US Khabar

नेपालमा अमेरिकी सहयोग पोइन्ट फोर देखि एमसीसी सम्म।

- सोनिषा थापा - टेक्सास | १ महिना पहिले प्रकाशित

नेपालमा अमेरिकी सहयोग पोइन्ट फोर देखि एमसीसी सम्म।

सोनिषा थापा – टेक्सास,

नेपाल र अमेरिकाका बीचमा सन् १९४७ को अप्रिल २५ मा शान्ती तथा वाणिज्य सन्धिमा हस्ताक्षर भएसंगै दुबै मुलुकको सम्बन्ध जोडिएको हो। अर्को बर्ष फेब्रुअरी १९४८ मा दुबै देशले एकअर्काको मुलुकमा परस्परमा राजदूत खटाउने निर्णय लिएका थिए। अमेरिकासंग नेपालको सम्बन्ध जोडिएको ४ बर्षपछि सन् १९५१ मा नेपालले पहिलोपटक अमेरिकी सहायता लिएको थियो।

अमेरिकाबाट नेपालले “पोईन्ट फोर प्रोग्राम” अन्तर्गत लिएको सहायता नै नेपालले आफ्नो इतिहासमा लिएको पहिलो बैदेशिक आर्थिक सहायता थियो। सन् १९५१ को जनवरी २३ का दिन भारतको नयाँ दिल्लीमा “पोइन्ट फोर”  सम्झौतामा हस्ताक्षर भएको थियो। उक्त आर्थिक सहायतामा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत रहेका जनरल सिंहशमशेर जंगबहादुर राणा र नेपाल र भारतका लागि अमेरिकी राजदूत लोय डब्ल्यू हेण्डर्सनले हस्ताक्षर गरेका थिए। त्यतिबेला नेपालमा राष्ट्रबैंक खुलिनसकेकाले अमेरिकाले पोइन्ट फोर सहायता अन्तर्गत प्रदान गरेको तीन लाख अमेरिकी डलर नेपालको मुलुकी खातामा जम्मा भएको थियो।

नेपालमा प्रजातन्त्रको आगमनसंगै अमेरिका नेपालको शिक्षा र स्वास्थ्यको विकासमा आर्थिक सहयोग गर्न अगाडी बढेको थियो। नेपालमा शिक्षा, स्वास्थ्यको आधुनिकीकरण संगै नेपालको ग्रामीण विकासमा समेत अमेरिकाको महत्वपूर्ण योगदान छ। सन् १९५४ मा अमेरिकी सरकारको सहायता परियोजना अन्तर्गत नेपालमा प्राथमिक बिद्यालयलाई स्रोत-साधन उपलब्ध गराउने र शिक्षक तालिम प्रदान गर्ने कार्यक्रम चलेको थियो। त्यो भन्दा केही समय अघि देखि नै नेपालमा शिक्षाको अवस्था बारे अध्ययन गर्न अमेरिकी अधिकारीहरु नेपाल आएका थिए। त्यही कार्यक्रम अन्तर्गत नै नेपालको शिक्षाको विकासमा अमेरिकी आर्थिक सहयोग संगै प्राविधिक सहयोगको विस्तार भएको थियो।

नेपालको शिक्षाको विकासमा आएको अमेरिकी सहायता अन्तर्गत अमेरिकाको ओरेगन राज्यमा रहेको ओरेगन विश्वविद्यालय नेपाल आएको थियो। १९५४ को जुलाईमा नेपालको प्राथमिक बिधालयलाई स्रोत साधन उपलब्ध गराउने र शिक्षक तालिम प्रदान गर्ने सम्बन्धमा अर्को आर्थिक सहायता उपलब्ध गराएको थियो। त्यस्तै सोही २४-२८ जुलाई सम्म नेपालमा परेको भिषण बर्षाका कारण नेपालको मध्य तथा पूर्वी तराईमा ठूलो धनजनको क्षती समेत भएको थियो। त्यतिबेला नेपालमा भएको उक्त क्षतीबाट ध्वस्त संरचनाको पुनर्निर्माण गर्नका लागि समेत अमेरिकाले आर्थिक सहायता उपलब्ध गराएको थियो।

नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको स्थापना गर्ने देखि त्यसमा आवश्यक प्राविधिक सहयोगसंगै त्यसलाई चाहिने दक्ष पूर्वाधारको विकासका लागि अमेरिका स्थित ओरेगन विश्वविद्यालयले महत्त्वपूर्ण सहयोग प्रदान गरेको थियो।

पछिल्लो ७० बर्षमा अमेरिका नेपालको आर्थिक विकासमा एउटा महत्वपूर्ण साझेदारका रुपमा नेपालमा रहेको छ। त्यो संगै नेपाललाई आर्थिक सहायता प्रदान गर्नेमा अमेरिका शिर्ष स्थानमा नै पर्ने गर्दछ। सन् २०१७ मा मात्रै अमेरिकाले नेपाललाई  “मिलिनियम च्यालेन्ज कर्पोरेसन”  [ एमसीसी ]  अन्तर्गत ५०० मिलियन अमेरिकी डलरको सहायता प्रदान गर्ने निर्णय भएको त्यस्तै सन् २०१७ को सेप्टेम्बर महिनामा अमेरिकी सहायता परियोजना एमसीसीमा नेपाल र अमेरिकाका बीचमा हस्ताक्षर भएको थियो। एमसीसीलाई लिएर नेपालमा अनेकन अफवाहहरु फैलाइए जसका कारण त्यसलाई विवादित गराउने भरपुर कोसिस समेत गरियो। लामो रस्साकस्सी पछि गत फेब्रुअरी २७ मा नेपालको दुबै सदनबाट अमेरिकी सहायता परियोजना पारित भएको हो। अब यो पारित भएसंगै नेपालमा त्यस अन्तर्गत विद्युत् प्रसारण आयोजना निर्माण हुनेछ। जसमा करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइनका साथै तीन वटा नयाँ विद्युत् सब–स्टेसन निर्माण गर्नेछ। त्यस्तै सडक अन्तर्गत झण्डै १०० किलोमिटर सडक बाटो स्तरोन्नति हुनेछ जसमा पूर्वपश्चिम राजमार्गको चन्द्रौटा(भालुवाङ ३५ किलोमिटर, भालुवाङ(लमही २७ किलोमिटर, शिवखोला ३७ किलोमिटर बाटो स्तरोन्नति गरिनेछ। त्यस्तै एमसीसी पारित भए लगत्तै अमेरिकाले नेपाललाई एमसीसी भन्दा पनि ठूलो अर्को आर्थिक सहायता प्रदान गरेको छ। यहि ०५ मे मा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग [ यूएसएड]  र अर्थ मन्त्रालयबीच झण्डै रु८० अर्बको अनुदान सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। पाँच वर्षभित्र खर्च गर्ने गरी यूएसएडले नेपाललाई ६५९ मिलियन डलर [ करीब रु ७९ अर्ब ७१ करोड]  बराबरको अनुदान सहयोग दिन लागेको हो।

अमेरिकाले नेपाललाई मध्यम आय भएको मुलुकका रूपमा स्तरोन्नतिका लागि सघाउन यो सहयोग दिन लागेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाल सरकार, नागरिक समाज, निजी क्षेत्रसँग मिलेर नेपालको दिगो विकास लक्ष्य हासिल गर्न तथा लोकतान्त्रिक शासन, उद्यमशीलता केन्द्रित आर्थिक वृद्धि र जलवायु परिवर्तन सिर्जित प्रकोपसँग जुध्न यो सहयोग रकम परिचालन गरिनेछ।

यो सहयोग रकम नेपाल सरकारको रातो किताबमा उल्लेख भएर पारदर्शी रूपमा खर्च गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। अमेरिकाले यूएसएडका माध्यमबाट समेत विगतदेखि नै निरन्तर रूपमा नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। यसरी अमेरिकाले ७० बर्ष अघि पोईन्ट फोर देखि अहिलेको एमसीसी त्यस्तै फेरि युएसएडको सहयोग संगै नेपालको विकासमा अमेरिकाले निकै ठुलो महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्ने गरेको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

error: Content is protected !!