नवगठित समाजवादी पार्टीले सात वटै प्रदेशमा आमसभा गर्ने

5

काठमाडौँ । केहिदिन अघि नवगठित समाजवादी पार्टीले एकताको सन्देश प्रवाह गर्नका निमित्त सात वटै प्रदेशका मुख्य सहरमा आमसभा गर्ने भएको छ ।

समाजवादी पार्टीका सह-अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको हो ।

पार्टी एकीकरणपछि भएको पहिलो पदाधिकारी बैठकले काठमाडौँसहित देशका आठ सहरमा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

श्रेष्ठका अनुसार आगामी जेठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते वीरगन्ज, १७ गते भैरहवा, १८ गते नेपालगन्ज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गर्ने कार्यक्रममा पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

गत वैशाख २३ गते सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबिच पार्टी एकीकरण भई नयाँ समाजवादी पार्टी घोषणा गरिएको थियो ।

श्रेष्ठले प्रदेश र जिल्ला तहमा जनसङ्गठन एकीकरणलाई प्रभावकारी रूपमा अघि बढाइने बताए । समाजवादी पार्टीको प्रदेश नं ६ र ७ बाहेक सबै प्रदेशमा सङ गठन रहेको पनि उनले जानकारी दिए । हाल समाजवादी पार्टीका १९ सांसद छन् ।

Comments

comments