अर्जुन थापा

गाउँमा देवताको रुपमा पुज्ने गर्थे आनन्देश्वर महाराजलाई । हुँदा हुँदा वल्लो पल्लो गाउँमा समेत उनको चमत्कारको चर्चा चल्ने गरेको थियो । सर्वसाधारण देखि ठुला नेताहरु सम्म उनको दर्शन गर्नलाई उनको कुटिमा लाइन लाग्थे । उनको चमत्कार मात्र नभएर उनको कामको पनि चौतर्फी चर्चा हुन्थ्यो । अझ गाउँमा शिक्षालाई जोड दिन्थे । छुवाछुव, महिलाहरु प्रति गरिने हिंसाको उनी घोर विरोधी थिए । उनको आगमनले गाउँमा धेरै परिवर्तन भएको थियो ।

मान्छेको अनुहार हेरेको भरमा समस्या समाधान गर्थे । ठुला ठुला अस्पतालमा निको पार्न नसकेको रोग उनको कुटीमा पुगेपछि ठिक हुन्थ्यो । नौ वर्ष सम्म सन्तान सुखबाट बञ्चित रहेको मुकेश दम्पत्तिलाई बाबाको आर्शिवादबाट सन्तान सुख मिलेको थियो । जसले गर्दा दुवै श्रीमान श्रीमती हरेक दिन सेवा गर्न पुग्थे कुटीमा । बाबाले दिएको विभुती खाए पछि मुकेशहरु मात्र नभएर धेरैका घरमा बच्चा रोएको आवाज सुनिन्थ्यो ।  विस्तारै मान्छेहरु अस्पताल कम बाबाकाँ बढी जान थालेका थिए । सेवा गरे वापत कुनै दक्षिणा तथा अरु केही माग्दैन थिए । निस्वार्थ सेवामा तल्लिन हुन्थे दिन रात । मिडिया तथा पत्र पत्रिकामा पनि उनको तस्विर देखिन थालेका थिए । एक प्रकारले उनी सेलिब्रेटी बन्न पुगिसकेका थिए । उनको दर्शन पाउनका लागि मात्र घण्टौं कुरी बस्थे मान्छेहरु ।

एक साँझ मुकेश र उनको श्रीमती भएर टि.भि हर्दै गर्दा मुकेशको नजर टि.भि को मुनि दिरहेको मुख्य समाचारमा पर्छ । हतार हतार टि.भि को च्यानल चेन्ज गरेर समाचार खोल्छ ।

“चर्चित बाबाको कुटीमा प्रहरीको छापा । एक महिलाको सहयोगबाट बाबाको कर्तुतको पर्दाफास । बाबाको सयन कक्षबाट परिवार नियोजनका अस्थाई साधनहरु, अस्लिल भिडियोका टेपहरु तथा मदिराका बोतलहरु बरामद । बाबाको ध्यान कक्षमा लुकाई राखिएको ल्याबमा प्रयोग हुने विभिन्न मेसिन तथा औजारहरु बरामद । उक्त पिडीत महिलाको भनाई अनुसार सन्तान सुखको प्रलोभन देखाई पटक पटक बलात्कार गरेको ………… ।” रातो मुख पारेर श्रीमतीलाई हेर्छ मुकेश । जुरुक्क उठेर भित्र जान्छिन् श्रीमती । ओछ्यानमा बच्चा भोकले रुन थाल्छ ।

समाप्त !

[email protected]

Comments

comments