शम्भु सुस्केरा

 

अनावस्यक गाडिका हर्न । मान्छेका दोहोरीलत्ता । जताततै साइकलमा फलफुल पसल र ठेलामा चटपटे र पानीपुरीले मान्छेको जीवन चर्या धानिरहेको छ सडकै भरि ।

चुच्चे पाटीबाट आरुबारीतिर जानुछ मलाई ।

पासाङ ल्हामुको शालिकदेखि उँभो नजाउँ जस्तो गर्छ मोटर साईकल । थुपै्र चोटी त्यो बाटोको हिलाम्मे सडक देखेर तराइतिर गाडि तान्ने राँगाको आत्मबल घटे झैँ घट्या छ यसको पनि । मेलम्ची खानेपानी आयोजनाले ठूलो पाइप बिछ्याउने नाममा पारेको खाल्डो र हिलोले पैदल यात्री समेत हिँड्न सक्दैनन् भन्ने कुरासँग परिचित छ यो । त्यसैले यसको आत्मबलको स्टार्ट बन्द भैगो ।

घरबाट एक पाइला बाहिर निस्कन नसकेपछि धैर्यको बाँध फुटेका स्थानीयले त्यहि हिलो सडकमा धान रोपेर बिरोध गरेको समाचार आथ्यो । त्यो चैँ थाहा नहुन सक्छ त्यसलाई उसको बास घर बाहिरै हुने भएकाले ।

साउनको हिलो बाँकी नभए पनि मान्छे अट्ने खाल्डा बाँकी नै छन् । सवारी साधनलाई सास्ती ।

भूकम्पपछि बौद्वको प्रहरी कार्यालय त्यता सरेकाले नेता हुनुको नाता जनताका झैझगडा मिलाउन पनि नगइ हुन्न । लात र हातले थुप्रै चोटि दगुर्न अनुरोध गरेपछि बल्ल झर्किएर करायो–दगुर्छु भनेर । र, बोकेर कुध्यो मलाई । पचास मिटर अघि नबढी कानमा तिखो महिला चित्कार सुनियो दाहिनेतिरबाट । गुरुरु मान्छे कुधेका पनि देखिए । भुकम्पबाट बिस्थापितका निला त्रिपाले झुपडिको पल्लो छेऊमा के भयो होला ? सडक किनारा लगाएर मोटरसाइकल रोकेँ ।

टाउकोबाट हेल्मेट नखोली पन्जा लगाएको हातले चाबी हल्लाउँदै फटाफट हान्निएँ त्यता ।

जति नजिक पुगेँ त्यति चित्कार चर्को थियो । मानब घेरा छिचोलेर चिच्याइरहेकी युवती छेउ पुग्न निकैबेर लाग्यो । पच्चीस वर्ष जतिकी युवती, आफूले लगाएको लुगा आफैँ चिथोर्दै थिइन् । आधी कपडा च्यातिएको छाति पिटेर रुँदै थिईन् अर्ध नग्न जस्तै अवस्थामा ।

हरिया झुपडिबीचको साँघुरो गल्ली मान्छेले भरिएको थियो । र, ती युवतीको चित्का्र चिच्याइरहेको थियो । अरु मौन थिए बिना प्रतिक्रिया । केबल सास फेरिरहेका थिए ।

युवती किन त्यसरी चिच्याएर रोएकी हुन् । अरु किन स्तब्ध थिए । नबुझेर छेवैको युवकतिर संकेत गरेँ के भएछ भनेर ।
युवकका आँखाले इशारा गरे नजिकैको नीलो पालतिर । तर मैँले केहि देखिनँ ।

‘यसरी धेरै रुन दियो भने झन पीडा बढ्छ, चाँडै लानु पर्छ ।’ एक जना मतवाली अनुहारका साठी नाघे जस्ता देखिने ब्यक्ति बोले ।

‘म दिन्न । लु छिर त मेरो घर भित्र… ।’अघि युवकले मलाई देखाएको पालको दैलो छेक्न पुगिन ती युवती ।
‘त्यसो गरेर हुन्न नानी जे पर्छ मान्छेले नै सहनु पर्छ । अब निकाल्न दे ।’ नजिकै उभिएर आँखा पुछिरहेकी एउटी तिलचामले आमा बोलिन् ।

ती अघिका बूढा मान्छे कतिबेला कताबाट पाल भित्र छिरिसकेका रहेछन् । करिब छ सात वर्ष जतिकी बालिकालाई च्यापेर ढोकैबाट फुत्त निस्के । बालिकाको खुट्टा र टाउको लत्रिएको थियो । अचानक आफूलाई धकेल्दै भित्रबाट बोकेर ल्याएको नानी देखेर अलमल्ल जस्तै भएकी तिनले झटेर नानीलाई तानिन् । एकछिन् दुबैजनाबीच तानातान भो तर बूढा धेरैबेर टिकेनन् वा टिक्न चाहेनन् । बालिका युवतीको हातमा परिन् । बूढा आँखा पुछ्दै छेउ लागे ।

अर्ध पागल जस्ती तिनले नानीलाई छातिमा टाँसेर कोकोहोलो गरिन् –मेरो बाबा ! मेरो नानी ! उठन !आँखा खोलन ! बोलन ! ममी भनन मलाई……………!

बिचरीको छोरी मरेकी रहिछे । खपिनसक्नु गरी भित्रैबाट हुँडलिएर आयो, आँखा बग्न थाले मेरा ।

रमिता हेरिरहने आँट भएन । भिडबाट पछि हटेँ । दुईचार पाइला हिँडेर अघि आएकै बाटो लागेँ । गह्रौँ भए पाइलाहरु । हिँड्नै मन लागेन । बिचरीकी त्यति सानी छोरी के कारणले मरी ? अनुहार हेर्दा मरेकी जस्ती देखिन्नथी । अरु आफन्त खै उसका ? उसको लोग्ने खोइ ? भोको पेट बटारिएझैँ मनमा अनेक प्रश्नहरु हुँडलिए ।

के गरौँ कसो गरौँ भएर उभिइसकेका मेरा पाइला र शोक मग्न आँखाहरु अचानक दुइटी आमाहरुमा परे । छेउमा गएँ ।
‘के भएर मरेछ आमा तिनको नानी ’? नीलो साडि लगाएकी एउटी आमाले मतिर हेरिन् केही बोलिनन् अर्की रातो फरिया लगाएकी सेतै फुलेकी आमाले मतिर हेर्दा देखेँ ती दृष्टि बिहीन रहिछन् ।

केहिबेरसम्म जवाफ नपाएपछि हिँडौँ कि बसौ भएको थिएँ ।

‘के भएर भन्नु खै त्यो आमा चैँ अभागी हो ।’ दुष्टिबिहीन आमा बोलिन् ।

केहि कुरो आउला भन्ने आशले रोकिएँ ।

‘सरकारमा भएकाको सात पुस्तालाई भलो नहोस्, त्यो बिचरीका आँसु लागोस तिनलाई ।’ नीलो साडी लगाएकी आमाले आक्रोस पोखिन् । कुरो नबुझेर टुक्रक्क बसेँ छेवैमा ।

आमा बोल्न थालिन् – भगवानले पनि के के खटाउँछन् …। धादिङ्खकी बाहुनकी छोरी रैछे ।

……

कोपिला हो ऊ ।

कपनमा बस्थे । श्रीमान् चाहिँले ट्याक्सी चलाएर परिवार पालेको थियो । दुई महिना अघि मात्र ट्याक्सी चालक साथीको करमा परेर चर्च जान थालेको रैछ ।

‘जता पनि उस्तै ढोँग, धर्मको नाममा राजनीति ।’ यसो भनेको थियो कोपिलासँग ।

‘के कर छ र, मन नलागे नगए भो नि ।’ कोपिलाले जवाफ दिएकी थिई ।

‘नजाने कुरा नगर, तिमी पनि हिँड बरु । पछिपछि पैसो पनि आउँछ भन्छन् ।’

‘आ ! पैसाका लागि धर्म साट्दिनँ ।’ निर्मलाले यस्तो जवाफ दिएकै दिन बेपत्ताको भुइँचालो गयो । हजारौँ मान्छे मरेसँगै उसको लोग्ने पनि परेछ । यत्रो ठूलो बज्र धन्न सहेकी छे बिचरीले । टिचिङ अस्पतालमा लोग्नेको लास बुझ्नका लागि उसका नाबालक छोरी र ऊ बाहेक कोहि भएनन् ।

कसले गाडि लग्यो, कसले लास जलायो केहि होस पाइन । सबै बेहोसी मै भयो । रेखा थापा भन्ने हिरोनीले सघाकी रे अरुलाई पनि । पछि थाहा पाई उसले ।

अर्कैले टहरो बनाएर राखिदिएका हुन् चुच्चेपाटीमा । वरिपरि सबैको उस्तै पीडा माझ आँखा भरि दुइटी छोरीको मायाले मन बुझाउँदै लगी ।

‘तिनै सहारा नाबालकहरु पनि पालै पालो गए ।’

रोकिइन् आमा । नाक र आँखा पुछेपछि मतिर हेरिन् ।

केहिबेरको मौनतापछि फेरि बोलिन् –लोग्नेलाई भुइँचालोले मा¥यो । ती नाबालकलाई सरखार भन्नेहरुले मारे । म जस्ता पाकाहरु मरेको भए पनि सन्तोस हुन्थ्यो बरु ।

यसपाली काठमाडौको तापक्रम जिरो दशमलब नौमा झरेको भन्थ्यो समाचारले । काठमाडौका भित्री भागमा सुेताम्मे तुसारो परेको थियो । घरको छतमा राखेको पानी जमेको छ भन्थे मान्छेहरु । सरकारले भूकम्प पीडितलाई न्यानो कपडा किन्न दश हजार दिएको छ भन्ने पनि सुनियो ।

मैँले जान्न चाहेँ यहि कुरा ।

‘दुइटी छोरी घरिघरि बिरामी परेका परै । ऊ अस्पताल कुधेकी कुधै । मैँले लिइदिन खोजेकी थिएँ । जसको हो उसैलाई दिने भने । त्यो पनि ठिकै हो । पछि वडामा लिन गाकी पैसा सक्कियो पछि आएपछि बोलाउँछौँ भनेर फर्काएछन् । दश हजारले पनि केहि आएन बाबु । सरकारले दिएको पैसाले किन्न आको भन्ने थाहा पाएर भने बेपारीले पनि ठगे दुइगुना मोल लिएर । मैँले पातला दुईटा सिरक किन्या थेँ । बिहान त्यही पनि सितले भिजेका हुन्थे । त्यो बिचरीले एउटा मण्डीको भरमा केगरी धानेकी थी होली । काठमाण्डु शहरमा त यस्तो छ बाबु अन्त के बिजोग होला ।

भुइँचालो आएपछि ठूली छोरीका गाउँ किर्तिपुरमा दिनै पिच्छे चामल, दाल, लुगा कपडा अनेक थोक बाँड्न ल्याएछन् उनीहरुलाई धेर भको मलाई पनि ल्याइदिएका थिए । सानी छोरी जीतपुरफेदी बस्छे । एक महिना सम्म पनि उसकाँ एउटा त्रिपाल नआए पछि तीन गुना मोल तिरेर किनेँ आमा भन्थी । दिनेले पनि के ग¥या होलान् कतै फाला फाल कतै दिँदै नदिने ।

आमाले गैह्र सरकारी संस्था प्रति पनि असन्तोष पोखिन् ।

‘….ती नानीहरु चिसैले गए हगि आमा ?’

आमा जस्तै ठान्थी मलाई । त्यसका बाआमा, दाजुभाइ सबै चेपिएरै मरेछन् । धादिङ्खमा एउटा भाइ बाँचेको छरे कहाँ बस्छ थाहा नपाएर भेट्न पाएकी छैन । कतै भौँतारिएर हिँड्यो कि । त्यसलाई भेटेर अँगालो हाली रुन मन छ आमा भनेर तुरुक्क आँसु झार्थी ।

आमाले सिगानसरिको नाक र आँसुका आँखा पु्छिन् र चुप लागिन् बोल्न नसकेर ।

‘घ्याघ्यार गरिराथी चिसोले निमोनिया भाथ्यो क्यार । तातो खान दिनु चिसाबाट बचाउनु भन्या थे रे डाक्डरले । ’ दुष्टी बिहीन आमाले यति बोल्न सघाएर चुप लागेपछि पछि बिरहको लामो सास फेरिन् र कुरा जोडिन् आमाले ।

‘त्यहि त सुत्ने भुइँ पनि उस्तै चिसो । माथिबाट चुहिने सित उस्तै । पक्का घरमा दुइटा सिरक खाप्दा त तात्दैनथ्यो आङ । कसरी न्यानो राखोस् नानीलाई । नाकाबन्दी कि केले ग्यासस्यास थिएन, पकाउने कुरै थिएन होला के तातो खुवाओस् ।

चीसो र बेसन्चोले नीलो भइसकेकी छोरीलाई चोलोभित्र लुकाइछ । गुन्द्री ओढाइछ कुखुराले चल्ला छोपेझैँ । चिसोबाट बचाउन रातभरि अनेक उपक्रम गरेपनि निमोनियाले भित्रभित्रै खाइसकेकी छोरी बचाउन सकिन ।
त्यहि बिहान मरी कान्छी चैँ ।

सानी मरेको एक हप्ता नपुग्दै चिसैले मरी ठूली चैँ पनि । यी सरखार भन्ने सबै उस्ते हुँदा रछन् दुइटै मिलेर खोसे बाबु बिचरीको साहारालाई ।

नाकाबन्दीको सकस बुझेकी आमाले भारत सरकारलाई समेत दोष लगाईन् । देख्नु भो होला नि त्यसको पीडा, छोरीको दाह संस्कार गर्न देकी छैन । त्यसको पीर सहन नसकेर याँ आर यी दिदीसँग बसेकी बाबु ।

कोही आएर ड्याम्मै गोली हानेर मार्दे पनि त्यसको पीडा सकिन्थ्यो होला ।

लौन बाबु सरकारलाई चिनेको छ भने भनि देऊ । उसैले आर गरोस यति काम पनि । पाप पखालिन्छ त्यसको ।
आमा ग्वाँग्वाँँ रुन थालिन् । दृष्टिबिहीन आमा मजेत्रोले मुख छोपेर डाँकै छोडिन् । म उभिइरहन सकिन । नजानिँदै ओठहरुमा खेलिरहेका मेरा हात आँखाहरु सम्म पुगि सकेका थिए । पाइलाहरु गह्रौँ बनेर अघि बढे । आमाहरुको डाँको पनि मिसिुइरहेको थियो ती अभागी युवती आमाको चित्कारसँग ।

 

****

Comments

comments