अमेरिकाको अलबामा राज्यको सिनेटले मङ्गलबार गर्भपतन रोक्नेसम्बन्धी संयुक्तराज्य अमेरिकामै सबैभन्दा कडा कानुन पारित गरेको छ। सिनेटले पारित गरेको कानुनमा गर्भपतनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय हुनसक्ने छ।रिपब्लिकन पार्टीको बहुमत रहेको अलबामा राज्यको सिनेटले पारित गरेको नयाँ विधेयक प्रमाणिकरणका लागि गभर्नर के इभे समक्ष पुगेको छ। गभर्नरको हस्ताक्षरपछि उक्त विधेयकले कानुनको रुप लिनेछ।

नयाँ विधेयकमा बलात्कार वा नातेदारबाट हुने व्यभिचारका कारण गर्भ रहेमा त्यसलाई गर्भपात गराउन पाउने छुट पनि दिइएको छैन। संयुक्त राज्य अमेरिकाकै सबैभन्दा ठूलो मानव अधिकारवादी संस्था एसीएलयूले उक्त कानुनको कार्यान्वयन रोक्नेगरी अदालतमा चुनौती दिने तयारी गरेको छ।डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेपछि अमेरिकी सर्वोच्च अदालतमा अनुदार विचार राख्ने न्यायाधीशहरु नियुक्त गरेकाले पनि सर्वोच्च अदालतले पछिल्लो विधेयकलाई सदर गर्ने सम्भावना छ।

सर्वोच्च अदालतको सन् १९७३ को एक आदेशका कारण अमेरिकामा गर्भपतन गर्ने कानुनी बाटो खुलेको थियो। तर बहुसंख्यक रिपब्लिकन पार्टीका सदस्यहरु सर्वोच्चको उक्त आदेश खारेज हुनुपर्ने माग गरिरहेका छन्। सिनेट डेमोक्र्या्टिक पार्टीका नेता बब्बी सिङ्गलटनका अनुसार अलबामा राज्यको सिनेटले विधेयक पारित गरेर अनुदारवादी चरित्र प्रस्तुत गरेको छ।

Comments

comments