उमेरले बीस बर्षमा पाईला टेक्दै गर्दा सुड्केसभरी अलिकति खुसी र अलिकति मिठा सपनाहरू प्याक गरेर जहाज चढी आकाशको बाटो हुँदै ‘युएई’को राजधानी (आवुधावी) अवतरण गरेको आठ बर्ष पुरा भएछ। सुरुका दिनमा दुई बर्षको भिसा दुई दशक जस्तो लाग्ने मलाई आफ्नो जीवनको आठ बर्ष खाडीमा कसरी यति रफ्तारमा बित्यो भन्ने कुरा सम्झदा अचम्मित तुल्याउछ।

मान्छे बुढो हुन र बिग्रन समय लाग्दैन भनेझैं,जवान उमेरमा जीवनको गुलियो ‘रस’ घरदेशमा छोडेर परदेशमा आफ्नो र आफ्नाको खुसी खोज्न आएका लाखौंका जवानीहरु पत्तै नपाई ढल्किदै जान्छन्। ढल्किरहेका छन्। कतिको त जीवन नै यतै ढलेको छ। सदाको लागि।

चर्को गर्मीमा पसिना बगाएर किनेका केही थान खुसीहरु कालो सुड्केसमा प्याक गरेर घरदेशमा पठाउने लाखौं जवानहरु अन्तमा: आफैं रातो बाकसमा प्याक भएर फर्किएका अनगिन्ती कथाहरु छन् परदेशमा।

कतै सुनेको थिए – परदेशीका दुईवटा बाकस हुन्छन्, एउटा बाकस आफन्तका लागि खुसीहरु किनेर घर पठाउन,अर्को रातो बाकस आफै फर्किन।

यी कथाहरुका बारेमा कुनैदिन चर्चा गरौंला, किनकी पंक्तिकारलाई आज परदेशमा बितेका जीवनहरुको बारेमा भन्दापनि ‘परदेशले बिगारेका जिन्दगीहरु’का बारेमा लेख्न मन छ। केही बर्ष बिदेश बसेर कमाएको केही लाख सम्पत्ति जोड्दै गर्दा उजाड बनेका घरबारका कथाहरु लेख्न मन छ।

परदेशमा पसिना बेचेर खुसीहरु किन्दै गर्दा घरदेशमा रहेका खुसीहरु अन्यत्रै बसाई सरेर गएका थुप्रै वियोगान्त कथाहरु छन् हाम्रो समाजमा। राज्यले बार्षिक कति बिदेशी रेमिट्यान्स भित्रियो भनेर लेखाजोखा गरिरहदा तिनै रेमिट्यान्स भित्र्याउनेहरुको जीवन भत्केको कसैले देख्दैन। देशमा वैदेशिक रोजगारीले रेमिट्यान्स मात्रै भित्र्याएको छैन। पारिवारिक बिखण्डनको खाडलको बढोत्तरी गराएको छ।

त्यहीँ पारिवारिक बिखण्डनको खाडलमा परेका थुप्रै पात्र मध्यका एक हुन्, सिन्धुपाल्चोकका रामनारायण केसी (नाम परिवर्तन)।

शुक्रबारको दिन थियो सायद। घडीको सुइँले दिउँसोको एक बजाउनै लाग्दा डिउटीकै समयमा एउटा सेभ नगरिएको नयाँ नम्बरबाट फोन आयो। फोन उठाएर हेलो.. भन्दै गर्दा उताबाट ‘सुबास जि नमस्कार! भनेर एउटा पुरुष आवाज देब्रे कानमा ठोक्कियो। फोन गर्ने ब्यक्ति तिनै रामनारायण थिए।

उमेरले ४० पार गरिसकेका रामनारायण युएईमा बस्न थालेको आठ बर्ष भैसकेको रहेछ। सिन्धुपाल्चोकमा रहेको आफ्नो परिवारका लागि ‘सुख’ किन्न भनेर सुड्केसभरी सपना प्याक गरेर आठ बर्ष अगाडि स्वदेश छाडेका रामनारायण दाइको सपनालाई २०७२ सालको भुकम्पले भताभुङ्ग बनाईदियो।

‘युएई’मा पसिनासंग ‘दिराम’ साट्दै सिन्धुपाल्चोकमा आफ्नाहरु ओत लाग्ने घर बनाएका रामनारायणले उक्त घरका प्रतेक कोठाहरु चाल्न,देख्न नपाउदै अन्तमास् त्यै घर श्रीमतीको लागी काल बनिदियो। भकम्पले घरसंगै श्रीमतीलाई पनि लिएर गयो। सिन्धुपाल्चोकमा श्रीमानको नामको सिन्दुर लगाएर श्रीमान पर्खेर बसेकी श्रीमतीलाई भुकम्पले सदाको लागि लिएर गयो।कहिल्यै नदेख्ने र नभेट्ने गरेर।

पत्नी बियोगमा छट्पटाईरहेका रामनारायणले उक्त घटना घटेको १ बर्षपछि आफन्तको सल्लाहमा दोस्रो बिहे गरे।बिहे गरेको केही दिनपछि ऊनी पुनः युएई फर्किए।युएई आएको केही महिनापछि उनले श्रीमतीलाई पनि भिजिट भिसामा युएई ल्याउन सफल भए।

केही दिनपछि रामनारायणले श्रीमतीको लागि काम पनि खोजिदिए। दुबईको एक भारतीय परिवारमा ‘हाउस मेड’को रूपमा उनले काम गर्न थालीन्। युएई बसाईको केही महिना श्रीमान श्रीमती बीच राम्रै सम्बन्ध रह्यो। प्रत्यक शुक्रबारको छुट्टीमा श्रीमान श्रीमतीको भेट हुन्थ्यो। हप्ताभरी टाढा रहेको जोडीको माया प्रेम त्यै शुक्रबार साटासाट हुन्थ्यो। यसरी शुक्रबारको दिन माया प्रेम साट्ने क्रम केही महिना चल्यो। त्यसपछि एकाएक बन्द भयो। भुकम्पको कम्पन जस्तै केहीबेर जमिन मज्जाले हाल्लिएर टक्क रोकिए जस्तै रोकियो ‘रामनारायन’ र उनकी श्रीमती ‘गोमा’ (नाम परिवर्तन)को भेटघाट र बोलचाल।

कारणहरु पत्ता लगाउदै जाँदा रामनारायणलाई थाहा भयो कि श्रीमतीको भेटघाट र बोलचाल आफुबाट बसाइँसराइ गरेर ऊनीसंगैको घरमा ड्राइभरको काम गर्ने एक भारतीय नागरिकतिर सरेको रहेछ भन्नेकुरा। श्रीमती अर्कैसंग सल्केको थाहा पाउदा रामनारायण ठुलै भिरबाट गर्ल्यामगुर्लुम खसेको जस्तै भए, ठुलो भेलले जिन्दगीलाई बगाएर कुनै बगरमा हुत्याए जस्तै महसुस गरे। यहीँ पीडाले उनलाई डिप्रेसनको औषधी खानेसम्म बनायो।

श्रीमतीको त्यै कुरा थाहा पाएर रामनारायनले मलाई त्यो शुक्रबार फोन गरेका रहेछन्। श्रीमतीलाई जसरी हुन्छ नेपाल फर्काउन सहयोग गरिदिनुपर्यो भन्दै उनले मलाई फोन गरेका थिए।तर, उनले र मैले चाहेर उनकि श्रीमतीलाई नेपाल फर्काउन सकिने अवस्था थिएन। ऊनीहरु एकअर्काबीच श्रीमान श्रीमती भएपनि कानुनी रूपमा कुनै कागज, प्रमाण थिएन। तैपनि मैले एकपटक आबुधाबीमा रहेको नेपाली दूतावासमा गएर बुझ्न भने।अन्तमा: दूतावासबाट पनि कुनै सहयोग नहुने अवस्था आएपछि रामनारायण सदाको लागि एक्लै नेपाल फर्किए।आफ्नै अगाडी आफ्नी श्रीमती परपुरुष संग हिडेको उनले देख्न सकेनन्। सकुन् पनि कसरी।

रामनारायण त एउटा प्रतिनिधि पात्र मात्र हुन्। यहाँ सयौं रामनारायणहरु छन् जसको बैबाहिक जीवन वैदेशिक रोजगारीले भताभुङ्ग भएको छ। सिन्दुर हालेर घर भित्र्याई जवान श्रीमतीलाई बाउ आमासंग जिम्मा लगाई मलेसिया उडेका श्रीमान अर्कै बिदेशी महिलासंग बिहे गरेको, सन्तान पाल्न दुबई उडेकी श्रीमतीले अपाङ्ग श्रीमान र बालबच्चा अलपत्र पारेर अर्कैसंग जीवन बिताएको, कुवेत पुगेकी बुहारीले अर्कैको गर्भ बोकेर फर्किएको,श्रीमानले परदेशमा पसिना बगाईरहदा घरदेशमा श्रीमतीले अर्कैसंग ओछ्यान तताएका घटना देखि ईजरायलमा श्रीमतीले परिवार सम्झेर रातदिन दुस्ख गरि पैसा कमाईरहदा नेपालमा श्रीमानले अर्कैलाई उठाएर बिहे गरेका थुप्रै दर्दनाक सामाजिक घटनाहरु छन् समाजमा।जुन लेखेर साध्य छैन।

झोलाभरि सपनाहरु प्याक गरेर नेपालबाट उडेकाहरु खुसीहरु संग्रहित गर्दै सुड्केसभरि प्याक गरेर घरदेश फर्किने सपना देख्दादेख्दै जिन्दगीनै समाप्त भएर अन्तमा आफै बाकसमा प्याक भएर आएका घटना त बिमानस्थलमा सधैं देखिन्छ। तर, त्यै वैदेशिक रोजगारीले जीउँदो हुँदै जिन्दगीनै उजाड बनाएको बिमानस्थलमा देख्न सकिन्न। तर, यस्ता धेरै अनुहारहरु दैनिक ओर्लिरहेका हुन्छन्। मलिन मुद्रामा।

यस्तै नदेखिएको र नलेखिएको घटनाको अर्का प्रतिनिधि पात्र हुन् दाङका विवेक आचार्य (नाम परिवर्तन)।

विवेक भन्दा अगाडि उनकि श्रीमती ‘रेश्मा खनाल’ (नाम परिवर्तन) संग यतै दुबईमा चिनजान थियो मेरो। मसंग मात्र होइन, युएईमा चिनिएका थुप्रै ब्यक्तिसंग उनले छोटो समयमै राम्रो सम्बन्ध बनाएकी थिईन् । युएईमा हुने विभिन्न नेपाली कार्यक्रममा सहभागी हुनेदेखि समाजिक संजालमा सक्रिय रेश्मा युएईमा लामो समयसम्म आफूलाई अविवाहित भनेर, बनेर,चिनाईन। ऊनीसंग लामो संगत गरेका कसैलाई पनि थाहा हुनै पाएन कि ऊनी एक सन्तानकि आमा समेत हुन् भनेर।

एकदिन एउटा फेसबुकमा तिनै रेश्मा खनालको तस्बिर सहित अपलोड गरिएको एउटा पोस्टमा मेरा आँखा टक्क रोकिए। एउटा बच्चा उचालेको सामान्य गाउँले महिलाको भेषमा साडी लगाएको तस्बिरको माथी लेखिएको थियो – ‘दुबईमा दुनियाँ ठग्दै हिडेकी वरिष्ठ समाजसेवी रेस्मा खनालको वास्तविक रुप। घरमा तीन बर्षकी छोरीलाई मेरो(श्रीमान)को जिम्मा लगाएर भाईले अस्ट्रेलियाबाट भिसा पठाईदिएको भन्दै दस लाख रुपैयाँ बोकेर अस्ट्रेलिया जाने भन्दै काठमाडौ गएकी रेश्मा खनाल अहिले दुबईमा अफुलाई अविवाहित भन्दै मोजमस्ति गरिरहेकी छिन। कृपया उनलाई नेपाल फर्काउन सहयोग गरिदिन अनुरोध गर्दछु।’

तस्बिर संगै लेखिएका कुरा पढेर म झस्किए। कुनै एकोहोरो ध्यानमा केन्द्रित ब्यक्तिलाई पछाडिबाट आएर कसैले जोडले कराउदा झस्किए जस्तै।

त्यसपछि ती ब्यक्ति (विवेक)लाई मैले म्यासेज गरे। उनको र मेरो नियमित सम्पर्क भयो। उनले आफ्नी श्रीमतीका सबै कथाहरु सुनाएपछी मैले रेश्मालाई फोन गरे।फोन गरेर कुरा खोतल्नै लाग्दा उनले ‘पछि फोन गर्छु भन्दै फोन काटीन्।’ तर, उनले पछि गर्छु भनेको फोन आज झण्डै दुई बर्ष बित्दासम्म आएको छैन। सुनेको छु, ऊनी अझै यतै युएईको एउटा कुनामा काम गर्दैछिन् अरे। उता नेपालमा श्रीमानको अवस्था लेखी साध्य छैन। उनलाई हेर्दा लाग्छ, यहीँ पिडा र तनावले ऊनी बिहान सूर्यको किरण धर्तीमा आउनु भन्दा अगाडि ऊनी भट्टीमा पुग्छन्, र सूर्यलाई पश्चिमको डाँडाले नछेक्दा सम्म त्यै भट्टीमा पिउदै बस्छन्। श्रीमतीले दिएको पीडा ,घात बिर्साउने औसधि बनेको छ ‘रक्सी’ उनको लागी।

यो एउटा कथा हो। तर, सत्य कथा । पात्रका नामहरु काल्पनिक हुन् । तर, पात्रका कथाहरु वास्तविक हुन् । आजकल परदेशमा धेरै नेपाली युवा युवतीहरु भेट्न सकिन्छ । धेरै रामनारायण,विवेक र रेश्माहरु देख्न सकिन्छ । परदेशमा यस्ता धेरै कथाहरु लेख्न सकिन्छ ।

नेपालमा पनि आजकल धेरै यस्ता पात्रहरु भेट्न सकिन्छ, जसले जीवनको व्यथा भोगेर बाँचेका छन् । उनीहरुको बर्षौंदेखिको बैबाहिक सम्बन्धलाई भौगोलिक दुरीले दूर गरिदिएको छ । धेरैका जीवनहरु डिप्रेसनको औषधीले धानेको छ । औषधीले नधान्नेहरु आत्महत्याको शिकार बनेका छन् ।

यो आलेख पढिरहँदा यहाँहरुलाई (विशेषत: नारी पाठकहरुलाई) लिङ्गभेदको आभास हुनसक्छ । यहाँहरुलाई प्रष्ट पार्न चाहन्छु कि यी र यस्ता खाले टुटेका सपनाहरु , उजाडिएका घरहरु, ढलेका विश्वासहरु,डढेका मनहरु, खाएका चोटहरु ,पाएका धोकाहरु, नारी या पुरुष जो कसैको कारण भएको हुनसक्छ। अझ तुलनात्मक रूपमा पुरुषकै तर्फबाट बढी होला । तर, आजको अंकमा नारीको कारण भएका बर्बादीहरुलाई उजागर गर्ने प्रयास गरेको हूँ ।अर्को शृङ्खलामा पुरुषका तर्फबाट भएका कर्तुत पनि अवश्य राख्नेछु ।

मैले माथि नै एक प्रसंगमा लेखिसकें रेमिट्यान्सको लेखाजोखा भइरहँदा ,हिसाब किताब निकाली रहँदा ,नाफ घाटाको नेप्सेमा उतारचढाव भइरहँदा यसरी जिन्दगी भत्केकाहरुको हिसाब कुन गणितले गर्ला रु जिन्दगी जलेको खरानीको नापतौल कुन यन्त्रले गर्ला रु कास् १ रुपैयाँ र रेमिट्यान्सको ट्रायल ब्यालेन्स निकालेर अन्त्यमा हिसाब मिलान गरेजस्तै ,क्षतविक्षत भएका सपनाहरुको पनि ट्रायल ब्यालेन्स हुन्थ्यो भने कति जाति हुन्थ्यो होला !

Comments

comments