काठमाण्डौ । बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेका अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। आज प्रतिनिधि सभा बैठकमा जवाफ दिने क्रममा बोल्दै उनले राजीनामा दिएका हुन्। शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताएका थिए।
शर्मामाथि छानबिन गर्न सभामुख अग्नि प्रसाद सापकोटाको निर्देशनमा आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको रोष्टमबाट शर्माले भने, ‘यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु।’
राजीनामा दिएपछि संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘मैले कुनै गल्ती गरेको छैन। कमीकमजोरी गरेको छैन। यसबारे प्रश्न उठेपछि सत्यतथ्य छानबिन होस् भनेर राजीनामा दिएको हुँ।’
शर्माले आजै संसदमा बोल्दै आधिकारिक व्यक्तिहरूबाट बजेट बनाइएको बताएका थिए। उनले सिसीटिभी फुटेज आफूले डिलिट नगरेको पनि बताएका थिए।
प्रतिक्रिया