१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)का लागी नेपाली खेलाडीलाई बन्द प्रशिक्षण राखिने भएको छ ।नेपालले आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना गर्ने लागेको तेह्रौँ सागका लागी ६ सय भन्दा बढी खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको हो ।

हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जेठ पहिलो साताबाट बन्द प्रशिक्षणमा राखिने छ । सागमा नेपालबाट ६२५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने तय भएको छ ।

युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मा संयोजक रहेकोे प्रतियोगिता तयारी तथा व्यवस्थापन मूल समारोह समितिको बैठकले प्रतियोगिताको मस्कट र लोगो समेत पारित गरेको छ।

मस्कट र लोगोलाई केही दिनमा सार्वजनिक गर्ने तयारी रहेको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ। यस्तै बैठकले प्रतियोगितामा सहभागिता जनाउने देशलाई परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा पठाउने निर्णय गरेको छ ।

 

Comments

comments