विश्वमा अहिलेसम्म फेला परेका मानवका विभिन्न प्रजातिमा एउटा अर्को नाम थपिएको छ। नयाँ मानव प्रजातिको अवशेष फिलिपिन्सको एउटा गुफामा फेला परेको हो।

लुप्त भइसकेको यो प्रजातिको अवशेष फिलिपिन्सको सबैभन्दा ठूलो टापु लुजोनमा फेला परेको हो। लुजोन टापुमा भेटिएकाले यो मानव प्रजातिको नाम होमो लुजोनेन्सिस राखिएको छ।होमो लुजोनेन्सिस प्रजातिको शारीरिक विशेषतामध्ये केही अन्य प्राचीन मानव प्रजाति र अहिलेको होमो सेपियन्ससँग मिल्दोजुल्दो छ।

यो प्रजाति अफ्रिकाका प्राचीन मानव प्रजातिसँग सम्बन्धित हुन सक्ने अनुमान छ। उनीहरू कालान्तरमा अफ्रिकाबाट दक्षिणपूर्वी एसियामा बसोबास गरेको हुनसक्ने अनुमान छ। होमो लुजोनेन्सिसका अवशेष फिलिपिन्सको कालाओ गुफामा भेटिनुअघिसम्म यस्तो हुनु असम्भव ठानिएको थियो। यो नयाँ खोजपछि फिलिपिन्सको र यो क्षेत्रमा मानव प्रजातिको विकास अत्यन्त जटिल थियो होला भन्ने विश्वास गरिएको छ। किनभने यो भूभागमा त्यसअघि नै ३ वा त्यसभन्दा बढी मानव प्रजाति बसोबास गर्थे।

फिलिपिन्सको लुजोन टापूको गुफामा उत्खनन गर्दै अनुसन्धानकर्ताहरु

त्यस क्षेत्रमा बसोबास गर्नेमध्ये एउटा मानव प्रजाति थियो– पुड्का हबिट वा जसलाई होमो फ्लोरेसिन्सिस भनिन्छ। यो प्रजाति इन्डोनेसियाको फ्लोर्स टापुमा करिब ५० हजार वर्षअघिसम्म पनि बसोबास गथ्र्याे।

लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियमका प्रोफेसर क्रिस स्ट्रिंगर भन्छन्, ‘सन् २००४ मा पुड्को मानव प्रजाति होमो फ्लोरेसिन्सिसबारे जानकारी प्रकाशित भएको थियो। त्यसबेला मैले भनेको थिएँ कि फ्लोर्समा जस्तै त्यस क्षेत्रका अन्य टापुमा पनि मानवका प्रजाति खोज्नु पर्छ।’ उनले आफ्नो अनुमान ठीक भएको बताए। ‘फ्लोर्सबाट करिब ३ हजार किलोमिटरको दुरीस्थित लुजोन टापुमा सफलता पाइएको छ’, उनले भने।

नेचर पत्रिकाका अनुसार होमो लुजोनेसिसका अवशेष लुजोनभन्दा उत्तरमा रहेका कालाओ गुफामा फेला परेको हो। अवशेष ६७ हजारदेखि ५० हजार वर्ष पुराना हुन सक्ने अनुमान छ।गुफामा लुजोनेन्सिसको शरीरका ३ वटा अंग भेटिएका छन्– दाँत, हात र खुट्टाका हाडहरू। ४ जनाका अवशेष फेला परेका छन् र तीमध्ये एउटा चाहीं युवाको छ। यी अवशेष सन् २००७ मा गरिएको उत्खननमा भेटिएका थिए।

होमो लुजोनेन्सिसका केही विशेषता अहिलेको मानव प्रजाति होमो सेपियन्ससँग मिल्छन्। अन्य कैयौं कुरा भने जस्तो कि अस्ट्रियालोपिथेकसजस्तै सीधा उभिएर हिँड्ने र अफ्रिकामा पाइने बाँदरसँग मिल्दाजुल्दा छन्। ती बाँदर करिब २० देखि ४० लाख वर्षअघि दक्षिणपूर्वी एसियामा पाइन्थे। लुजोनेन्सिसका केही विशेषता भने प्राचीन होमो जातिसँग पनि मिल्छन्।

लुजोन टापूको गुफामा भेटिएको मानव जातिको दाँत।

 

हात खुट्टाका औंला भित्रतिर फर्किएका छन्, जसले उनीहरू रुख चढ्थे भन्ने संकेत गर्छ। अस्ट्रियालोपिथेकस जस्ता प्रजाति दक्षिणपूर्वी एसियासम्म आएको प्रष्ट प्रमाण भेटिए अफ्रिकाबाट मानवका कुन चाहीं पुर्खा सबैभन्दा पहिले अन्यत्र बसाइ सरेका थिए अनुमान गर्न सकिन्छ।

अहिलेसम्म अफ्रिका छाडेर अन्यत्र गएको प्रजाति होमो इरेक्टसलाई मानिने गरेको छ। होमो इरेक्टसले १९ लाख वर्षअघि अफ्रिका छाडेको थियो। लुजोन टापुको चारैतिर पानीले घेरिएको छ र यसैकारणले पनि त्यसबेला मानव प्रजाति त्यहाँ कसरी पुग्यो होला यो नयाँ खोजले प्रश्न उब्जाएको छ।

होमो लुजोनेन्सिसका साथै दक्षिणपूर्वी एसियामा अर्को मानव प्रजाति डेनिसोभन्स पनि बस्थ्यो। यो क्षेत्रमा आएका सबै मानव प्रजाति होमो सेपियन्ससँग मिसिएको विश्वास गरिन्छ। त्यहाँ पाइएका अवशेषको डिएनए विश्लेषणका आधार यस्तो विश्वास गरिएको हो। किनभने त्यस क्षेत्रमा डेनिसोभन्स प्रजातिका कुनै पनि अवशेष भेटिएको छैन।

होमो फ्लोरेसिन्सिसलाई इन्डोनेसियाको फ्लोर्स टापुका रैथाने मानिन्छ, जसलाई पुड्का भएको कारणले हबिट पनि भनिन्छ। उनीहरू करिब एक लाख वर्षअघि पृथ्वीमा बस्थे र करिब ५० हजार वर्ष पहिले लोप भएका थिए। उनीहरू लुप्त भएकै समयताका नै आधुनिक मानवको पदार्पण हुने बेला भएको थियो। त्यसनजिकैको पालावान टापुमा होमो सेपियन्स ३० देखि ४० हजार वर्षअघि बसेको प्रमाण फेला परिसकेका छन्।

वैज्ञानिकहरूको भनाइमा होमो फ्लोरेसिन्सिसका केही विशेषता अस्ट्रियालोपिथेसिनमा पनि रहेकोमा विश्वस्त छन्। तर केही अनुसन्धानकर्ता भने होमोफ्लोरेसिन्सिस पनि होमो इरेक्टसकै पूर्वज हुन् भन्छन्। अन्नपूर्णमा समाचार छ ।

 

Comments

comments