राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको शान्तिपूर्ण आन्दोलनलाई सरकारले दमन गरे त्यसको प्रतिफल नराम्रो व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । काठमाडौं महानगरपालिकामा धर्ना कार्यक्रममा बोल्दै थापाले आन्दोलनमाथि भएको प्रशासनिक दमनको भत्र्सना गरे । राप्रपाले बिहीबार देशव्यापी स्थानीय निकायमा धर्ना दिएको थियो ।

‘वार्ता र सहमतिमा प्रजातान्त्रिक विधिबाट हाम्रो माग पूरा गरियोस्, दमन भए भागेर जाँदैनौँ, संघर्षलाई थप उचाइमा पु-याउँछौँ,’ थापाले भने । मुलुकमा बढिरहेको भ्रष्टाचार र ब्रह्मलुटको थापाले विरोध गरे । वाइडबडी जहाज काण्ड, सुन काण्ड, विदेशमा लुकाइराखेको सम्पत्ति काण्ड र अहिले आएको जग्गा काण्डले सरकार भ्रष्टाचारको संरक्षकजस्तो भएको थापाले बताए ।

हिजो बन्दुक बोक्नेहरू मलेसिया र अरबमा रगत पसिना बगाउन बाध्य भएको र बन्दुक बोक्न लगाउनेहरू अर्बपति भएको उनको टिप्पणी थियो । राप्रपाले ७ फागुनमा सरकारलाई बुझाएको २२ बुँदे ज्ञापनपत्रमा उल्लेखित माग पूरा गराउन दबाब दिँदै आएको छ । आउँदो ६ वैशाखमा धर्मनिरपेक्षता लेखिएको ब्यानर जलाउने र ८ गते राजमार्गमा दुईघन्टे सत्याग्रह गर्ने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । आजको नयाँ पत्रिकामा समाचार छ ।

Comments

comments