गीतकार खिम केसीको नयाँ गीत आमा सार्वजनिक भएको छ । अमेरिकामा रहेर नेपाली सांगीतिक र साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएका गीतकार केसीको आमा गीत मातातिर्थ औंशिको अवसर पारेर शनिवार यूटुव मार्फत सार्वजनिक गरिएको हो ।
चर्चित गायक सनुप पौडेल र संगीतकार तथा एरेन्जर राजन ईसानको संगीतमा रहेको केसीको आमा गीत मातातिर्थ औंशिको अवसरमा परदेशी छोराले नेपालमा रहेकी आमाका लागि उपहार स्वरुप पस्केको कोशेली हो, जसमा आमालाई गाउँमा नै छोडेर मुग्लान भासिन विवस छोराको ह्रदय पोखिएको छ ।
बाध्यताले कोशौं टाढा बनाएका आमा छोराको ह्रदयमा रहेका अनगिन्ती यादका श्रृंखला भित्र बालापनमा सुनेका एकादेशका दन्त्य कथा देखी कर्तव्य पदमा उभिएको जवान छोराले लुकेर बगाउने आँशुका नमिठा यथार्थ केसीका गीतमा प्रसस्त भेटिन्छ ।
लाटोकोसेरो फिल्म्स’को प्रस्तुति रहेको यस गीतमा आमाको महत्व र आमा छुटेको छोराको मनमा चल्ने बेहिसाव सम्झनाको कथालाई चित्रण गरिएको छ ।
नेपाली साहित्यको विषेशत गजल र कविता विधामा कलम चलाउँदै आएका गीतकार केसीको यस गीतमाथी निर्माण भएको भिडियोमा रेणु नेपाल, मनीष पौडेल र शाश्वत भण्डारीको अभिनय रहेको छ ।
बिजेस पौडेलको निर्देशनमा निर्माण भएको भिडियोलाई निरज श्रेष्ठले छायांकन र निर्देशक पौडेल स्वयंले सम्पादन गरेका हुन् ।
हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका केसी नेपाल रहँदाबाट नै लेखन यात्रामा सक्रिय रहँदै आएका थिए । नेपाल रहँदा झन्डै एक दशक सामाजिक अभियन्ताका रूपमा कर्णाली र सुदूरपश्चिमका जिल्लामा बिताएका केसीले मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
यसअघि ’लुकाएको मेरो माया’ र ’म जहिले’ गीत बजारमा ल्याएका केसीका साहित्यिक र समसामयिक लेख रचना विभिन्न पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित छन् ।
प्रतिक्रिया