उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकता घोषणा भएको छ । सोमबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष समारोहमा उपेन्द्र यादव नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी नेपालबीच  एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा र एकतासम्बन्धी समझदारीपत्रमा उपेन्द्र यादव र बाबुराम भट्टराईले हस्ताक्षर गरिएको हाे ।

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।  पार्टीले ११ प्रदेशको माग अघि सारेको छ । दुई पार्टीबीच भएको ९ बुँदे सहमतिको ५ नम्बर बुँदामा संविधान संशोधन गरी ११ प्रदेशको रचना गरिनुपर्ने माग गरिएको छ ।

सहमतिपत्रको बुँदा नम्बर ५ मा भनिएको छ, ‘हामी नेपाललाई साँचो अर्थमा संघीय राज्य बनाउन प्रतिवद्ध छौं । यसका निम्ति संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी ११ प्रदेशहरुको रचना गरिनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’

सहमतिपत्रमा नेपालका सबै अल्पसंख्यक, सीमान्तकृत तथा राष्ट्रिय समुदायहरु मधेसी , आदीबासी जनजाती, शिल्पि, खस, मुस्लिम, थारुलगायतको सवालहरु सम्बोधन गरिनुपर्नेमा पनि जोड दिइएको छ । यस्तै विद्यमान पिछडिएको उत्पाद सम्बन्धको अन्त्य गरी आर्थिक विकास र समृद्धिको ठोस कार्ययोजना लागू गरिने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।

 

Comments

comments