महेन्द्रनगर– मिडिया काउन्सिलको विरोधमा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा पनि आन्दोलनमा उत्रिएको छ । विद्येयकको विरोध स्वरुप शुक्रवार महासंघले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा संचार साधनसहित प्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले नेपाल सरकार मन्त्री परिषदवाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

 

महासंघ, प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना संसदमा दर्ता गरिएको उक्त विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने ठहर छ । उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी अन्तराष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

संसदमा विचाराधिन अवस्थामा रहेका विज्ञापन सम्वन्धी ऐन र सूचना प्रविधि सम्वन्धी ऐनमा प्रेस स्वतन्त्रता विरोधी दफा सच्चाउन माग गरेको छ । साथै मस्यौदा हुँदै गरेका आम संचार ऐन र सार्वजनिक सेवा प्रसारण ऐनका सम्वन्धमा सबै सरोकारवाला पक्षसँग छलफल र सहमति कायम गर्न समेत महासंघले आग्रह गरेको छ ।

Comments

comments