नेपाल धितोपत्र बोर्डमा शेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् । शेयर बजार सुधार र विस्तारका लागि चरणबद्ध आन्दोलन घोषणा गरेको शेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार बिहान जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो ।

ताला लगाउन समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोली बिहानै बोर्ड कार्यालयमा पुगेको थियो । दबाब समूहले ताला लगाए पछि एक जना बोर्डका कर्मचारी भित्रै थुनिएका छन् । भित्र थुनिने कर्मचारीको नाम भने खुलाइएको छैन ।

समूहले पनि एक जना कर्मचारी भित्रै थुनिएको स्वीकार गरेको छ । दबाब समूहका महासचिव बास्तोलाले एक जना कर्मचारी भुलबस थुनिएको बताए । समूहको शान्तिपुर्ण आन्दोलनमा कसैलाई थुन्ने नियत नभएको उनको भनाई छ ।

यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म शेयर बजारमा सुधार हुन नसक्ने भएकाले बर्खास्तीको माग अघि सारेको समूहले बताउँदै आएको छ ।

Comments

comments