मेरो कोठाबाट अचानक हराएकी तारा नयाँ बषपार्कमा देखेको थिएँ भनेर एक जना छिमेकी युवाले बताए । ‘तपाँईको बैनी त कान्तिपुर मल अगाडी बाटोमा केटासंग मस्कामस्की गरिरहेकी थिई, चालढाल नै फेरिएछ केटीको’ बढो ब्यांग्यात्मक शैलीमा भने छिमेकी भाईले । ताराले मेरो कोठा छोडेको २ महिना पछि आएको थियो यो खबर ।

पहिलो पटक मैले तारालाई कपुरधारामा भेटेको हुँ । चिनजानका एकजना पुरुष मित्रले मलाई अघिल्लो दिन फोनमा भनेका थिए । एकजना धरान तिरको बहिनी रैछिन् काठमाडौंमा जागिर खान आएकी रे, बस्ने खाने ठाउँ रहेनछ कतै बस्ने ठाउँ होला त काममा सघाईदिने खालकी छन् । मैले ति बैनीको दुईवटा कुरा मात्र सोधें उमेर र पढाई । पढाई धेरै पहिले छोडेकी रहिछिन् उमेर २० बर्ष जतिकी । राती अबेर सम्म सोचें र भोलीपल्ट बिहान फोन गरेर भनें, ‘ति बैनीलाई भेट्छु म । ‘दिउँसो १ बजे तिर भेट्ने कुरा भयो, म पुग्दा उनि समोसा तरकारी खाँदै थिईन्, एकदम हँसिली खुसीली, खैरो रंगमा निला बुट्टाहरु भएको कुर्ता सलवार, ओठमा रातो रंगको लिपस्टीक, त्यहि रंगको नेलपोलीस, आँखामा मिलाएर लगाएको गाजल । उ शहरिया सुन्दरी जस्ती नदेखिए पनि गाउँकी गुलाव जस्तै थिई जसलाई जतनले घरमा नसजाएको भएपनि देख्ने सबैलाई आकर्षित गर्ने रंग थियो ।

म गएर उनकै आडमा बसें, चिनेको जस्तै गरेर हाँस्दै ठाउँ सरेर भनि ‘बस्नुस् न’ । मैले सोचेको थिएँ गाउँतिरबाट आएकी अप्ठेरोमा परेकी बिरक्तीएको अनुहार आदि ईत्यादी तर मेरो कल्पना भन्दा फरक थिई उ, ४५ मिनेट जति उ संग बिताउँदा हेरिरहें, चन्चल आँखा हरेक पटक मुस्कुराउँथे उ बोल्दा, ठुलो स्वरमा हाँस्ने बानी रहेछ, जाने पनि नजानेपनि हाम्रा गफमा चासो देखाउँथी उ । उसको यो चन्चलताले पहिलो पटक देख्नेहरुलाई उत्तउली लाग्न सक्थ्यो तर मलाई गज्जव रमाईलो लागिरहेथ्यो । ‘के गर्ने त सुष्मा जी यि बैनीलाई’ ?  उसकै छेउमा सोधिएको प्रश्न थियो यो । ‘म संग जान्छेउ ?’ मैले केही नसोची उनलाई प्रश्न गरें । हो मैले राती सोचेको थिएँ, उसले काम नपाउन्जेल म राख्छु भन्ने किनकी दुख पाएकी केटी थिई उ मेरो नजरमा । यहाँ उनको दुख त देखिएन तर यो फुलजस्ती केटी बिग्रने संभावना प्रसस्त छ भन्ने मैले थाहा पाएर उसलाई आफुसंग राख्न खोजें ।

यत्रो उत्साह छ यसमा गरि खान्छु भन्ने लागेरै आएकी होली केही नभए मसंगै डुल्छे, काठमाडौं घुमाईदिन्छु, कहिँ न कहिँ भेटिएला काम भन्ने सोचें । उसको लुगा राखिएको सानो जेब्रा ब्याग बोकेर उ मसंग निस्किएपछि बल्ल मैले उसको नाम सोधें तारा सुवेदी नाम थियो उसको । गोत्र एउटै रहेछ हाम्रो मन मनै भनें । बाटोमा म भन्दा उ ज्यादा बोलिरही, म उसका गफलाई चाख मानेर सुनिरहेको थिएँ । मेरा भन्दा धेरै प्रश्न उसका थिए, नाम के ? काम के गर्नुहुन्छ ? घरमा को को हुनुहुन्छ ? काठमाडौं आएको कति भयो मेरो जवाफ संगै उसले आफ्नो परिवारको बारेमा बताउँथी, गाउँका साथीहरुको बारेमा सुनउँथी, मैले सोध्नै परेन उसैले भनि काठमाडौं आएको ९ दिन भएछ नयाँ बषपार्कको एउटा होटलमा बस्दै आएकी रहिछे । त्यहीँ चिनजान भएका एकजना दाईले मलाई भेटाईदिने साथीसंग चिनाएका रहेछन् हिजो मात्रै ।

कोठामा पुग्नासाथ उसले भनि के काम गर्नुपर्नेछ मलाई भन्नु ल । दुईवटा कोठा थियो मेरो, किचनको लागि छुट्याएको कोठा भएपनि एउटा खाट र टेवल त्यहाँ पनि थियो, म आफैं पनि कुनै बेला त्यो कोठामा सुत्ने भएकाले किचन भन्दा पनि सुत्ने बस्ने कोठा जस्तै थियो ।

बिहान खाएको जुठो भाँडा बेलुका र बेलुका आएको भोलीपल्ट माज्ने मेरो असरल्ले बानि छ । उसले किचनको बेसिनमा थोपरिएको भाँडा देख्न साथ धारो खोलेर भाँडा माज्न तम्सी । ‘भरे भात पकाउने बेलामा माज्ने हो भाँडा, छोड्देउ’ मैले नहाँसीकन भनेको भएर उसले मलाई मालिक जसरी सोचिदिई क्यारे ‘होईन म माझिहाल्छु’ भन्दै थाल हातमा लिएर मस्काउन सुरु गरी । ‘य छोड्देउ के यार भरे माज्ने हो, यहाँ आएर बस’ मैले मेरा साथीहरुसंग जुन शैलीमा बोल्छु त्यहि शैलीमा बोलें । उ आएर बसी ।

मलाई गफ गर्नु थियो उ संग, हिजो २० बर्षकी भनिएकी तारा १७ बर्ष पनि पुरा भएकी रैनछे । ५ कक्षा सम्म पढेकी रहिछे, गाउँमा उसको परिवार मेलापात र निवेकमा हिँडेर,जीवन चलाउँदो रहेछ, उ मुनि २ वटा भाईबैनी र उ माथी दुईटा दाई रहेछन् । उ यहाँ एक्लै आएकी होईन रहिछे उ र उसकी एउटी साथी भएर आएका रहेछन् । कोठा खोज्ने बस्ने भनेर घरबाट सरसल्लाहामा आएका उनिहरुले ५ रात संगै गेष्टहाउसमा बिताएपछि साथीचाहिँले उसलाई छोडेर काम पाएँ मेरो फुपुको छोरा हो भनेर एकजना नयाँ दाईसंग गै दिएपछि उ एक्लै परेकी रहिछे ।

उसका हरेक गफमा मिसिएर आउने लामा प्रशंगले साँझ पर्यो । यो बिचमा उसले भरे के तरकारी खानि म संग १७ सयरुपैयाँ छ भन्न पनि भ्याई, अत्यन्न उत्साहित थिई तारा जीवनप्रति, काठमाडौंप्रति र भविश्यप्रति । उसलाई करिष्मा मानन्धर रेखा थापा, नन्दिता केसी, राजेश हमाल, निखिल उप्रेती आदी कलाकारको चलचित्रको कहानी सहित नाम याद रहेछ ।

साँझ परेपछि संगै तरकारी किन्न गएउँ । खाना २ जना भएर बनाएयौं, ताराले भनि  ‘दिदी भाँडा त अहिलेनै माझौं तपाँई किचन सफा गर्नु म भाँडा माज्छु’ उसैले कामको बाँड फाँड लगाई । सजिलै उ त्यो कोठामा पहिले देखी संगै बसेकी मेरी आफ्नै बहिनी जसरी प्रस्तुत भै, म एकलकाटे स्वभावको मान्छे पनि उसको उपस्थितीमा रमाईलो मान्दै थिएँ । भाडा माजिसकेपछि अर्को कोठामा गएर टिभी हेरेउँ । नेपाली फिल्म मन पराउँछे भन्ने थाहा पाएको मैले टिभि फिल्मी च्यानल लगाएर आफु ल्यापटप खोलेर काम गर्न थालें । बिचबिचमा कुरा गर्थि उ रमाई रमाई ।

‘तिमी कता सुत्छौ तारा’ १० बजेतिर सोधें, उता किचनमा सुत्छु यताको कोठामा पनि एउटा मात्र खाट देखेर होला उसले उता सुत्छु भनेकी । म कुनै बेला भुईंमा पनि सुतिदिन्थें स्लिपिङ ब्याग ओछ्याएर एक्लै हुँदा पनि । मलाई उ मेरै खाटमा सुतेपनि फरक पर्थेन । ‘यहिँ सुत न त’ भन्दा उ होईन उता सुत्छु भनेर गै, उ गएपछि पनि म काम गर्दे थिएँ, उसको मोबाईलको घण्टी बज्यो, ठुलो स्वरमा बोल्ने भएर उसको आवाज वल्लो पल्लो कोठासम्मै पुग्थ्यो रातिमा, उ कोही मान्छेसंग झगडा शैलीमा ‘आउँदिन म काठमाडौं छु’ भनिरहीथी । त्यसपछि उ फोनमा फरक फरक ब्यक्तीसंग करिव १२ बजे सम्म बोलिरही । उसले उताको कोठामा सुत्न खोज्नुको कारण फोन पनि रहेछ ।

म बिहान ८ बजे उठ्दा उसले नुहाई सकिछ, आफ्ना कपडा धोईछ, ग्याँस बाल्न हिजो सिकेकी उसले चिया बनाएर मेरो भाग राखेर खाईछ । म उठेर बाहिर निस्कना साथ दिदी चिया खानुस् भन्दै चिया तताउन थाली । घरबेटीले को हो तिमी भनेर सोधे सुष्माको बहिनी भन है भनेर हिजै सिकाएको थिएँ, नभन्दै सोधेछन् बिहानै नालीबेली सहित । उसले मामाको छोरी हो म भनिदिईछ, बाठी रहिछे तारा पढ्दैछु पनि भनिछ के सोचेर भनि तर किचकिचे घरबेटीलाई ठिकै भनि उसले ।

उसको फोन आयो फेरी, उतावाट ‘ममी घर आउनु’ भन्दै एउटा बालकले भनेको कसो कसो मेरो कानमा पर्यो । उसले ‘आउँदिन’ भनेर फोन राखेपछि सोधें ‘कसको फोन हो तारा’ ?  उ एकछिन बोलिन र भनि ‘दिदी मैले बिहे पनि गरेको थिएँ’ । उसले डराए जस्तो गरेर दवेको स्वरमा भनि । हिजै किन नभनेको भनेर कराउँछे जस्तो लागेको थियो कि । मैले सामान्य भएर भनें ‘कहिले गरेको बिहे ?’ ‘पोहोर साल भागेर गएको, के गर्नु पढाई छोडे, घरमा नि साह्रै दुख जाउँ भन्यो गै दिएँ । अहिले उसको छोराले फोन गरेको हो । ‘

त्यसपछि तारैतार उसको फोन आउन थाल्यो त्यहि बच्चाको उसले म छेउमा भएर होकी किन हो फोन काटिरही । म चिया लिएर उताको कोठामा गएपछि उसले फोन उठाई ‘आउँदिन के बाबु म, कति फोन गरेको म त काठमाडौंमा छु,’ पछि उसले ‘भात पकाएर खाउ है’ पनि भनि त्यो बालकलाई । दिउँसो बाहिर जान पर्ने भएकाले खाना बनाउन फेरी गएँ म उता । उसको फोन फेरी आयो, ‘ओई रण्डी कहाँ छस्, तँ रण्डीलाई जहाँ भेट्यो त्यही काटिदिन्छु, म संग लभ गरेर भागेर आईहोस् तँ थुक्क भालु ।’ उसले भएभरको गाली गर्यो, उ आधा सुकेको कपाल मिलाउँदै थिई, फोनमा बोल्दै उसले ऐना र लिपस्टिक झीकी झोलावाट र दायाँ हातले कानमा मोवाईल जोडेर बाँया हातले लिपिस्टिक मिलाउँदै भनि ‘ह्या कति कराएको आउँदिन म तिमी अर्कैसंग बिहे गर, लभसभ गोली मार्देउ ।’

उसको बुढो रहेछ यो भन्ने थाहा भो मलाई, फोन राखेपछि ‘तिमी हिजो घरमा सल्लाह गरेर आएको साथी र म भन्थेउ त’ । उ नबोली बसी एकछिन र भनि, ‘रातदिन झगडा गर्ने र कुट्ने गर्छ रक्सी खाएर आएर । ५४ बर्षको हो, म भन्दा १०\ १२ बर्ष जेठो छोरा छोरी रहिछ उसको । हेर्दा खेरी त ४० बर्षको जस्तै देखिन्थ्यो । हाम्रो गाउँमा आउने जाने गर्थे, लान्छु कि लान्छु भन्यो घरमा दुख थियो जे सुकै होस् भनेर गैदेको हो । उता गएपछि छोराछोरी रहिछन् भन्ने थाहा पाएँ । यो मलाई फोन गर्ने उसको छोरो १३ बर्षको भयो म यहि संग मिल्थें ।’ उसले सबैकुरा अनुहारमा दिक्दारी भरेर सुनाई ।

के भनेर कराउने यो केटीलाई मेसो पाईन मैले । गरिवीले हजुरबाउकै उमेरको मान्छे संग बिहे गरेकी उसले पिटाई कुटाईको कुरा पनि सुनाएपछि मलाई गाली गर्न मन लागेन । गाली नै गरेर पनि उसको जाने ठाउँ कहाँ थियो र । उसको ब्यक्तीगत जीवनमा घटेका घटना उसको उमेरको दोस पनि थियो होला । उसलाई पनि ‘प्लीज बुढी म तिमी बिना बाँच्न सक्दिन घर आउ भनेर फकाउने बुढो परेको भए उसले घर छोड्नु पहिले सोच्थी होली या फर्कन्थी होली । यस्ता अश्लिल गाली गलौजले यो किशोरीबयमा नौंरगी सपना देख्ने केटी के घर फिर्ता होली र ?

तरकारी केलाउँदै ताराले भनि ‘दिदी मलाई राम्रो नाच्न आउँछ नि’ । ‘हो र’ मैले मुस्कानमा उत्सुकता मिसाएर भनें । ‘कतिले त मलाई रेखा थापा र तिमी उस्तै देखिन्छौ भन्छन्,’ उसले निर्दोश हाँसो आँखाभरी सजाएर मलाई पुलुक्क हेर्दै भनि । ‘हो त राम्री छौ तिमी ।’ उ रेखा थापा जस्तै अनुहारकी त होईन तर लवाई खवाई  मोडल र हिरोईनको जस्तो पाई भने कम्ती भने छैन उ रुपमा र जीउडालमा । मैले पार गरेर आएको उसको उमेरमा मलाई पढ्नु मात्र थियो सपना भन्दा धेरै कितावको प्रेसर । उसैले जस्तो नसोचेपनि हो किशोरी मनका सपना सिमलका भुवा जस्तै सफा र हावाको लयमा उडिरहेका भेटिन्छन् ।

दिउँसो तारा म संग जाउँ घुम्न भन्दा मानिन । बेलुका म फर्कदा उ घरमै थिई, चाउचाउ पकाएर खाएँ भनि संगै आजको मेरो काम पनि सोधी । दिन अव यहि पक्रारले बित्न थाले, म प्राय बाहिर निस्कन पर्थेन, किताव पढ्ने बानि थियो फुर्संदमा, मैले पढिरहेको देखेर ताराले भनि ‘दिदी मैले नि पढ्न सक्छु होला अहिले पढें भनें ।’

‘किन नसक्नु, कति बुढा बुढीले त पढ्छन् सानै छौ तिमी त ।’

सुनेर उसले हाँस्दै भनि ‘यत्रो मान्छे ५ कक्षामा भर्ना भएर पढ्दा कति जिस्काउलान् ।’

‘कसले जिस्काउँछ, यहाँ तिमी जस्तै स्कुल छुटेकाहरु पढ्ने स्कुल पनि छन् । तिमी भन्दा उमेर गएकाहरु पढ्छन् ।’ उसले रमाईलो मानेर सुनीरही ।

‘पढ्न किन मन लागेको तिमीलाई मैले कितावबाट आँखा हटाएर उसलाई हेर्दै सोधें ।’

म यहाँ आएपछि सबैले नेपालीमा अंग्रेजी मिसाएर बोलेको सुनें, अस्ती चाउचाउ किन्न जाँदा पनि दुईजना खैरेले मलाई कुन्नी के हो सोधे बाटोमा, मैले बुझीन नबोली हिँडे, फिल्म खेल्न पनि अंग्रेजी जान्नु पर्छ नि होईन ?;

उ आएबाट चलचित्रका नायक नायिकाका कुरा गर्दैथि, रेखा थापा जस्तै भन्छन्, नाच्न आउँछ आदी । अहिले थाहा भयो तारा यिनै कलाकार जस्तै फिल्ममा काम गर्न चाहन्छे । उसको श्रृगार पटार भित्र कलाकार बन्ने धोको बसेको रहेछ । सपना देख्न पाउने अधिकार सबैलाई हुन्छ तर आफ्नो भागमा हुँदै नभएको सपना देखिरहेकी थिई तारा यति बेला । मैले ताराको उत्साहलाई मर्न नदिने शैलीमा सम्झाएँ शहरको वातावरण, यहाँको स्वार्थपन, यहाँका मान्छेहरुको प्रवृती । सुनेर उ उदास जस्ती देखिई । उ काम खोज्न भन्दा पनि कलाकार बन्न लोग्नेको घर छोडेर भागेकी रहिछे ।

एकदिन बिहान तिनै मलाई तारालाई भेटाउने साथीको फोन आयो , एउटा होटलमा काम पाईएको रहेछ, अफिसमा चिया खाजा पुर्याउनु पर्ने, तारालाई सोधेको खुसी हुँदै ‘म गर्छु दिदी दिनभर बसेर के गर्नु, त्यत्तीकै खाना खाएर तपाँईलाई दुख दिन अप्ठेरो लाछ, जान्छु म भनि । ‘

महाराजगञ्जमा रहेछ उसले काम गर्ने खाजा पसल । त्यो दिन काम परेकाले मैले उसलाई महाराजगंज लगेर ति साथीसंग छोडेर गएँ, दिउँसो फोन गर्दा उसले उठाईन, पछि फोन गरेर भनि दिदी ६ बजे आउँछु है ? यहाँ मोवाईल चलाउन दिंदैन रहेछ, पायंट लगाएको भए खल्तीमा राख्न मिल्थ्यो कुर्ता लगाएको छु । आउन सक्छेउ भन्दा ‘सक्छु दिदी नभए फोन गर्छु’ भनि ।

७ बजे कोठामा आईपुगी उ, गज्जव रमाईलो लाग्यो उसले कोठा पहिल्याएर आउन सकेको देख्दा, यति भयो भने उसले यो शहरमा अलमलिनु पर्दैन भन्ने लाग्यो । उसको बुढाको, छोराको, आमाको साथीहरुको, आफन्तको फोन आईरहन्थ्यो कुनै फोन उठाउँथी कुनै उठाउन्न थी । तलव ३ हजार दिएपनि उसले काम सुरु गरेकी थिई, एकदम सफा सुग्गर रहने स्वभावकी तारा खाली हात उति बस्थिन, २ -२ दिनमा नुहाउने लुगा धुने गर्थि, ३ जोर मात्र लुगा थियो उसको ।

उसले अंग्रेजी सिक्न खुव रहर गरीरही । भनिरही ‘नेपाली अंग्रेजी २ वटै भएको किताव पाउँछ रे नि त्यो किनौं न ।’ एक साँझ चोकमा ‘ईजी वे’ नामको पुस्तक किनेर ल्याएपछि उ लेखपढ गर्न थालेकी थिई । गाडि चढेर काममा जाने आउने गर्थि बेलुका भन्दी हाँस्दै ‘आज मैले बाटोमा एकजनालाई ‘एक्सक्युज मि’ भनेको मलाई हेर्यो, उ संग कति बज्यो भनेर सोधें,’ अर्को दिन अर्को शब्दको प्रयोग र मान्छेका बारे भन्थी । उ आफुले सिकेको कितावको अंग्रेजी शब्द प्रयोगमा ल्याउँदै थिई । ‘यसरी नै त सिक्ने हो नि है दिदी चिनेको संग त लाज लागीहाल्छ नि बिग्रन्छ भनेर’ उ आफैं आफ्नो परिक्षा लिईरहेकी थिई पास हुनुथियो उसलाई र यो शहरको तौर तरिकाको सिंडी चढ्नु थियो ।

१५ दिन बित्दा उसको १७ सय सक्कियो, गाडि भाडा र एकजोर नयाँ लुगाले, त्यो बिचमा उसले २ पटक तरकारी पनि ल्याई । म संग भाडा मागेर काममा जान थालेकी तारा बिस्तारै कम बोल्ने, उति हास्न रमाईलो गर्न कम  भै । के भयो भनेर सोध्दा ‘केही भएको छैन दिदी’ भन्थी, केही चाहिएको छ भन्दा ‘छैन’ भन्थी । ७ बजे घर आईपुग्ने तारा ८ बजे तिर आउन थाली । भोक लागेको छैन भनेर खाना नखाई सुत्न पनि थाली, के थियो मनमा के भएर उ यति चाढैं परिवर्तन भै मलाई थाहा नै दिन चाहिन उसले ।

उसको मोवाईलमा १ जना केटाको फोन आउन थालेको थियो । एकसाँझ उसलाई सोध्दा चिया पुर्याउन जाने अफिसको दाई हो भनि, निकै बेर सोधेपछि उसले त्यो काममा दिक्क लाग्ने, खाजा पनि ४ बजेमात्र खानुपर्ने, मान्छे पनि ठिक लागेन त्यसैले यो दाईले अफिसमा काम खोज्दीन्छु भनेको छ भनि । सम्झाएँ मैले बिश्वास गरि नहाल सबैको, यो शहरमा तिमी नयाँ छौ, तिमीलाई आफ्नो फाईदाको लागि प्रयोग गर्न सक्छन् ।’

त्यस दिन देखी ताराको फोन मेरो अगाडी उठ्न छोड्यो । मेरो कोठामा आएको एक महिना बित्ने अघिल्लो साँझ तारा १० बजे घर आईपुगी । उसको फोन पनि अफ थियो आउना साथ कराएँ मैले उसलाई, किनकी उ गलत बाटोमा हिड्दै थिई र म त्यो चाहन्नथे. । दोस्रो दिन संधै झैं काममा गएकी तारा घर आईन, फोन गर्दा उ आज नआउने बताई र फोन राखी । भोलीपल्ट उसको फोन उठेन । एकजोर कपडामा निस्केकी ताराले आफ्नो बाँकी लुगा र मेकअपका सामान संगै मेरो कोठा छोडी । उ रहरले निस्केकी थिई, मैले थप उसको खोजी गर्नु पर्ने आवश्यकता न मलाई थियो न उसलाई । तै पनि मैले तारा आउने बाटो २ हप्ता सम्म हेरें आत्मियता साटिएको रहेछ क्यारे ।

उसलाई चिनाउने साथीलाई यो कुरा सुनाउँदा उनले पनि ‘छोड्दिनु, हामीले राम्रै होला भनेर राखेको हो, उसको मती बिग्रेर हिँडी त के गर्नु’ भने । ठिकै भनेका हुन् उनले तारा सजिलो बाटोको यात्रा गर्न चाहन्थी । उमेर नै त्यस्तै थियो नयाँ नयाँ सपना देख्ने, उ गाउँबाट कलाकार बन्नका लागि हिँडेकी रहिछे दुख गर्न होईन । काममा जाँदा जस जसले तिमी राम्री छौ भने उसले आफ्ना सपना सुनाई होला, कसैले उसलाई भरोषा दिलायो र उ गै ।

२ महिना पछि छिमेकी भाईले तपाँईकी बैनी कान्तीपुर मल अगाडी केटासंग मस्कीरहेकी थिइ भनेर सुनाउँदा यसरी सुनाएकी उ देहब्यापारमा लागेकी छ । उनको शंका भन्दा पनि उनले त्यस्तै दृश्य देखेर आधा आधी भनेका थिए भन्ने मैले उनको कुरा गराईबाट थाहा पाएँ । त्यसपछि पनि अर्का मेरा घरछेउका ब्यक्तीले उनलाई दिउँसो बसपार्कमा देखेको बताए । तारा साँच्चै शरिरको मुल्य तोकेर सपना खरिद्ने सोचमा थिई या उसलाई सपना देखाउनेहरु फेरिदैं गए मलाई थाहा छैन । तर यो शहरको झीलिमिली वातावरणमा कलाकार बन्न आएकी तारा देहव्यपारको नगरमा उदाउँदै छे भन्ने थाहा पाउँदा नराम्रो लाग्यो ।

ताराको दोस देख्दीन म, उसको गरिवी संगै जोडिएको उसको रहरले उसलाई यो बाटोमा पुर्याईछाड्यो । गाउँमा खान लाउन कहिल्यै नपुगेकी तारा एउटा सुखी जिन्दगीको सपना देखेर ५४ बर्षको मान्छेसंग भागेकी थिई, त्यहाँ उसले त्यहि बालक मात्र आफ्नो पाई जसले उसलाई ममी भन्दै फोन गर्थे, साथीकै उमेरको छोरासंग उसले १ बर्ष आमाको जिम्मेवारी निभाईहोला । १७ बर्षको बैशालु सपना थियो उसमा, पढ्ने भएको भए पो भविश्य र पढाईको कुराले दिमाग भरिन्थ्यो, उसको दिमागमा बिहे, राम्रा कपडा, गर गहना, आफ्नै उमेरका केटाहरुप्रतिको आकर्षण हुनुलाई उसको उत्तउलो पन भन्दा पनि अवस्थाले निम्त्याएको नियती थियो ।

उ म संग बसेपनि म उसको परिवार थिईन जसको सबै जिम्मेवारी म संधै उठाउन सकुँ । उसले यो पनि बिचार गरी होली । आज उसको खोजी गर्ने लोग्ने उसको मायाले भन्दा पनि बुढेसकालमा ल्याएकी बुढी भागी भन्ने समाजको हाँसो जोगाउन उसलाई बोलाईरहेछ, परिवारको नाक काट्टीयो होला, बाहुन समाज गरिव भएपनि यस्ता वईयात कुराको चियो चर्चो गर्नमा सबै भन्दा अगाडी छ । संस्कार नै यहि बस्दै आएकाले पनि परिवारले उसको कारण धेरै कुरा सुन्नु परेको होला । उ फर्केर मेरो कोठामा आउनका लागि म उसको बाटोमा भेटिएको दिदी बाहेक केही थिईन । उ संगै आएकी उसकी साथी त्यो नौलो दाईसंग हिडेकी थिई उसको यात्रा कुन दिसामा मोडियो ?

यस्ता धेरै ताराहरुका समाचार अखबारमा बेला बेला आउँछ पक्राउको नाममा । तिनका नियती लेख्न सकिरहेका छैनौं हामी, उनिहरु भन्न सकिरहेका छैनन् । खुलेआम सार्वजनिक भएका केही नामहरु हाम्रो समाजको अगाडी वेश्या सावित भएका छन् । तिनको कथा पनि ताराको जस्तै होला, फरक फरक परिस्थतीले नगरबधु बनेका यि किशोरीहरुलाई वेश्याको नजरले हेरिनु कति जायज हो ? तारा भेटिनु ३ बर्ष पहिले पनि  यसरी नै १ जना केटीले ३ं-४ दिन संगै मेरो कोठामा बिताएकी थिईन् , त्यो भन्दा पहिले पनि एकजना गायिका बन्ने रहरमा आएकी दिदी उमेरकी युवतीलाई मैले कोठामा राखेको थिएँ २ दिन । उनिहरु किन आफैं जान्छन् खाने बस्ने ठाउँ छोडेर ? यो मानसिकताको बिकास किन भै रहेछ ? ताराले झैं ति दुईटी युवतीले पनि अभाव, रहर र सपनाको भोक टार्न कतिका शरिरको प्यास मेटाएका होलान् । र ति प्यासी आत्माहरुले नै उनिहरुलाई वेश्या नाम दिईरहेका होलान् । यसरी हजारौं ताराको अस्तित्व यो नगरमा अस्ताईरहेछ उदाउनु पहिले नै ।

[email protected]

 

Comments

comments