महेन्द्रनगर- भीमदत्त नगरपालिकाले झिलमिला तालको व्यवस्थित पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा गुरुस योजना बनाउने भएको छ । गुरु योजना निर्माणका लागि यस वर्ष १५ लाख बजेट विनियोजन गरिएको छ ।

भीमदत्त नगरपालिका वडा नं. ९ को चुरे क्षेत्रमा पर्ने ताल धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले महत्वपूर्ण मान्ने गरिएको छ । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले तालको पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर गुरु योजना बनाउन लागेका हुन् । नगर प्रमुख विष्टले तालको व्यवस्थित र योजनाबद्ध पर्यटन विकासका लागि गुरु योजना बनाउन लागिएको बताए । ‘तालको व्यवस्थित र योजनाबद्ध विकास तथा पर्यटन प्रवद्र्धनका लागि गुरु योजना बनाउन १५ लाख बजेट विनियोजन गरिएको छ’ उनले भने,‘यस वर्ष गुरु योजना बनाउँछौ ।’

अव्यवस्थित पूर्वाधार निर्माणले तालको प्राकृतिक, धार्मिक र साँस्कृतिक महत्वलाई आँच आउने भएकाले योजनाबद्ध विकासका लागि गुरु योजना आवश्यक भएको उनले जनाए ।
‘ताल क्षेत्र वरिपरि पूर्वाधार नबनाउँदा राम्रो छ, तल ताराकोट वा आशपास क्षेत्रमा संरचना बनाएर जानु पर्छ’ उनले भने,‘कुन संरचना कहाँ बनाउने हो, कुन ठाउँमा पूर्वाधार बनाउने हो, सबै कुराको यकिन गुरु योजनामा हुन्छ’ उनले भने ।

भीमदत्तले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरी कार्यक्रम सञ्चालन गरिएका छन् । भ्रमण वर्षलाई मध्यनजर
गरी गत महिना शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको थियो ।
अहिले सवारीबाट झिलमिला तालसम्म पुग्ने गरी बाटो निर्माण गरिएको छ । मटेनाबाट ताराकोटसम्म सवारी प्रयोग गरी पुग्न सकिन्छ । ताराकोटबाट पदमार्ग भएर ९ मिटर दुरी पार गरी तालमा पुग्न सकिन्छ ।

मटेनाबाट चार किलोमिटर पक्की र बाँकी सडकको ट्रयाक खोलिएको छ । नगर प्रमुख विष्टले आगामी वर्षमा ताराकोटसम्म पक्की बाटो पुग्ने बताए । तारकोटसम्म सडक निर्माण भएपछि दैनिक रुपमा एक सय हाराहारीमा दर्शनार्थी पर्यटक ताल क्षेत्रमा पुग्ने गरेको भीनपा वडा नं. ९ का अध्यक्ष राम नाथले बताए ।
१८ मिटर गहिरो तालको दैनिक रङ्ग फेरिने, चारैतिर घना जङ्गल भएर पनि तालमा पात नदेखिने, पानी सधैं एक नाशको रहने तथा माछाको. स्थिर आकारका कारण अचम्मको मान्ने गरिएको छ ।

ब्रह्मदेबबाट झिलमिलातालसम्म केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन भई रहेको छ । ताराकोटमा भ्यू टावर निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ । नगरपालिकाले ताराकोटमा पिकनिक स्पट, धर्मशाला लगायतका पूर्वाधार निर्माणका लागि छलफल गरिरहेको छ । केही महिना अघि पूर्व उद्योग मन्त्री कर्ण थापाले नेताहरु सहित तालको अवलोकन भ्रमण गरेका थिए ।

Comments

comments