US Khabar

तिहारको धार्मिक महत्व, भाई टिकाको शुभ साईत

- डा. शेखर पण्डित | १ महिना पहिले प्रकाशित

तिहारको धार्मिक महत्व, भाई टिकाको शुभ साईत

। श्रीगणेशाय नम: ।।
यमपञ्चक ( तिहार ) का कृत्यहरू
शुभ -दीपावली ( 2022 )को मङ्गलमय शुभकामना

लक्ष्मी बास गरुन् रिपुहरु डरुन् सन्मित्र धेरै बढून् ।
इच्छा पूर्ण गरुन् सदा भगवती लक्ष्मी खुसी भै रहून् ।।
यस्ता आशिष वर्षिउन् दिन दिनै सौभाग्यका साथमा ।
मेरो यै शुभ कामना छ सबमा दीपावली पर्वमा ।।१।।

हाम्रो नेपाली समाजमा राष्ट्रिय पर्वको रूपमा तिहार अर्थात् यमपञ्चक कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुक्ल द्वितीया सम्म ५ दिन विशेष उत्सव मानी दीपावली गरी मनाउने चलन छ । ५ दिन सम्म गर्नु पर्ने कर्महरू यस प्रकार छन् ।

१. कार्तिककृष्ण-त्रयोदशी (काक तिहार ) : —- बिहान कागलाई आफूले पकाएका अन्न भात, दाल, तरकारीहरू, टीका -अक्षता, फूल र पानी सहित एउटा बोहोतामा राखेर घर बाहिर कागले खान मिल्ने ठाउँमा
” काक ! त्वं यमदूतोऽसि गृहाण बलिमुत्तमम् ।
यमलोकं गतं प्रेतं त्वमाप्यायितुमर्हसि ।।”यो मन्त्र पढेर ” काकेभ्यो यमदूतेभ्यो नम:” भनी राखिदिनु पर्छ । साँझमा तुलसीको मठ नेर यमराजलाई वत्ती बल्नु पर्छ । मन्त्र यस प्रकार छ :–
मृत्युना पाशदण्डाभ्यां कालेन श्यामया सह ।
त्रयोदश्यां दीपदानात् सूर्यज: प्रीयतां मम ।।
अर्थ :– मृत्यु, पाश ,दण्ड, काल, श्यामाका साथ सूर्यपुत्र यमराज मसित प्रसन्न होउन् ।

. कार्तिककृष्ण-चतुर्दशी ( कुकुर तिहार, नरक-चतुर्दशी ) :– यस दिन सूर्योदय नहुँदै तेल लगाएर स्नान गर्नु पर्छ । स्नान गर्दा अपामार्ग ( दतिवन ) आफ्नो शिरमा वारं वार घुमाउनु पर्छ । घुमाउने मन्त्र :–
सीतालोष्टसमायुक्त-सकण्टकदलान्वित ।
हर पापमपामार्ग भ्राम्यमाण: पुन: पुन: ।।
अर्थ :– वारीमा हलोको सियोले जोत्दा निस्केको डल्लामा टाँसिएर रहने काँडादार पात हुने हे अपामार्ग ! म तिमीलाई शिरमा घुमाउँछु, मेरा पापहरू वारं वार हरण गर । यसै दिन कुकुर पूजा गरी अन्न( श्वानबलि ) दिने मन्त्र :–
द्वौ श्वानौ श्याम-शबलौ वैवस्वतकुलोद्भवौ ।
ताभ्यामन्नं प्रयच्छामि स्यातामेतावहिंसकौ ।।
अर्थात् वैवस्वतमनुको ( यमराजको ) कुलमा उत्पन्न भएका श्याम र शबल नामका यी २ कुकुरहरूलाई म अन्न दिन्छु । यिनीहरू अहिंसक बनुन् । यसै दिन यमराजका १४ नामले तर्पण गर्नुपर्छ , पिता हुनेले सव्य भएर , पिता नहुनेले अपसव्य भएर तर्पण गर्नुपर्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिएको हुनाले एउटा बोहोतामा ४ तिर फर्काएर वत्ती बाली पानीमा बगाउनु पर्दछ । यस दिन माषको पातको साग खानाले पाप नाश हुन्छ भनिएको छ ।
३. कार्तिककृष्ण- अमावास्या ( औंसी , लक्ष्मीपूजा , गाई तिहार ) :-
यस दिन बिहान गाईको पूजा गर्नुपर्छ र साँझमा दीपावली गरी लक्ष्मीको पूजा गर्नुपर्छ । गाईको पूजा गर्ने मन्त्र :–
“या लक्ष्मीर्लोकपालानां धेनुरूपेण संस्थिता
घृतंवहा च यज्ञार्थ्ये मम पापं व्यपोहतु ।।”
” अर्थात् ” लोकपालहरूको जुन लक्ष्मी हुन् उनै गाईरूपले रहेकी छन् । यज्ञको लागि घिउ दिने लक्ष्मीले मेरो पाप हरण गरुन् “

४. कार्तिकशुल्क- प्रतिपदा ( गोरु तिहार, गोवर्धन पूजा ) :- यस दिन आफूले पालेका गाई, गोरु, हात्ती , घोडा आदि सबै पशुहरूको पूजा गरिन्छ । गोवर्धनको पूजा गरी अन्नकूट (अन्नको थुप्रो ) को पनि पूजा गरी गोवर्धनमा चढाइञ्छ । अन्न बाली लगाउन सहयोग गरेकोमा आभार स्वरूप गोरुको विशेष पूजा गरी अन्न ( वृषबलि ) दान गरिन्छ । मन्त्र यस्तो छ :–
महादेवस्य भक्तस्त्वं गृहाण बलिमुत्तमम् ।
सर्वलोकहितार्थाय धर्मरूप ! नमोऽस्तु ते ।।
सबैले हिंड्ने बाटो वा सडक माथि मार्गपाली बन्धन ( कुश , कांस वा वावियाको डोरी बाँध्ने काम )पनि गरिन्छ ।
. कार्तिकशुल्क- द्वितीया ( यम द्वितीया , भाइ टीका (तिहार ) :- मध्याह्नकालमा यम यमुनाको पूजा गरी दिदी बहिनीहरूले दाजु भाइहरूलाई भाइ टीका लगाउने चलन छ ।

तिहारमा भाइ टीकाको साइत :— ( स्थानीय पात्रो अनुसार )
Oct 26 ,( बुधवार ) — बिहान 9. 00 देखि 10 . 25 सम्म — अमृत वेला
बिहान 11.45 देखि 1. 11 सम्म — शुभ वेला
दिउँसो 5. 15 देखि 6. 40 सम्म — लाभ वेला
तिहारमा भाइ टीकाको साइत :— ( नेपाली पात्रो अनुसार )
Oct 27 , ( बिहिवार )—- बिहान 7 . 40 देखि 9 . 00 सम्म — शुभ वेला
दिउँसो 1.11 देखि 2 . 30 सम्म — लाभ वेला
दिउँसो 2 . 30 देखि 3 . 55 सम्म — अमृत वेला
टीका लगाउँदा कता फर्कने ? :- दुवै दिन लगाइदिने दिदी बहिनी पूर्व फर्कने र लगाउने दाजु भाइ पश्चिम फर्केर लगाउँदा शुभ हुने ।

यी २ दिन मध्ये कुन दिन भाइ टीका लगाउने भन्ने कुरामा आफ्नो विचार , स्थानीय पात्रो अनुसार अथवा आफ्नो देश-कुल परम्परागत सनातन चलन अनुसार तपाइंको आफ्नो ब्रह्मले ( भित्री मनले ) जे देख्छ त्यही गर्नु होला । धर्म कर्म गर्नको निमित्त सबैलाई स्वतन्त्रता छ । आनन्दले तिहार मनाउनु होला । माता लक्ष्मीले सबैको जय कल्याण गरुन् । ॐ तत्सत् ।।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!