US Khabar

बिपी कोईरालाको अमेरिका साईनो।

- SONYSHA THAPA , TEXAS | २ महिना पहिले प्रकाशित

बिपी कोईरालाको अमेरिका साईनो।

आज साउन ६ गते बिपी स्मृति दिवस।

आजभन्दा करिव ४१ बर्ष अगाडी वि.सं. २०३९ साल साउन ६ गतेका दिन नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोईरालाको निधन भएको थियो। वि.सं. १९७१ साल भाद्र २४ गते जन्मिएका कोईरालाको २०३९ मा निधन हुँदा उनी ६८ बर्षका थिए। क्यान्सरको विरामी सहित अन्य रोगबाट थलिएका कोईरालालाई उपचारका लागि थाईल्यान्ड पुर्याईएकोमा उनलाई नेपाल ल्याए लगत्तै उनको निधन भएको थियो।

बिपी कोईरालाको अमेरिका साईनोका बारेमा यस लेखमा चर्चा गर्न खोजिएको छ। बिपी कोईराला आफ्नो ६८ बर्ष लामो जीवनकालमा जम्मा जम्मी ४ पटक अमेरिका आएका थिए। पहिलोपटक उनी नेपालको पहिलो निर्वाचित प्रधानमन्त्रीका रुपमा संयुक्त राष्ट्रसंघको साधारणसभामा सम्बोधन गर्न न्युयोर्क आएका थिए। त्यस्तै आफ्ना जीवनका अन्तिम बर्षहरुमा विरामी रहेका उनी बिशुद्ध औषधोपचारका लागि तीनपटक सम्म न्युयोर्क आएका थिए। उनको उपचार न्युयोर्कमा चलेको भए पनि उनी राजधानी वासिङ्टन डि.सी. सम्म पुगेका थिए।

आजभन्दा करिव ६२ बर्ष पहिले झन्डै ४५ बर्षको उमेरमा उनी अमेरिका आउँदा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री मात्र होइन, लामो समय सम्म जहानियाँ राणा शासनबाट पिल्सिएको नेपाललाई त्यसबाट मुक्त गरेर नेपालाई आधुनिक बाटोमा हिँडाउने क्रान्तिका नायक र एक सुधारवादी प्रधानमन्त्रीका रुपमा आफ्नो बैश्विक छवि कायम गर्न सफल भएका थिए। संयुक्त राष्ट्रसंघको १५ औं साधारणसभालाई सम्बोधन गर्दा उनले त्यसबाट अन्तर्राष्ट्रिय जगतको ध्यान खिच्न सफल भएका थिए। त्यतिबेला संयुक्त राष्ट्रसंघमा ३ जना महासचिव राख्ने शोभियत संघको प्रस्ताबको उनले बलियो तर्क सहित त्यसको औचित्य नहुने भन्दै खारेज गरिदिएका थिए। त्यही भाषणमा उनले त्यतिबेला कायम बैश्विक समस्याहरु प्रती समेत आफ्नो स्पस्ट दृष्टिकोण प्रकट गरेका थिए। तिनमा अफ्रिकी मुलुकहरुमा रहेको रंगभेद र औपनिवेशिक समस्यालाई हल गर्नुपर्ने त्यो युग सुहाउँदो नरहेको उनको टिप्पणी थियो।

उनले त्यही अन्तर्राष्ट्रिय मञ्चको प्रयोग गर्दै नेपालले अपनाउँदै आएको असंलग्न र स्वतन्त्र परराष्ट्रनितीलाई अंझ स्पस्टताका साथ त्यहाँ विश्वसमुदाय समक्ष प्रस्तुत गरेका थिए। नेपालको विकास निर्माणका लागि बैदेशिक स्रोतको आवश्यकता रहेको तर त्यो सर्त रहित हुनुपर्नेमा उनको जोड थियो। उनको ब्यक्तित्व र सम्बोधनवाट त्यतिबेलाका विश्वका दुई महाशक्ति अमेरिकाका राष्ट्रपति आईजनआवर र रुसका मन्त्रीपरिषद् अध्यक्ष निकिता ख्रुश्चेव दुबै असाध्यै प्रभावित भएका थिए। ती दुबैजना नेताहरुसंग बिपी कोईरालाको भेट भएको थियो। ख्रुश्चेव संग उनले धेरैपटक भेटेको भए पनि अमेरिकी राष्ट्रपति आईजनआवर संग भने उनले एकपटक मात्र भेटेका थिए। तर आईजनआवर संगको त्यो भेट अचेल संयुक्त राष्ट्रसंघको साधारणसभामा पुग्ने नेपालका प्रधानमन्त्रीले एउटा फोटो खिचाउने र भेटको समय फोटो खिच्दाभरको अवधिका लागि मात्र थिएन। २२ सेप्टेम्बर १९६० को अपराह्न ३:३० मा नेपालका प्रधानमन्त्री बिपी कोईराला र अमेरिकाका राष्ट्रपति ड्वाइट डेभिड आइजनआवरका बीचमा प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता भएको थियो। त्यस्तै बिपी कोईरालाले त्यहाँ दिएको एउटा दिवा भोजको कार्यक्रममा ख्रुश्चेव आफै स्वयं उपस्थित भएका थिए। न्युयोर्कमा आफ्नो ब्यक्तित्व र प्रस्तुतिबाट विश्वका नेताहरुलाई समेत प्रभावित पारेर नेपाल फर्किएको केही समयमा नै नेपालमा राजा महेन्द्रले पुस ०१ को कदम उठाए। जननिर्वाचित संसद समेत बिघटन गर्द राजा महेन्द्रले अवैध रुपमा निर्वाचित प्रधानमन्त्री बिपी कोईरालालाई समेत अपदस्थ गर्दै जेल चलान गरेपछि त्यही नै प्रधानमन्त्रीका रुपमा भने पहिलो र अन्तिम न्युयोर्क अमेरिका यात्रा बन्न पुग्यो।

सन् १९६०-६८ सम्म ८ बर्ष नेपालको जेलमा, सन् १९६८-७६ सम्म अर्को ८ बर्ष भारतमा स्वनिर्वासनमा रहेका बिपी सन् १९७६ को डिसेम्बर अन्त्यमा नेपाल फर्किए। नेपाल आउनासाथ विमानस्थलबाटै उनलाई पुनः गिरफ्तार गरेर जेल चलान गरियो।जेलमा उनी असाध्यै विरामी परेपछि शाहीचिकित्सक मृगेन्द्रराज पाण्डेको सल्लाहमा राजा बिरेन्द्रले उनलाई सन् १९७७ को जुनमा उनलाई रिहा गरे। उनलाई सरकारले लगाएको मुद्दा हालका लागि थाती दाखेर उपचारका लागि अमेरिका जाने र अमेरिकाबाट फर्किएपछि जेलमा नै रहेर पुनः मुद्दाको सामना गर्ने एक किसिमको सहमतिमा मानवीय आधारमा उनलाई रिहा गरिएको थियो। ०९ जुन १९७७ मा नेपालबाट रिहा भएका बिपी सोही दिन काठमाण्डौंबाट दिल्ली प्रस्थान गरे। ११ जुनमा दिल्लीबाट मुम्बई र १२ जुनमा मुम्बईबाट न्युयोर्कका लागि उडेका उनी १३ जुनको अपराह्न तीन बजे न्युयोर्क ओर्लिएका थिए। न्युयोर्कमा उपचारका लागि बिपीलाई सरकारले १० हजार अमेरिकी डलर उपलब्ध गराएको थियो। न्युयोर्कमा बिपी आफ्ना भाञ्जा शैल उपाध्याय कहाँ बसेका थिए। उपाध्याय त्यतिबेला संयुक्तराष्ट्रसंघीय नियोगमा कार्यरत थिए। न्युयोर्कमा त्यतिबेला बिपीलाई सहयोग गर्ने नेपालीमा डा. सुकदेव शाह थिए। केही बर्ष अघि मात्रै निधन भएका शाह त्यतिबेला विश्वबैंकमा जागिरे थिए र उनले बिपीको उपचारमा १० हजार अमेरिकी डलरको सहयोग गरेका थिए।

यतिबेला बिपी कोईराला नेपाल सरकारका बन्दी थिए। तर मानवीयताका आधारमा रिहा गरि उपचार गर्नका लागि पठाईएका एक बिरामी थिए। उपचारका लागि पुगेका बिरामी बिपी कोईराला प्रती त्यतिबेला पनि अन्तर्राष्ट्रिय स्तरबाट धेरै साथ र शुभेच्छा थियो। उनले तीन पटक नै अमेरिकाका राष्ट्रपति र संयुक्त राष्ट्रसंघका महासचिवलाई भेट्न खोजेको भए पनि त्यो भेट हुन सकेन। तर राष्ट्रपति र महासचिव दुबैका तर्फबाट उनको स्वास्थ्यबारे चासो लिने काम भने भईरहेको थियो। त्यही जुलाई महिनामा न्युयोर्कमा मुटु रोग विशेषज्ञ डा. नोरमान ब्राचफेल्डले बिपीको शल्यक्रिया गरेका थिए। त्यस्तै ५ अगस्टमा अमेरिकाको स्टेट डिपार्टमेन्टका अधिकारीहरुले बिपी संग भेटेका थिए।

२४ अगष्टमा अमेरिकाको पब्लिक ब्रोडकाष्टिङका तर्फबाट त्यहाँ बिपीको टेलिभिजन अन्तर्वार्ता प्रसारण भयो। त्यसमा बिपीले सोधिएका प्रश्नहरूको अत्यन्तै सपाटरुपमा उत्तर दिए। उनको अन्तर्वार्ताबाट प्रजातन्त्रका लागि उनको अथक संघर्ष , हिंसात्मक बाटो छाडेर प्रजातन्त्रका लागि उनले थालेको नयाँ शान्तिपूर्ण संघर्ष , नेपालमा प्रजातान्त्रिक ब्यबस्था पुनर्स्थापनाका लागि उनले खोजेको अन्तर्राष्ट्रिय नैतिक समर्थन , उनी विरुद्धका अभियोगहरुमा उनको भनाई , अबको कार्यदिशा लगायतका विविध पाटोमा सबैलाई उनको दृष्टिकोण स्पष्ट रुपमा बुझ्न मद्धत पुर्यायो। १३ जुनमा अमेरिका पुगेका बिपी २० अक्टोबरमा भारत फर्किए। ०८ नोभेम्बरमा नेपाल फर्किएका बिपी फेरी विमानस्थलबाट पक्राउ परे। बिपीका साथमा उनकी पत्नी शुशिला पनि अमेरिका पुगेकी थिइन्।

नेपाल फर्किएर बिपी जेलमा रहंदा सोही क्रीसमसमा अमेरिकाका २५ जना प्रतिष्ठित विद्वानहरुले एक अपिल मार्फत राजा समक्ष बिपीको रिहाईको माग गरेका थिए। बिपीको स्वास्थ्य अवस्था प्रति चिन्ता प्रकट गर्दै अमेरिकी राष्ट्रपति कार्टरले समेत राजा बिरेन्द्रलाई पत्र पठाएका थिए। अमेरिकन फेड्रेसन अफ लेबर एण्ड कांग्रेस अफ इण्डष्ट्रीयल अर्गनाइजेसन्सका अध्यक्ष जर्ज मिनिले समेत बिपीको रिहाईका लागि पहल गर्न भन्दै १२ जनवरी १९७८ मा राष्ट्रपति कार्टरलाई पत्र पठाएका थिए। बिपीको दोस्रो अमेरिका उपचार यात्राका क्रममा मिनीसंग उनको भेट भएको थियो।

१९७८-फेब्रुअरी-२२ का दिन बिपी कोईराला नेपालको जेलबाट रिहा भए र दोस्रो पटक पुनः उपचारका लागि अमेरिका तर्फ लागे। उनी भारत र लन्डन हुँदै १० मार्चमा न्युयोर्क पुगे। यसपटक पनि न्युयोर्कमा उनको उपचारका साथ साथै अमेरिकाका राष्ट्रपति र संयुक्त राष्ट्रसंघका महासचिवलाई भेट्न खोजेको भए पनि त्यो हुन सकेन। यसपटक पनि अघिल्लो पटक जस्तै स्टेट डिपार्टमेन्टका अधिकारीहरुसंग भने बिपीको भेट भयो। २६ जुनमा जर्ज मिनीसंग उनको भेट भयो। यसपटक उनी २ अगस्टमा दिल्ली फर्किए।

त्यसपछि उनी नेपाल फर्किए तर यसपटक उनी पक्राउ परेनन् किनकी उनी विरुद्धका सबै मुद्दामा उनले सफाई पाईसकेका थिए। बिपी कोईराला तेस्रो पटक १९ डिसेम्बर १९७७ मा न्युयोर्क पुगे। यसपटकको उनको बसाई झन् छोटो थियो। न्युयोर्कमा यसपटक पनि राष्ट्रपति र महासचिवसंग भेट भएन। अघिल्ला भेटहरु जस्तै यस पटक समेत स्टेट डिपार्टमेन्टका अधिकारीहरुसंग भने बिपीको भेट भयो। उनी लन्डन हुँदै २ मार्च १९७९ मा दिल्ली फर्किए। चौथो पटक सन् १९७९ सेप्टेम्बरमा उनी उपचारका लागि पुनः अमेरिका जाने चर्चा चलेको भए पनि त्यो यात्रा भने सफल हुन सकेन। त्यसपछिका दिनमा बिपी कोईराला जनमतसंग्रहको प्रचारका लागि खटिए। उनको स्वास्थ्य अवस्था झन्झन् खराब हुँदै गईरहेको थियो। त्यसपछिका दिनमा उनको उपचार भारत र थाईल्यान्डमा चल्यो। अन्तिमपटक थाईल्यान्ड पुर्याईएकोमा त्यहाँबाट डाक्टरले विदा दिएर उनलाई नेपाल फर्काईए लगत्तै उनको निधन भएको थियो। यसरी बिपी कोईराला आफ्नो जीवनकालमा चार पटक सम्म अमेरिका पुगे।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!