उतिसारो राजनीतिप्रति चासो राख्ने व्यक्ति थिएनन् , त्यसमा पनि उनी मरिन्छ भन्ने निष्कर्षमा पुगेको र जीवनको भिख मागेको प्रतीत हुन्थ्यो । त्यस घटनाको लगत्तै हामीलाई एक नम्बर बाहिनीमा ल्याएर आफन्तको जिम्मामा छाड्ने निश्चय भएछ । उनलाई लिन कोही नआएकोले मेरै आफन्तको जिम्मामा रिहा गरियो । पछिका भेटमा उनी डिप्रेशनमा गएजस्तो अनुभूत गर्न सकिन्थ्यो । सायद सुल्झाउन अप्ठ्यारा पारिवारिक उल्झनमा थिए उनी पछिल्लो कालखण्डमा ।

केही महिना अघि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भेटिँदा विक्षिप्त अवस्थामा बद्री त मर्‍यो नि भने, भलाकुसारी नगर्दै । त्यसबाट लख काट्न सकिन्थ्यो उनले आफैँले स्थापना गरेको गार्गी स्कुलसमेत छोडेर हिँडेको र जीवनबाट नराम्रोसँग विरक्तिएको । त्यसपछि पुनः हाम्रो भौतिक भेटघाट भने हुन सकेन । मलाई त्यो घडी झलझली याद आयो उतिबेलाको बद्रीको जसले बाँचेर केही गर्नुपर्छ भन्ने अभिप्रायले नै मेरो पक्राउका निम्ति दुश्मनलाई चाहीनचाही सघाएको थियो । सम्झिएँ, एउटा ऊर्जाशील बद्री , एउटा सोदेश्य बद्री, एउटा शैक्षिक क्षेत्रमा अनवरत योगदान भएको बद्री , एउटा रसिक बद्री , एउटा मिलनसार बद्री , एउटा भर्भराउँदो बद्री । अन्तिम भेटको बद्री भने फरक आवरणको बद्री , मुर्झाएको बद्री , सिथिल बद्री , विरक्तिएको बद्री , वाक्कदिक्क बद्री , सुस्ताएको बद्री , बेहोसी बद्री – मह जोडीको तँ त साह्रै नै बिगृस नि बद्री भनेसरि बद्री । विक्षिप्त पछिल्लो बद्रीसँग थप विषयमा नबोली मैले तताएको थिएँ आफ्नो बाटो , भारी मन लिएर ।

उनको मृत्युको खबरले मेरो मनलाई खण्डित गरेको थियो , दुई भागमा । एक मनले भन्थ्यो आखिर बद्रीको त्यो टीठलाग्दो जियाइभन्दा कैयौं गुणा श्रेयष्कर छ मृत्यु र अर्को मनले भन्थ्यो विक्षिप्त बद्रीले रोगमुक्त बनेर पुनः सकारात्मक योगदान गर्नुपर्छ – शिक्षा क्षेत्रलाई । त्यो भर्भराउँदो बद्रीमै रुपान्तरित हुनुपर्छ, विक्षिप्त बद्री । किन्तु यी दुबै सोचमा कहीँ न कहीँ आग्रहको छनक भेटिन्थ्यो या पूर्वाग्रहको सनक देखिन्थ्यो । अन्तत: उनले लिएको बाटो नै त्यस्तो बाटो हो जसबाट कोही जीव अछुतो रहने सम्भावना छैन । अल बिदा बद्री सर !!!  इत्यलम् ।

Comments

comments