अस्ट्रेलियाका वैज्ञानिकहरूले झन्डै ५० वर्ष पुरानो शुक्रकीटद्वारा भेडामा सफल गर्भधारण गरेका छन् । सन् १९६८ मा चारवटा भेडाहरूबाट लिइएको वीर्यको स्याम्पललाई संसारकै सबैभन्दा पुरानो शुक्रकीटका रुपमा लिइएको छ ।

सो वीर्यलाई यतिका वर्षसम्म तरल नाइट्रोजनमा माइनस १९६ डिग्री तापक्रममा भण्डारण गरेर राखिएको थियो । सिड्नी विश्वविद्यालयका वैज्ञानिकहरूले उक्त स्याम्पललाई ५६ वटा स्त्री भेडाहरूमा प्रयोग गरेका थिए र तीमध्ये ३४ वटा भेडाहरूमा सफल गर्भधारण भएको थियो ।

गर्भधारणबाट जन्मिएका बच्चाहरूमा पनि पुराना भेडाका केही गुण देखिएको छ । जस्तो कि पुराना भेडाहरूमा देखिएको र अहिले हराउदैं गएको शरीर चाउरी पर्ने गुण पनि उक्त गर्भधारणबाट जन्मिएका बच्चाहरूमा देखिएको थियो । त्यसैगरी वैज्ञानिकहरूले ५० वर्षसम्म जमेको अवस्थामा भण्डारण गरेर राखिएको शुक्रकीट र एक वर्ष जमेको अवस्थामा भण्डारण गरेर राखिएको शुक्रकीटको गुणस्तरमा खासै फरक नभएको भेट्टाएका छन् ।

त्यसैले यस प्रयोगले निकै लामो समयसम्म जमाएर राखिएको शुक्रकीटको सम्भाव्यता र उपयोगिताको पुष्टि गरेको वैज्ञानिकहरूले बताएका छन् । त्यसैगरी यसले लोपोन्मुख हुन लागेका जनवारहरूको संरक्षणमा पनि नयाँ आशा जगाएको वैज्ञानिकहरूले बताएका छन् ।

यसका साथै वैज्ञानिकहरूका अनुसार अब छनौट प्रजननद्वारा उतपादनमुलक भेडाहरूको उत्पादनमा थप विकल्प र स्रोत पनि प्राप्त भएको छ ।

Comments

comments