गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको सन्निकट निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिएका अमृतबाबु कट्टेलले आफ्नो उम्मेदवारी अमेरिकामा रहेका नव आगन्तुक, रोजगारीको खोजीमा रहेकाहरुको हितमा र आर्थिक सम्पन्नताका लागि आवाज उठाउनका लागि भएको स्पष्ट पारेका छन् ।

‘म दोहोरो कर, दोहोरो नागरिकताका कुरा गर्दिन, यो विषय हाम्रो छाता संगठन एनआरएन आइसिसीको हो । आइसिसी यही मुद्धामा अघि बढिरहेको छ । मेरो प्राथमिकता भनेको जसरी म अमेरिका आउँदा रनभुल्ल थिएँ, अब आउनेले त्यो अवस्था भोग्नु नपरोस् भन्नका खातिर हो,’ उनले यो प्रतिनिधिसँगको बताए ।

उनका अनुसार यतिखेर अमेरिकामा रहेका नवआगन्तुक नेपालीलाई कहाँ कस्तो प्रकारको रोजगारी प्राप्त हुन्छ, व्यबसाय गर्नका लागि कुन ठाउँमा के कस्तो कानुनी तथा नीतिगत व्यबस्था, सहुलियत छ भन्ने बारेमा जानकारी गराउने गरि डाटा बैंकको व्यबस्था गर्न जरुरी छ । जानकारीका अभावका नवआगन्तुकमात्र नभै पुराना नेपालीहरु समेत पीडित भैरहेको अवस्थामा एनआरएन अमेरिकाको ध्यान त्यतातिर जानुपर्ने मेरो ठहर हो ।

‘म ठूला एजेण्डा बोकेर हिँडेको छैन । ठूला एजेण्डा मेरो बलबुताको कुरो पनि होइन । म दुई वर्षे कार्यकालमा जे गर्न सक्छु, मेरो पदीय हैसियतले जे जस्तो अधिकार दिन्छ, मैले बोल्ने त्यो मात्र हो,’ उनले भने ।

उनका अनुसार यहाँका नेपालीहरुको हित कसरी हुन्छ ? के कस्तो शीप, शिक्षा, परामर्शको आवश्यकता छ भन्ने बारेमा बुझ्दै नबुझि कतिपय साथीहरु सस्ता एजेण्डा बोकेर हिँडेकोमा उनी आश्चर्य व्यक्त गर्छन् । ‘कतिपय साथीहरु सस्तो लोकप्रियताका लागि उता (नेपाल) को स्थानीय निकाय र यताको निकायबीच पुलको काम गर्ने भन्दै हिँडेका छन् । यो कुरा हाम्रो विधानले निर्देशित विषय हो जस्तो मलाई लाग्दैन,’ उनले भने ।

सन् २०१० मा अमेरिका आएका कट्टेल ओक्लाहोमामा सफल व्यबसायीका रुपमा परिचित छन् । मोटल, ग्याँस स्टेशन व्यबसायमा उनले हात हालेका छन् । उनको व्यबसाय टेक्ससमा समेत विस्तार छ ।

ओक्लाहोमाका बिभिन्न युनिभर्सिटीहरुमा सयौ नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । ती विद्यार्थीहरुलाई आवश्यक पर्दा रोजगारी लगायत क्षेत्रमा उनले सहयोग गर्दै आएका छन् । व्यबसायका लागि ओक्लाहोमा भर्जिन राज्यनै मानिन्छ । त्यही भएर अमेरिकाका अन्य राज्यबाट व्यबसायको खोजीमा आउने नेपालीहरुलाई उनले सहयोग गर्दै आएका छन् ।
‘ठूलो र गर्न नसक्ने कुरा बोलेर फाइदा छैन । गर्न नसक्ने कुरा बोलेर मलाई ढाँट्नु पनि छैन । हामीले जे जति गर्नुपर्ने यही अमेरिकाका रहेका तीनलाख नेपालीका लागि हो । उहाँहरुको हित हुने काममा एनआरएनले के गर्नुपर्छ मेरो एजेण्डा त्यही र त्यतै हुनेछ,’ उनले भने ।

दुई वर्ष अघि बोर्ड अफ डाइरेक्टरमा अत्यधिक मतले विजयी भएपछि उनले अमेरिकामा रहेका नेपालीहरुको हितका लागि एजेण्डाहरु उठाए । ‘हामीले एनआरएन अमेरिकाको परिचयपत्र त दिन थाल्यौँ, तर त्यसबाट कुनै डिस्काउन्ट, सुविधा दिँदा मात्र प्रभावकारी हुने कुरा मैले पटक पटक बैठकमा उठाएँ । तर धेरै समय दोहोरो कर, दोहोरो नागरिकतालेनै लिने रहेछ,’ उनले भने । यसपटक निर्वाचिन हुने मौका मिलेमा अमेरिकामा नेपाली समुदायको आर्थिक, सामाजीक हितका लागि रोजगारी, बीमा, डिस्काउन्ट लगायत थुप्रै एजेण्डाहरु उठाउने बताए ।

चितवनको व्यबसायीक परिवारमा जन्मेका कट्टेलले जीवनको दुई दशक विदेशमा बिताइसकेका छन् । जापान, बेलायत जस्ता देशमा बसेर पनि व्यबसायको अनुभव हाँसिल गरिसकेका छन् । उनको अनुभवमा अमेरिकामा एनआरएन जस्तो संस्थामा सबैको साथ र सहयोग भएमा तीनलाख नेपालीका लागि धेरै कामहरु गर्न सकिन्छ ।

‘म भाषणमा भन्दा काममा ज्यादा विश्वास गर्छु, त्यसो हुँदा अनावश्यक रुपमा समय खर्च नगरि नेपाली समुदायको हितका लागि मैले काम गर्नेछु,’ उनले भने ।

Comments

comments