फिल्म कथाले चल्छ, ब्यानरको ब्राण्ड भ्यालुले पनि चल्छ, स्टारडमले त चल्नेनै भयो, गीत संगीतले पनि चलेका धेरै फिल्महरु छन्, तर नेपाली फिल्ममा यि सबै भन्दा धेरै बिक्छ आँसु, अझै स्पष्ट हुन धेरै प्रसस्त प्रशंगहरु छन् ।
यहाँ भावना र इमोसन बिक्छ, सजिलै,, खासै दुख गर्नु पर्दैन । परिस्थिति बुझेर राम्रो अभिनय गरे पुग्छ । अँ…फिल्ममा हैन….फिल्मको प्रमोसनमा ।
भर्खरै एक नेपाली फिल्मको ब्यापार सुनेर म छक्क परें…धेरै त खुशी नै भएँ….. नेपाली फिल्मको ब्यापार राम्रो हुँदा त्यसै खुशी मिल्छ मलाई । तर फिल्मको कथा राम्रो भएर ब्यापार भयो या स्टार पावरले अथवा अन्य कुनै कारणले ? यो प्रश्नको जवाफ खोज्दै जाँदा मेले यो बुझें ।
हो फिल्ममा स्टार पावर, ब्राण्ड भ्यालु लगायत फिल्म चल्न चाहिने सबै मसला थियो र फिल्मको हाईप पनि राम्रै थियो । तर प्रिमियरमै खराब प्रतिक्रिया पाएको र फिल्म पण्डितहरुले पनि सम्बन्धित फिल्का निर्देशकको करियरकै सबैभन्दा खराब निर्देशन भनेर आलोचना गरीरहँदा फिल्मले कसरी जादुमय ब्यापार गर्यो त ? यो भन्दा राम्रो र ठुला ठुला फिल्मले नराम्रो प्रतिक्रिया पाउना साथ हलबाट वास आउट हुने गरेको धेरै उदाहरण छन् ।
अझै यसलाई स्पष्ट पार्छु, भर्खरै राधे श्याम नामक भारतिय फिल्म विश्वभर प्रदर्शन भएको थियो, जो सबैलाई थाहै छ । फिल्मको निकै ठुलो हाईप थियो, फिल्मको हिरो नै बाहुबली प्रभास थिए, जसलाई प्यान ईण्डिया सुपरस्टार पनि भन्छन् । यो भन्दा ठुलो हाईप अरु के होला, उक्त फिल्मको लागी ? फिल्मले ओपनिङ पनि राम्रै लियो, तर फिल्मले दोस्रो दिनमै यसरी हार मान्यो कि मानौ त्यो फिल्म सिर्फ एक दिन चल्नको लागी मात्र बनेको थियो । तिन दिनमै फिल्म वास आउट भयो । यो प्रसंग मैले किन पनि जोड्नु उपयुक्त देखें कि, चाहे जति ठूलो स्टार या ब्राण्ड भ्यालु भएपनि फिल्म चल्न कथा राम्रो हुनै पर्छ, त्यसको गतिलो उदाहरण हो हिन्दि फिल्म राधे श्याम ।
मेरो आसय उक्त नेपाली फिल्मको ब्यापार ले पुनः के प्रमाणित गरेको छ भने, हाम्रो नेपाली फिल्म उघोगमा कथा, स्टारडम र ब्राण्ड भन्दा सजिलै बिक्छ आँसु र इमोसन । मेरो अनुभवमा त्यति कमजोर कथा, कलाकारको कमजोर अभिनय, खराब निर्देशन र पटकथा भएको फिल्म हप्ता दिन सम्म राम्रो अकुपेन्सिको साथ चलेको कुनै रेकर्ड छैन ।
फिल्मका हिरो बलात्कारको केसमा जेलमा छन्, र छानबिन चलिरहेको छ । फिल्म निमार्ण टिम सँग खासै राम्रो सम्बन्ध नभएका नायक प्रचारप्रसारमा भने खटिएका थिए, स्टारडम जो बचाउनु थियो । तर फिल्म रिलिजको ठिक २ दिन अघिमात्र उनीमाथि बलात्कारको मुद्घा दर्ता भएको थियो । त्यसै दिन उनि फरार भए, २ दिन पछि फिल्म हलमा लाग्यो, हलमा फिल्म लाग्नु अगाडि नै नायकले आफुलाई फसाउने षड्यन्त्र रचिएको बताउँदै केहि अडियो फेसबुकमा सार्वजनिक गरे । अडियो भाईरल भयो, अडियो सुनेर दर्शक एकाएक भावुक भए । किनकी अडियोमा नायकलाई फसाउन खोजेको जस्तै गरी आवाज हरु रेकर्ड गरीएका थिए । तर त्यो आवाज सुन्दा पुरै कथा कहानि बुनेर सेन्टिमेन्ट जित्न जानीजानी रेकर्ड गरेको जस्तो भान पनि हुन्छ । तर यि सबै छानबिनको प्रक्रियामा छन् । त्यसैले यसको बिषयमा पछि चर्चा गरौंला ।
त्यसो भए त्यो फिल्म चल्यो चै कसरी ???
यसको जवाफ शब्दमा खोज्नु भन्दा तपाईंले उक्त फिल्मको प्रचार प्रसार र कलाकारले हल भ्रमण गरेको भिडियो युट्युबमा गएर हेर्न सक्नुहुनेछ । त्यहाँ कलाकारले जुन अभिनय गरे, त्यति अभिनय फिल्म मै गरेको भए सायद फिल्मले राम्रै प्रतिक्रिया पाउने थियो । फिल्मको कथावस्तु खराब भए पनि ब्यापार राम्रै भयो तर त्यो ब्यापार परालको आगोजस्तै थियो, मतलब फिल्म ८ १० दिन त जेनतेन चल्यो, त्यसपछि फिल्मको ब्यापारमा अनौठो गिरावट आयो । कारण हो फिल्मको माउथ पव्लिसिटी निकै खराब हुनु र फिल्मको झुटो तारिफ हुनु ।
झुटै झुटले सिंगारिएको फिल्मको सिंगार हप्ता दिन पनि टिकेन । सुरुमा फिल्म राम्रो होला भनेर हेर्न जाने दर्शकले फिल्मको रिभ्यु भन्दा पनि कलाकार हल हलमा गएर रोएको, दुख मनाउ गरेको, नायकका फ्यान हरुको रुवाबासी गरेको भिडियो हेरेर भाबुक हुँदै फिल्म हेर्न गए, फिल्ल हेरीसकेपछि मात्र उनिहरुले थाहा पाए कि आँफुलाई इमोसनल ब्ल्यामेल गरिएको । नायिकाले फिल्मको प्रिमियरकै दिन रुँदै आफ्नो फिल्मलाई बर्बाद बनाउने गरी नायक माथि मुद्घा हालीएको अर्थ लाग्ने गरी अभिब्यक्ति दिएकि थिईन् । जुन अभिब्यक्तिले दर्शक एकाएक भाबुक बन्न पुगे । त्यस लगत्तै फिल्म प्रति दर्शकको ध्यान तानियो । हलहलमा गएर नायिकाले भाबुक हुँदै जेलमा रहेका नायकलाई जेलबाट छुटाउने भन्दै फ्यानहरुलाई आश्वासन समेत दिईन्, यो उनको सेन्टिमेन्टल ब्ल्याकमेल थियो ।
नायकका फ्यानहरुले रोनाधोना गरेर नायिकाको बेतुकि तर्कमा अर्को भावनात्मक समर्थन जनाईदिए । त्यसबाट झन् हौसिएर उनले अदालतमा मुद्घा चलिरहेकै अवस्थामा मुद्घा प्रभावित हुने गरी पिढित बाल गायिका बिरुद्घ गैरजिम्मेवारपुर्ण अभिब्यक्ति दिईन्, बाल गायिका माथि गम्भिर आरोप लगाउँदै उनले फ्यान माथि अर्को सेन्टिमेन्टल ब्ल्याकमेल गरिन्, किनकि बाल गायिकाले नायकलाई फसाउन खोजेको फ्यानहरु बुझाई छ । तर त्यो अभिब्यक्ति नायिकालाई ब्याक फायर भयो । निकै आलोचित अभिब्यक्ति दिएकि नायिका अहिले भने गुपचुप छिन् । किनकि फिल्म जति चल्नु थियो चल्यो । अब सायद दर्शकले सबै योजना बुझिसके भन्ने उनलाई लागेको हुनुपर्छ ।
त्यसैले आजकल न फिल्मको चर्चा छ, न नायकको न नायिकाको । आँसु र भावनाको ब्यापार गरेर फिल्म चलाउने चक्करमा जसरी बलात्कार जस्तो मुद्घा गिजोलीयो, त्यसले के बुझाउँछ भने, इमोसनल बनाएर यहाँ जे पनि बेच्न सकिन्छ, रुदैं बेच्न बस्नुस्, जे पनि बिक्छ भन्ने पछिल्लो फिल्मको ब्यापारले पुष्टि गरिदियो ।
प्रतिक्रिया