एनआरएन अमेरिकाको २०१९ – २१ कार्यकालको अध्यक्ष पदका लागि सञ्जय थापाले उम्मेद्वारी घोषणा गरेका छन्। गृहनगर न्युयोर्कमा आइतबार एक कार्यक्रमको आयोजना गरी उनले औपचारिक रूपमै उम्मेद्वारी घोषणा गरेका हुन् ।

एनआरएन अमेरिकाको बर्तमान कार्यसमितिमा बोर्ड अफ डाइरेक्टर रहेका थापाले उम्मेद्वारी घोषणासँगै आफ्नो कार्ययोजना पनि सार्वजनिक गरेका छन् ।

दुई वर्षमा धेरै कुरा गर्न नसकिने भएकाले महत्वाकांक्षी कार्यक्रम घोषणा गर्नुको अर्थ नरहेको बताउँदै उनले हाम्रो एनआरएन राम्रो एनआरएन बनाउँन ठुला कुरा भन्दा पनि सानो काम गर्ने बताए ।

उनले पहिला अमेरिकामा रहेका हरेक नेपाली समृद्ध हुनुपर्ने र दोस्रो पुस्ताका लागि सुन्दर भविष्य दिनुपर्ने दायित्व रहेको बताउँदै उनले भने- हामीमध्ये धेरैले खास मानेमा अमेरिका किन आएको भन्ने नै पुष्टी गर्न सकेका छैनौ। हामीमध्ये धेरैको जीवन नेपालको भन्दा पनि तल्लो स्तरको छ। यो सत्यलाई स्वीकार्नुको विकल्प हामीसँग छैन ।

उनले एनआरएनमा प्रत्यक्ष चुनाव हुनुपर्ने धारणा राखे र सबैले छर्लङ्गै देख्न सक्ने पारदर्शी एनआरएन हुनुपर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताए ।

उनले निर्वाचन आयोगलाई निस्पक्ष, विश्वसनीय र पारदरर्शी चुनाव गर्नका लागि केही सुझाव पनि दिए ।

पत्रकार र अमेरिकाको खासगरी न्युयोर्कको नेपाली डायस्पोराका केही अगुवाहरूको उपस्थिति रहेको उम्मेद्वारी घोषणा समारोहमा सहभागी हुन प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा बाल्टिमोरबाट न्युयोर्क पुगेका थिए। मञ्चका महासचिव राधाकृष्ण देउजालगायतका मञ्चका नेता एवं कार्यकर्ताहरूको पनि समारोहमा उपस्थिति रहेको थियो ।

अमेरिका आउँनुअघि नेपालमा तत्कालिन नेकपा एमालेको तर्फबाट काठमाडौं जिल्ला बिकास समितिको सदस्य रहेका थापा पेशाले इन्जिनियर हुन् । उनी तत्कालिन नेकपा एमालेको प्रवास भातृसंगठन प्रवासी नेपाली मञ्च अमेरिकाका निबर्तमान अध्यक्ष पनि हुन् ।

Comments

comments