काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर रहनुभएको बताएका छन्। आचार्यले आफ्ना साहित्यिक कृतिका माध्यमबाट आदिकवि भानुभक्त आचार्यले नेपाली समाजलाई सत्य, दया,अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न प्रेरित गरेको बताए ।
आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्तका कविताले तत्कालीन नेपाली समाजको यथार्थलाई सरल तरिकाले चित्रण गर्नुका साथै समाजका लागि शिक्षा र सकरात्मक सन्देश प्रवाह गरेको उल्लेख गरेका छन्।
भाषिक एकीकरणका नायक भानुभक्तद्वारा सिर्जित साहित्यिक रचनाले सम्पूर्ण नेपालीलाई एउटै भाषिक सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन योगदान पुर्याएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले रसिला साहित्यिक रचनाको माध्यमबाट आध्यात्मिक चेतना र जागरण फैलाई समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न आदिकवि भानुभक्तले पुर्याएको योगदानको प्रशंसा गरेका छन्।
आदिकवि भानुभक्तले रामायणजस्तो मौलिक, सांस्कृतिक महाकाव्यका साथै प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा, रामगीताजस्ता काव्य र उल्लेख्य फुटकर कविताको रचना गरेर नेपाली काव्य साहित्यको बलियो जग बसालेका छन्।
आदिकवि भानुभक्तका रामायणलगायत कालजयी साहित्यिक कृतिहरू अहिलेसम्म पनि नेपाली समाजमा उत्तिकै लोकप्रिय रहेका उल्लेख गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति भानुभक्तको जन्मजयन्तीको अवसरमा उनलाई श्रद्धापूर्वक स्मरण गरेका छन्।
प्रधानमन्त्री देउवाले यो दिवसले आदिकवि भानुभक्तको जीवनी र चरित्रबाट शिक्षा लिँदै सबैलाई नेपाली भाषा साहित्यको श्रीवृद्धिमा निरन्तर समर्पित रहन प्रेरणा प्रदान गरोस् भन्दै उहाँप्रति उच्च सम्मानसहित श्रद्धाञ्जलि अर्पण गरेका छन्।
प्रतिक्रिया