नेपालका लागि नयाँ अमेरिकी राजदूतमा सिफारिस डिन टम्पसनको नियुक्ती प्रस्ताव वैदेशिक सम्बन्ध समितिबाट पारित भएको छ । अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिबाट नेपालका लागि राजदुतमा डिन टम्पसनको नियुक्ती प्रस्ताव पारित भएका हो ।
ह्वाइट हाउसले अप्रिलको पहिलो साता सिनेटमा पठाएको टम्पसनको नियुक्तीको प्रस्ताव गत साता सिनेटको वैदेशिक सम्बन्ध समितिमा सुनुवाई भएको थियो ।
मंगलबार सिनेटको वैदेशिक सम्बन्ध समितिले नियुक्तीका पक्षमा रिपोर्ट गर्न आदेश दिएकोमा सिनेटर बब मेनेन्डेजले टम्पसनको नियुक्ती प्रस्तावमाथी रिपोर्ट पेस गरेका थिए ।
नेपालका लागि नयाँ राजदूतमा डिन टम्पसनलाई नियुक्तीको प्रस्ताव गत मार्च २९ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका थिए । २५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनको नियुक्तीलाई सिनेटको बुधबारको कार्यकारी क्यालेण्डरमा राखिएको छ ।
बुधबारै सिनेटबाट अनुमोदन हुने अपेक्षा गरिएको टम्पसनको नियुक्ती सिनेटको क्यालेण्डर नम्बर १०६१ मा राखिएको छ ।
सिनेटको समितिमा भएको सुनुवाईपछि नियुक्तीको प्रस्ताव पारित गर्ने प्रावधान रहेको छ । टम्पसनले अगस्टबाट नेपालका लागि अमेरिकी राजदूतका रुपमा कार्यभार सुरु गर्ने अपेक्षा गरिएको टम्पसनकले यस अगाडि अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरेका थिए ।
सन् २०२० देखि सन् २०२१ सम्म उनले यो क्षेत्रका लागि कार्यवाहक असिस्टेन्ट सेक्रेटरीका रुमा काम गरेका थिए ।
नेसनल वार कलेजबाट राष्ट्रिय सुरक्षा रणनीतिमा एमएस गरेका टम्पसनले स्प्रींगफिल्ड ओहायोको विटेनबर्ग युनिभर्सिटीबाट बीए गरेका थिए ।
त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख रहेका टम्पसन रोमानियास्थित अमेरिकी दूतावासमा पनि काम गरेका थिए । कलकत्तामा अमेरिकी महावाणिज्यदूतका रूपमा अमेरिकी विदेश मन्त्रालयको सचिवालय, अपरेसन सेन्टरलगायत विभिन्न ठाउँमा काम गरेका उनको नियुक्तीलाई लिएर अमेरिकाबासी नेपाली समुदायमा पनि चासो बढेको छ ।
प्रतिक्रिया