– विष्णु नेपाल

विद्यालमा दिइने प्रजनन शिक्षाले महिलाको समग्र स्वास्थ्यमा परिवर्तन ल्याउँदोरहेछ भन्ने उदाहरण यहाँस्थित १७ वर्षीया किशोरी कमला कोलीले प्रस्तुत गरेकी छिन् ।

आफ्नी आमालाई परिवार नियोजनको अस्थायी साधन प्रयोग गराइ उनीले यहाँ परिवर्तनको नयाँ शुरुआत गरेकी छिन् । यहाँस्थित श्री पिपलकोट माध्यामिक विद्यालयबाट यस वर्ष माध्यामिक शिक्षा परीक्षा दिएकी कोलीले भनिन्, “भाइ जन्मेपछि आमा झन् बिरामी भइरहनुभयो । स्वास्थ्यचौकीमा लिएर गएँ । म्याम, सरले समेत परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा राम्रो हुन्छ भन्नुभयो । मैले पनि घरमा भनिसकेको थिएँ, आमाले मान्नुभयो ।”

३४ वर्षीया केवरा कोलीले आफ्नो घरमाथिको उदयदेव स्वास्थ्यचौकीमा आएका भिजिटिङ सर्भिस प्रोभाइडर्स (भीएसपी) मार्फत गत असोजमा परिवार नियोजनको अस्थायी पाँचवर्षे साधन इम्प्लान्ट लगाउनुभएको थियो । १३ महीनाको छोरा प्रिन्सलाई च्यापेर स्वास्थ्यचौकीमा भेटिएकी केवराले भनिन्, “महीनावारी गडबड भयो । अलिअलि रगत जान्छ । स्तन दुख्छ ।” “दिदी हजुरलाई इम्प्लान्टको सामान्य असर परेको हुनसक्छ । विस्तारै ठिक हुँदै जान्छ । पाठेघर, रक्तचाप ठिक छ, आत्तिनु पर्दैन ।” स्वास्थ्यकर्मी कलावती चौधरी, माधवी भट्ट र अस्मिता बोहराले स्वास्थ्य परीक्षण गर्न सल्लाह दिनुभयो ।

“पहिलोपटक अस्थायी साधन प्रयोग गरेँ । स्वास्थ्यचौकीमा अस्थायी साधन पाउन थालेपछि पनि कमजोर भइन्छ, देवीदेवतालाई पानी चढ्दैन भनेर लगाउन हुँदैनथ्यो भनिथ्यो ।” कलिलै उमेरमा आठ सन्तानलाई जन्म दिएकी केवराले भन्नुभयो । किन गर्नुभयो त ? “शरीर राम्रो भएमात्र खेतीपाती गर्न सकिन्छ । कमाइ गर्न सकिन्छ । सन्तानलाई हुर्काउन सकिन्छ । दिनभरि काम नगरी हातमुख जोड्न पुग्दैन । अब बच्चा पाउने चाहना छैन । जेठी छोरीले अस्थायी साधन प्रयोग गर्न भनिन् र श्रीमान्ले समेत सुझाव दिनुभयो”, उहाँले भन्नुभयो । दुई सन्तानलाई अकालमा गुमाएकी केवराका साथमा अहिले छ छोरी एक छोरा छन् ।

“स्वास्थ्य शिक्षामा प्रजनन, परिवार योजना, जन्मान्तर, परिवार नियोजनका स्थायी तथा अस्थायी साधन, पोषण, खोप, सरसफाइ, किशोरकिशोरीमैत्री शिक्षा पढेको थिएँ । पढेको कुरा आमालाई सुनाएँ । आमाले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नुभयो ।” विपन्न दलित समुदायका किशोरी कमला कोलीले भनिन् । दुईतल्लाको ढुङ्गामाटाको कच्ची घर । घरको भुइँतल्लामा एकहल गोरु, एउटा भैँसीको पाडी । माथिल्लो तलामा ती परिवारको बासस्थान ।

उनको परिवारलाई आफ्नो खेतीपातीको उब्जनीले मुस्किलले तीन महीना जीवन गुजार्न पुग्छ । अधिकांश समय भारतमा रोजगारीमा बिताउन विवश कमलाका ४२ वर्षीय पिता बहादुर कोलीले यसरी दुखेसो पोख्नुभयो, “छोरी स्वास्थ्यकर्मी बन्छु भन्छे कसरी पढाउनु खै ।” उहाँ गहुँ थन्क्याउन केही दिनअघि घर आउनुभएको थियो । विद्यालय तहमा दिइने प्रजनन शिक्षाले महिलाको समग्र स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याएको सो विद्यालयका प्रधानाध्यापक तेजबहादुर चन्द बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अभिभावकलाई शिक्षकले दिने जानकारीभन्दा आफ्ना छोरा÷छोरीले दिने जानकारी प्रभावकारी हुँदोरहेछ ।

स्वास्थ्यका सूचना, जानकारी हामी छात्र÷छात्रामार्फत पनि प्रवाह गर्छाैँ । परिवार नियोजनका स्थायी तथा अस्थायी साधनका बारेमा खुलेर आफ्ना अभिभावकलाई छात्र÷छात्राले भन्न सक्दछन् ।” विसं २०२६ माघ २६ गते स्थापना भएको सो विद्यालयमा कोली, दमाइ, लोहर, तिरुवा, धामी, साउद, महता, चन्द, खत्री समुदायका छात्र÷छात्रा बढी अध्ययन गर्दछन् । किशोरकिशोरीमैत्री शिक्षालाई विद्यालयले प्रवद्र्धनसमेत गरिराखेको छ । अर्काेतर्फ, उदयदेव स्वास्थ्यचौकीले परिवार नियोजनका पाँचै प्रकारका अस्थायी साधन अभाव हुन दिएको छैन । यसका लागि बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी) र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)को प्राविधिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा भीएसपी कार्यक्रमले सहयोग गरिराखेको छ ।

कार्यक्रमका जिल्ला संयोजक गणेश शाहीले बहिष्कृत, पछाडि परेका र जोखिममा रहेका महिलालाई परिवार नियोजनको लामो अवधिसम्म काम गर्ने सेवा इन्प्लान्ट र आइयुसीडीको पहुँचभित्र ल्याई परिवार नियोजनको मागलाई शून्यमा झार्ने तथा परिवार नियोजनका सेवालाई सुदृढ र सर्वसुलभ बनाई मातृ स्वास्थ्यमा सुधार ल्याउने ध्येय कार्यक्रमले लिएको जानकारी दिनुहुन्छ । अहिले बैतडीका ६८ वटै स्वास्थ्य संस्थामा भीएसपी कार्यक्रम सञ्चालनमा रहेका छन् ।

तालीमप्राप्त स्वास्थ्यकर्मीले परिवार नियोजनका अस्थायी साधन लिन चाहने महिलालाई नजिकको स्वास्थ्यचौकीमार्फत सेवा प्रदान गरिराखेका छन् । यसका लागि स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीका साथमा तीन घुम्ती टोलीलाई आवश्यकताअनुसार परिचालनसमेत गरिराखेको छ । गत वर्ष ९८९ महिलाले इन्प्लान्ट र आइयुसीडीको सेवा लिएका थिए ।

परिवार नियोजन सेवामा सजह पहुँच छैन

लामोसयम काम गर्ने परिवार नियोजनका अस्थायी साधन जन्म नियन्त्रणका लागि प्रभावकारी भए पनि नेपालमा यसको प्रयोग कमै हुने गरेको छ । महिलामा ती साधनका ज्ञान कम हुनु, सेवा प्रदायक सेवा लिन चाहने महिलासम्म नपुग्नु, ती सेवामा आवश्यक दक्ष स्वास्थ्यकर्मी नहुनुले पनि कम प्रयोग भएको हो । परिवार स्वास्थ्य महाशाखाका अनुसार परिवार नियोजनका साधन प्रयोग गर्ने विवाहिता महिलामध्ये ३.३ ले मात्र इम्प्लान्ट र १.४ ले आयुसीडी रोज्ने गर्दछन् ।

सीप भएका सेवा प्रदायकले मात्र ती सेवा दिन सक्दछन् । महिलाका लागि नजिकका स्वास्थ्य संस्था सेवा लिने स्थान भए पनि हिमाल १५, तराई र पहाडका २२ प्रतिशत स्वास्थ्य संस्थाले सो सेवा दिन सक्दछन् । अर्काे एक अध्ययनका अनुसार नेपालका ५० प्रतिशतभन्दा कम स्वास्थ्य संस्थाले मात्र परिवार नियोजनका ती सेवा दिन सक्दछन् । परिवार नियोजन सेवा कार्यक्रम शुरु भएको छ दशक बितिसकेको छ तर यसका प्रमुख सूचकहरु वर्षाैदेखि स्थिर रहेका छन् । यसले कार्यक्रम नै सङ्कटपूर्ण देखिएको छ ।

परिवार नियोजका अस्थायी आधुनिक पाँच प्रकारका साधनको प्रयोगदर बढ्न नसक्नु, परम्परागत विधिको प्रयोगकर्ता उल्लेख्य रुपमा बढ्नु, असन्तुलित दरमा प्रजननदर घट्नु र परिवार नियोजका साधन चाहेर पनि पाउन नसक्ने दर घट्नुले परिवार नियोजन सेवा सङ्कटमा परेको छ । ६० वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोग दर ४३ प्रतिशत माथि उक्लिन सकेको छैन । तर परिवार नियोजको साधन प्रयोग गर्नुपर्छ भन्ने ज्ञान भने ९० प्रतिशत माथि रहेको छ । परम्परागत विधिको प्रयोग ९.८ प्रतिशत, कूल प्रजननदर २.३ र अपरिपूर्त माग २३.७ रहेको छ । यी सूचक एक दशकभन्दा लामो समयदेखि स्थिर रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु ५० करोडभन्दा माथि र अन्तर्राष्ट्रिय दातृ निकायबाट रु पाँच अर्बभन्दा माथिको लगानी यस क्षेत्रमा गरिराखेको छ । रासस

Comments

comments