धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमी कप’ चैत ३० गतेलाई सरेको छ ।

चैत २३ गते शनिबार हुने भनिएको खेल खराव मौसमका कारण स्थगीत भएको थियो । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एक सुचना सार्बजनिक गर्दै खेल चैत ३० गते हुने जानकारी दिएका हुन् । नयाँ बर्षको अवसर पारेर आयोजना हुने उक्त प्रतियोगीताको तयारी भईरहेको छ । मंगलबारदेखी पुन कलाकारहरुको अभ्यास खेल हुने धुर्मुसले जानकारी दिएका छन् ।

प्रतियोगीतामा राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आमने सामने हुनेछन् । पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बि’ बिच रोमान्चक २० ओभरको खेल हुनेछ भने कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बि’ बिच १० ओभरको खेल हुनेछ ।

प्रतियोगिताको मिति हेरफेर भएपनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिनेछ । फाउण्डेशनले चैत ३० गतेका लागि फेरी टिकट खरिद गर्न सकिने बताएको छ भने ईसेवा मार्फत टिकट खरिद गर्न सकिने छ ।

रङ्गशाला निर्माणको सहयोगार्थ प्रतियोगीता गर्न लागिए पनि यसबाट संकलित रकमको १५ प्रतिशत आँधी प्रभावितहरुका लागि खर्च गरिने फाउण्डेशनले जानकारी दिएको छ । मातृभूमी कपका लागि निरन्तर टिकट बितरण भईरहेको छ ।  खेल मैदानमा समेत टिकट उपलब्ध हुनेछ ।

Comments

comments