US Khabar

अमेरिकाबासी साहित्यकार विश्वराज अधिकारीको कथा संग्रह ‘सागरमणि दाइ नेपाल फर्किनु भयो’ विमोचित

- USKHABAR | ७ महिना पहिले प्रकाशित

अमेरिकाबासी साहित्यकार विश्वराज अधिकारीको कथा संग्रह ‘सागरमणि दाइ नेपाल फर्किनु भयो’ विमोचित

अमेरिकामा रहेर पनि नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका साहित्यकार विश्वराज अधिकारीको नयाँ कृति ‘सागरमणि दाइ नेपाल फर्किनु भयो‘ बिमोचन भएको छ । साहित्यकार अधिकारी नेपाल आएको अवसर पारेर शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कथा संग्रह ‘सागरमणि दाइ नेपाल फर्किनु भयो’को औपचारिक विमोचन गरिएको हो ।

प्राज्ञ तथा वरिष्ठ आख्यानकार माया ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कृति बिमोचन समारोहमा विमोचित यस कथा संग्रहमा अमेरिकी नेपाली प्रवासी कथाहरु समावेस छन् । डेढ दर्जनभन्दा बढी साहित्यिक कृतिहरूका लेखक अधिकारीको नयाँ कृति सागरमणि दाइ नेपाल फर्किनु भयोमाथी अतिथीका रुपमा उपस्थित विभिन्न साहित्यकर्मीले आफ्ना धारणा राखेका थिए ।

कृतिबारे पाठकीय टिप्पणीका रुपमा दीनबन्धु शर्माले सङ्ग्रहमा द्वन्द्वमा फसेका प्रवासी नेपालीका कथा, व्यथा र मनोविज्ञान समेटिएको बताए । शर्माका अनुसार ’देश भूमि हो, राज्य होइन । देशलाई उन्नति वा अवनतिको बाटोतिर लैजाने भन्ने संयन्त्र चाहिँ राज्य हो ’। तसर्थ उत्तर आधुनिकताको लक्षण भएको कृतिमा मूलतः स्मृतिदंश (नोस्टाल्जिया) रहेको छ ।

त्यस्तै समालोचक तथा चर्चित साहित्यकार शैलेन्दुप्रकाश नेपालले कथामा अतीत मोहका अनुभूति पर्याप्त भए तापनि कथाका विषयवस्तुलाई विविधीकरण नगरिएको जिकिर गरे । कथा आख्यान जस्ता भन्दा पनि निबन्धात्मक बनेका, पट्यारिला खाले लामा, सूचनामूलक आलेख झैँ अनुभूत हुने, संस्मरण हो कि भन्ने भान हुने हुँदा हुँदै पनि देशभक्ति र माटोको ममता जस्ता अवयवले नराम्रा भन्न नमिल्ने उनको स्पष्टोक्ति थियो । सबै कथाको निचोड उस्तैखाले आउने पनि उनको अभिमत थियो ।

अर्का चर्चित समीक्षक तथा समालोचक हरि अधिकारीले प्रवासका आर्थिक सांस्कृतिक र सामाजिक मुद्दाहरूको दरिलो उठान भएको दाबी गरेका छन् भने समालोचक सावित्री मल्ल कक्षपतीले जब अवसर खोज्न समुद्रपार गइन्छ भने असन्तुष्ट हुने आधार नरहेको दाबी गरिन् ।
जाने कुराको चयन आफूले गर्ने, त्यतै लिसो झैँ टाँसिएर बस्न पनि रुचाउने किन्तु ऊर्जा निथ्रिँदै आएपछि नेपाल सम्झनु भन्दा त्यही कर्मभूमिमा रहेर आफ्नो क्षमता उजागर गर्नु बढि श्रेयस्कर हुने कक्षपतीको राय थियो ।

समालोचक, आख्यानकार तथा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ’रोदन’ले कृतिलाई ’आख्यानकारिता कमजोर र विचार बलियो’ भएको कृतिका रूपमा चित्रित गरेका छन् । परम्परागत साँचोमा अधिकारीका कथा प्रिय वा अप्रिय होलान् तथापि कृत्रिमताको जमेर विरोध गर्न सक्नु उनको वैशिष्ट्य हो भन्ने रोदनको अभिमत थियो ।

कथाका बुनोट र विषयवस्तुबारे मोहन सिटौला र ममता मृदुलले पनि आआफ्ना सारगर्भित भनाइ राखेका थिए ।

प्रमुख अतिथि माया ठकुरीले पुरानो तर कालजयी तीज गीत गाउँदै तिनमा चेलीहरूको अनन्त कथा रहेको बताएको यस कृतिका कृतिकार विश्वराज अधिकारीले उपस्थित तमाम पाहुनाप्रति आभार प्रकट गरेका थिए ।

प्रकाशक मोलुङ फाउन्डेसनका अध्यक्ष तथा कार्यक्रमका पनि अध्यक्ष भूपप्रसाद धमलाले कार्यक्रमलाइ समापन गरेका थिए । वरिष्ठ लघुकथाकार तथा बहुआयामिक व्यक्तित्व खेमराज पोखरेलले सहजीकरण गरेको कार्यक्रमको समापनपछि प्रमुख अतिथि ठकुरीको शुभ जन्मदिन पनि हर्षोल्लासका साथ मनाइएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!