US Khabar

ख्याति कमाउँदै खेमराज

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

ख्याति कमाउँदै खेमराज

माधव घिमिरे ‘अटल’

पसिनाले स्नान गर्नेहरूले नै बदल्ने हुन् इतिहास । र, तिनैले राख्ने हुन् इतिहासमा नाम जो अनेकन् उल्झनहरूलाई सुल्झनमा रूपान्तरित गरी अभेद्य लक्ष्यलाई अर्जुनदृष्टि बनाइरहेका हुन्छन् ।

०००

कुलदीपक प्रकट भयो, वि. सं. २०१३, भाद्र ३ गते पहाडे रङ्गले मात्र रङ्गिएको सप्तरीको कञ्चनरुप, बस्तीपुरमा । छेक थियो, श्रीकृष्ण जन्माष्टमीको । अकस्मात ढिम्किएका गेरुवस्त्रधारी एक जोगीले जुराए नाम– कृष्ण । परिवार र पण्डितलाई संभवतः जँचेन यो नाम र भए उनी खेमराज । यतिखेर अतीततिर बतासिएर घोत्लँदा चिमोटिरहन्छ उनलाई एउटा यस्तो संशयले, यदि उनले धरा नटेकेको भए सायद उनकी सौतेनी आमाले दैलोठेलो टेक्थिन् । केवल तीन दशकमा दस सन्तान जन्म दिएकी आमाको के गत हुँदो हो त्यसपछि ? अद्यापि तिलमिलाउँछ उनको खप्पर र तिर्मिराउँछन् एक जोर नयन एकैसाथ ।

बुबाको लगनगाँठो खोटाङतिरै कसियो । वरवधूको जोडी नै साक्षर । कमाइ मध्यम भए पनि आखिर रोटीको आकार उत्रै हुने हो क्यार । जेनतेन गृहस्थी चल्दै थियो । पुरातन प्रचलनअनुसार नै पाठशाला गए उनी पनि आम बालकहरूको पदचाप पछ्याउँदै । जिन्दगीको किताबमा सबैभन्दा सुन्दर पाना त बाल्यकालका न हुँदारहेछन् । करेसादेखि अलिक परमात्रको दूरी । दुई कक्षामा अनुत्तीर्ण भएपछि पढ्नकै निम्ति रिसको आवेगमा हान्निए उनी एक घण्टाको पैदल दूरी । बर्मा गए पनि कर्म सँगै ! गोडा दुएक चोटि प्रवेशिकाको फलामे प्रवेशद्वारले अवरोध ग¥यो उनलाई । त्यतिखेरको प्रवेशिका परीक्षामा हुने अनियमितता र अमर्यादित प्रयत्नका परिदृश्यले नेपालको समकालीन शिक्षा र येनकेन प्रकारेण प्रमाणपत्र पाउनै पर्ने पुरातन मान्यताको लज्जास्पद परिहास प्रतिविम्बन गर्छ । ‘तपाइँको लक्ष्यमा जबसम्म समाज हाँस्दैन तबसम्म तपाइँको लक्ष्य उल्लेखनीय रहेनछ’ भनेर बुझ्नुपर्छ । उनको चोरेर पास नगर्ने ढिपीका कारण उस बखत सायद भित्रभित्र मान्छेहरू हाँसे होलान् । परिहास गरे होलान्, मूलतः बाबुको नाम र इज्जत जोडेर । परन्तु असफल हुन नै किन नपरोस् यस्ता लाज पनि लजाउने हर्कतबाट परै रहन चाहे उनी । तेस्रो पटक परीक्षा केन्द्र परिवर्तन गरेपछि मात्र छिचोले उनले फलामे प्रवेशद्वार । कम्ती धामा भएन उनलाई उतिखेर ।

त्यसपछि उच्च शिक्षाको ढोका ढकढक्याउन हानिए महेन्द्र विन्देश्वरी कलेजतर्फ । मानविकी सङ्कायमा प्रवीणता प्रमाणपत्र र स्नातक तह तुरे उनले सोही महाविद्यालयबाट । प्रश्नोत्तर घरमै बसेर लेख्न पाइने र मूल्याङ्कनका व्यावहारिक विधि अपनाएर जसरी हुन्छ उत्तीर्ण गराउने आम प्रचलन नै थियो उति बेला ।

०००

छ महिना विनाइलम घरमै थन्किएपछि थाहा लाग्यो उनलाई दीक्षित गर्ने प्र.अ. त ओखलढुङ्गामा जिल्ला शिक्षा अधिकारी पो रहेछन् । त्यतैकतै निमाविमा शिक्षक बन्न उनलाई आग्रह गरियो । ठाडै नकारे त्यो अनुनय उनले जसरी उनको प्रमाणपत्र प्रमाणित गर्ने बेला भुइँतिर मिल्काइदिएका थिए, एक शाखा अधिकृतले ।

भोको पेट र खाली खल्तीले सिकाएको पाठलाई शिरोपर गर्दै २०३७\३८ ताक पुगे उनी दुर्छिमडाँडा । खोटाङको आफ्नै पुख्र्यौली थातथलोको हाई स्कुलमा जागिरको प्रारम्भमै प्र.अ. नियुक्त भए । लागिरहन्थ्यो उनलाई– ‘कमाउन नसके पनि जोगाउन सिक्नुपर्छ चाहे त्यो पैसा होस् वा सम्बन्ध ।’

यसैबीच सप्तरीमा एकजना प्र.अ.लाई कुटपिट गर्ने, कालोमोसो दल्ने र अपहरण गर्ने घटना घट्यो । केही स्थानीयलाई ज्यादतीपूर्ण तवरले अन्धाधुन्ध गिरफ्तार गर्न आदेश दिए, तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङले । आखिर पञ्चायतकाल न थियो । जङ्गेले बोलेपछि बोल्यो, बोल्यो ! उक्त घटनामा संलग्नता रहेको भन्दै खोटाङमा काम गरिरहेका खेमराजलाई झुटो अभियोग लगाइयो । बस्तीका स्थानीय जमिन्दारहरूले खुलेरै उनको पक्षमा पैरवी गरे पनि टसको मस भएनन् गुरुङ । जागिरबाट खेमराजलाई बर्खास्त गर्न जिशिकालाई परिपत्र गरे गुरुङले । अञ्चलाधीशको सोही परिपत्रानुसार भविष्यमा अयोग्य नहुने गरी उनको जागिर चट भयो । तत्पश्चात् उनलाई प्रहरीको उच्च तहमा भर्ती हुने भूत चढ्यो तथापि खोलेको विज्ञापन रद्द भएपछि त्यो सपना पनि हुत्यायो संयोगको हुरीले ।

अब कति गाउँमै रल्लिने ? विचार फु¥यो नेपाल खाल्डो छिर्ने । एउटा मारवाडीको व्यापारिक फर्ममा काम मिल्यो । गोजेरो भर्ने मेलो त तय भयो किन्तु थप अध्ययन दोबाटोको बुर्की ! गान्धी डिभिजनका सहपाठीले स्नातकोत्तर गर्दै गरेको देखेपछि प्राइभेट दिएरै किन नहोस् आफू पनि सोही उपाधि हासिल गर्न कम्मर कसे उनले । अनेक नीला चलचित्रका रिल मगाउनेदेखि गैरकानुनी करछली गर्नसमेत उनैलाई उक्साएपछि परित्याग गरे नाथे काम । ‘सबै सबै गुमाएर पनि यदि तपाइँसँग हौसला छ भने सम्झिनुस् तपाइँले केही गुमाउनुभएको छैन’, यस्तै कुरा खेल्थे उनको मनमा ।

०००

एकलभन्दा युगल जीवन उपयुक्त होला भन्ने ध्येयले जोडी बाँधे । संयोगवशः वीरेन्द्र क्याम्पस भरतपुरमा इतिहास अध्यापकको पद रिक्त रहेकाले त्यहीँ जागिरको मेलो मिलाए रूद्रप्रसाद उपाध्यायले । उता त्रि. वि. आयोगको परीक्षामा पनि पास । एकै पटक चिची पनि पापा पनि ! अब उनको पदबहाल भयो पृथ्वीनारायण क्याम्पस, पोखरामा । गोडा पाँचेक वर्ष त्यतैतिर बिताएपछि सरूवा मागे आफ्नै भेग अर्थात् पूर्वतर्फ । पश्चिमाहरूको किरन्टोकी संस्कार र चुइयाँ संस्कृति किञ्चित हजम भएन उनलाई । धक फुकाएर खानपिन गर्नुपर्ने उनको संस्कार सायद जँचेन त्यतातिरका मान्छेहरूलाई । यही शीत युद्धमाझ उनी विराटनगर सरूवा भए । एकातिर पुस्तक तथा निर्माण सामग्री व्यापार अर्कातिर प्राध्यापन । दुवै हातमा लड्डु ! केही समयपछि तत्कालीन एमालेको गुटीय स्वार्थको कोपभाजनबाट पद्मकन्या क्याम्पसमा पुनः सरूवा भए । बाध्यताका अघिल्तिर रहरहरूको घुँडा टेकाइ ! लाग्यो– “मान्छेहरू आफैँ लडाउँछन् र सोध्छन्– ‘कठै ! चोट त लागेन ?’” भित्तामा पात्रो फेरिएझैँ फेरिए पीडा दिने पात्रहरू पनि ।

बिहान कलेज । दिउँसो सडक । पचासौँ ठाउँमा व्यक्तिगत विवरण (बायोडेट) पेस्दासमेत कतैबाट भएन खैखबर । विराटनगरको घर बिक्री भएको कालखण्ड । चुच्चेपाटीमा सुसञ्चालित एउटा निजी स्कुल किन्ने रहर जाग्यो उनलाई । दाम चार लाख तोकियो । मानसिक अन्तरद्वन्द्व मडारिन थाल्यो रातदिन । निल्नु न ओकल्नु झैँ भयो । अन्ततः स्कुल नकिनी अमेरिका भासिने चाहले घर गर्न थाल्यो । रहरले मात्र डहर खन्न नसकिने ! दस हजारमा थोत्रो कम्प्युटर खरिदे र रट्न थाले कम्प्युटर ज्ञान । यसैबीच जुक्ति पनि फु¥यो । कुनै स्थानको तुलनात्मक सांस्कृतिक अध्ययन गर्ने । चाको सांस्कृतिक संरक्षण केन्द्र र लुम्बिनी सांस्कृतिक संरक्षणबीच विशद तुलनात्मक अध्ययन । प्रस्ताव तयार भयो र पेसियो पानीपोखरीमा अवस्थित अमेरिकी दूतावासमा । प्रायोजक को राख्ने ? भए द्विविधाग्रस्त । मर्केन्टाइलले कसो कसो रुचि राख्यो र आकाङ्क्षा परिपूर्ति हुने छेकछन्द देखियो । स्वीकृति पत्र र बैङ्कको फेहरिस्त दिन किञ्चित आनाकानी गरेन बैङ्कले । बिनाहिचकिचाहट दियो लाहाछाप लागेको पत्र । यो परिघटना हो, वि.सं. २०५९ ताकको ।

यता भर्खर भर्खर तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो । उता उत्कर्षतिर थियो तत्कालीन माओवादी जनयुद्ध । उनको भने एउटा मात्र अभीष्ट थियो– ‘अलिक डलर बटुल्ने र मातृभूमि फर्कने ।’ ग्याँस स्टोरमा काम त मिल्यो किन्तु भाषाको कठिनाइले चयनको सास फेर्न भने दिएन । न अङ्ग्रेजीमा काबिल न स्पेनिसको भेउ । टेक्ससमा रात्रिकालीन काम । एकपटक त लुटेराले झन्डै लिए ज्यान । दुई बजे राति आएका दुईमध्ये एउटा लुटेराले सिगार माग्यो र अर्काले तुरुन्त बन्दुक तेस्र्यायो उनको कन्चटमा । डरका मारे उनी लुगलुग काम्न थाले । लुटेराले सबै नगद गुट्मुट्याए । बटन दबाउनासाथ आएका सुरक्षाकर्मीले समेत पक्राउ गर्न सकेनन् डाँकालाई । ज्यान जोगाउनै धौ । त्यताको स्थायी बासिन्दा बन्ने सोच गर्दा एउटी हब्सीसँग नक्कली लगनगाँठो कस्नु पर्ने भो । अर्कातिर वास्तविक जीवन सङ्गिनीलाई थाहा दिनै नहुने ।

बिलखबन्धमा परे उनी । त्यस्तै प्रस्ताव उही कालखण्डमा एउटै कम्पनीमा काम गर्ने अमेरिकी महिला फ्रान्सिसीले पनि गरी । अझ उसले त बिहे गरेर उसकै घरमा बस्न आमन्त्रणसमेत गरी । खै के भो भो । आकाशभन्दा फराकिला सपना अटाएका ती तेजिला नयनमा त्यस बखत दुई थोपा आँसु पनि अटाउन सकेनन् र झरे बरबरी । एक मनले भन्यो– ‘ए, ख्यामे ! तँ, तँ जस्तै बन्, अरु जस्तो त अरु नै बनि सके नि । बन्नु छ भने पानी जस्तो किन बन्दैनस् जो आफ्नो बाटो आफैँ खोज्ने गर्छ ? किन बन्नु पहरा जस्तो जसले अर्काको बाटो पनि रोकिदिन्छ ?’ नानावली कुरा खेल्न थाले । यही अन्तस्करणको आवाज शिरोधार्य गर्दा हठात् परिवर्तित भयो उनको निष्कर्ष र कसैलाई थाहा नदिई फर्के मातृभूमि नेपाल । नाता सम्बन्धको आयतन पनि अजिबको छ । उनीहरू लम्बाइ र चौडाइ त नाप्छन् तथापि गहिराइ भने बिरलैले खुट्याउँछन् । नाफाको आधा हिस्सा अर्पण गर्ने कसम खाँदा पनि आफ्नो निर्णयबाट टसको मस भएनन् उनी । सोचे– ‘भाइ, ऐनामा देख्ने मान्छेलाई खुसी बना पहिले !’ फर्के नेपाल र पुनः थाले कलेजका कामकाज । प्रारम्भ भयो पूर्ववत् दैनिकी । करिब पाँच वर्षमा – आधुनिक भारतको सङ्क्षिप्त इतिहास, पर्यटन र विकास, आधुनिक भारतको इतिहास, सुदूर पूर्वको चीन–जापानको इतिहास, आधुनिक नेपालको इतिहास, नेपालमा पर्यटन व्यवस्थापन, पञ्चायतको इतिहास, संविधानसभाको इतिहास, गणतन्त्रको इतिहास, र नेपाली धर्म र संस्कृति गरी दसवटा पुस्तक लेखे । यति गर्दा पनि प्राध्यापकमा बढुवाको कुनै गुञ्जाइस देखिएन । भरङ्गियो मन । उनलाई आभास भयो– बढुवा नगरिनु फगत राजनीतिक कारण थियो । अझ प्रस्ट भन्नुपर्दा विश्वविद्यालयीय सत्ताको ताबेदारी नपुग्नु हो भन्ने भान भयो । तत्काल याद आयो उनलाई चाणक्य कथन–

यस्मिन् देशे न सम्मानो न वृत्तिर्न च बान्धवाः ।
न च विद्यागमोऽप्यस्ति वासं तत्र न कारयेत् ।।

अर्थात्, त्यस्तो देशमा किमार्थ बास नगर्नू जहाँ सम्मान छैन, जीविकोपार्जनको इलम छैन, बन्धुवर्ग छैन र ज्ञानार्जनको मेलो छैन ।

०००
जीवनकै बाटो बदलियो यो परिघटनाले । साहित्यतर्फ लहसिए उनी । एक दशक बितेछ उनले उतिखेरको अप्रिय र अहिले सुप्रिय लाग्ने निष्कर्ष निकालेको कालखण्ड । पहिले संस्मरण प्रकाशन गर्ने जाँगर चल्यो । ‘सबैथोक छ, केही छैन’ निबन्ध सङ्ग्रह पाठकमाझ ल्याए २०६६ सालमा । अबको मार्ग साहित्यिक राजमार्ग नै हो भन्ने भान हुन थाल्यो अन्तस्करणमा । अनि अढाई दशक धुलोको खास्टो ओढेका कवितालाई टङ्कण गर्ने र थप परिमार्जित गर्ने मोह बढ्यो । जन्मियो– बुढो सिमल । अब आख्यान पो किन छोड्ने ? आखिर न सजायको डर न इनामको आशा । बोल्यो– बहुआयामिक जेहन । अब त फेसबुकको लतै बसि पो सकेछ थाहै नपाई । लघुकथा कुनोका नियमित पाठक बने उनी ।

यसो आफूलाई पनि परीक्षण गर्न मन लाग्यो र एकदिन आफ्नै लघुकथा पोस्ट गरे ‘लघुकथा कुनो’मा । बग्रेल्ती आएका अनेकखाले प्रतिक्रियाले उनलाई पुलकित पा¥यो । पाठकीय प्रतिक्रियालाई शिरोपर गरी नियमितता दिए लघुकथा लेखनीलाई । अब उपन्यासमा किन हात नहाल्ने त ? पाठकीय प्रोत्साहन उनलाई अमृतसरि भयो र लेखे– युगद्वन्द्व । साझाले पाठकमाझ पु¥याउने कसम खाएको सार्वजनिक हुन बाँकी यो उपन्यास धुलोको खातमुनि छ वा प्रकाशनको लाइनमा उपन्यासकार स्वयम् अनभिज्ञ छन् यतिखेर । उसो त फूलको काम फुल्ने न हो, फुलिरहन्छ । मेरो सौरभको मूल्याङ्कन भएन भनेर कहिल्यै कचकच गर्दैन । निजी प्रकाशन गृहतिर दिऊँ तिनले गरेका इलिमिलीप्रति पनि उनी त्यस अगावै प्रस्ट थिए । चार सय प्रति छापेर हजार प्रति छापेँ भन्ने प्रकाशकसँग पनि उनले सङ्गत गरेछन् पत्तै नपाई । कालक्रममा प्रकाशनको सहयात्री र हिस्सेदार बन्यो मोलुङ फाउन्डेसन । प्रतिष्ठान आफैँ दुर्बल भए पनि प्रकाशनमा जटिलता थिएन किनकि परोक्षरुपमा आर्थिक मामला सर्जककै काँधले थेग्नुपर्ने थियो त्यहाँ ।

०००
त्यसो त स्वमूल्याङ्कनमै पनि सकारात्मक मान्छे उनी । तर ममतामयी मातालाई अर्बुदरोग लागेको भनी चिकित्सकले जानकारी गराएको दिन भने भावविह्वल नै भए उनी । फनफनी घुमेझैँ लाग्यो टेकेको धरा र सम्हाल्न निकै सकस भयो आफैँलाई । दशकौँसम्म एन्टिबायोटिकको अधिक सेवनले अर्बुदरोग लागेको भन्ने चिकित्सकले अवगत गराए । परन्तु अर्बुद रोग होइन भन्ने निश्चित भयो नयाँ दिल्लीमा । अनि हाल्न पाए शान्तिको सुस्केरा । खुसी त परिस्थितिजन्य न हुँदोरहेछ । अहिले त सबै छोरी र ज्वाइँको कमत आकर्षक छ र हृदय पनि फराकिलो । संयोगवशः सबै ज्वाइँहरू तत् तत् घरका एकल छोरा पनि । चाहेमा उनीहरूले खेमराजको आर्थिक बोझ सहजै थेग्न सक्ने भूमिकामा छन् । र, त आशावादी छन् उनी । आफ्नो निवृत्तिभरण त यसै पनि छँदैछ ।
०००
अबको योजना भने लेखन नै हो– सगर्व सुनाउँछन् उनी आफ्ना भावी योजना । आगामी दिनमा अब्बल लघुकथाकारको छवि छोड्नुछ उनले । किन्तु कथा, नियात्रा र संस्मरणलाई पनि ध्यान दिने ध्येय अद्यापि जब्बर छ । मूल अभीष्ट चाहिँ ‘आफ्नै पृथक् र नवीन गोरेटो खन्ने अर्थात् अलग धार पक्रने ।’ र मित्रताको अझ बलियो जग बसाउने । हरपल लागिरहन्छ उनलाई– ‘घमन्ड वा पेट जब कसैको बढ्छ, उसले चाहेरै पनि सहृदयीसँग अङ्कमाल गर्न सक्दैन ।’ बाँकी जीवनको अभिलाषा छ– ‘च्यातिएका पानालाई पनि प्रेमपूर्वक टाँस्दै जीवनरुपी पुस्तकमा नयाँ आवरण लगाउँदै जाने ।’ हुन पनि त हो, यदि मरेपछि पनि जिउनु छ भने या त पढ्नलायक केही लेखेर जाने वा लेख्न लायक केही गरेर जाने !

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!