राष्ट्रपति विद्यादेवी भण्डारी सहितको प्रतिनिधिमण्डको टोली अमेरिकाको आई पुगेको छ । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को अधिवेशनमा भाग लिन आएको राष्ट्रपति सहितको टोली सोमबार विहान न्युयोर्कको जोन एफ केनेडी विमानस्थल अवतरण गरेको हो ।

यही फागुन २७ देखि आगामी चैत ८ गतेसम्म राष्ट्र सङ्घको प्रधान कार्यालयमा (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन आउनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी टोलीलाई अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्की र नेपाली नियोगका स्थायी प्रतिनिधि अमृतबहादुर राई औपचारिक स्वागत गरेका थिए ।

आजबाट चैत ८ गतेसम्म राष्ट्र सङ्घको प्रधान कार्यालयमा आयोजना हुने उक्त अधिवेशनका राष्ट्रपति भण्डारीले आज साँझ राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले नारी राष्ट्राध्यक्ष्सरकार प्रमुखको स्वागत एवं सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने र उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्र सङ्घको सचिवालयमा महासचिव एण्टोनियो गुटेरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै फागुन २८ गते हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने तथा नारी नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन्’ भन्ने विषयमा मन्तव्य दिने र २९ गते राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा तथा राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी छन् लगायतका २२ सदस्यीय भ्रमणदल यस भ्रमणमा सहभागी छन् ।

 

Comments

comments