US Khabar

NRNA: कुल आचार्यको कार्यकालमा नियुक्त सिईओ रविकिरण विरुद्ध रविना थापाद्वारा कारवाहीको माग

- USKHABAR | २ महिना पहिले प्रकाशित

NRNA: कुल आचार्यको कार्यकालमा नियुक्त सिईओ रविकिरण विरुद्ध रविना थापाद्वारा कारवाहीको माग

गैरआवासीय नेपाली संघ (एनआरएनए) का सीईओ रवि किरण अधिकारीलाई कारवाहीको तयारी भएको छ । सीईओ अधिकारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एनआरएनएका कार्यकारी अध्यक्ष रविना थापाले कारवाहीको माग गरेपछि उनि विरुद्ध कारवाहीको तयारी भएको हो ।

अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयमा शनिबार सम्पन्न बैठकमा सीईओ अधिकारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यकारी अध्यक्षले सीईओ अधिकारीले संस्थागत काममा अटेरी गर्ने गरेको, यस विषयमा दिईएको लिखित चेतावनीको अभज्ञा गरेको, अवैधानिक रुपमा संघको केन्द्रीय कार्यालय संचालन गरेको, संघप्रति आलोचनात्मक लेख प्रकाशन गरेको, संघको लागि हुने टेन्डर प्रकृयामा पारदर्शी बाटो बन्द गरेको, एनआरएनएको बैंकक क्षेत्रीय सम्मेलनमा पदाधिकारीहरुको निर्देशनलाई अटेर गर्दै घोषणापत्र लेखन तथा प्रकाशनमा लापरवाही गरेको लगायतका १८ बुँदे आरोप सहित कारवाहीको माग गरेकी छन् ।

अधिकारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लामो दस्ताबेज प्रस्तुत गरेकी थापाले अधिकारी विरुद्ध आर्थिक हिनामिना, अध्यक्षकै निर्देशनको समेत अवहेला, अध्यक्षविरुद्ध लविङ , कर्मचारी बीच गुटबन्दी लगायतका आरोप सहित कारवाहीको माग गरेकी हुन् ।

थापाले ४ हप्ताअघि सिईओ अधिकारीलाई चेतावनी पत्र दिएको जानकारी दिंदै आफ्नो निर्देशनको अभज्ञा थर्दै संघको कर्मचारी प्रशासन नियमावली र विधानलाई उलंघन गरेको आरोप लगाएपछि शनिवार बसेको संघको पदाधिकारी बैठकले पुनः औपचारिक निर्णय गर्दै कारवाहीको प्रकृया अघि बढाउने तयारी गरिएको बताईएको छ ।

कार्यकारी अध्यक्ष थापाको अधिकारी विरुद्ध कारवाहीको माग गरेपछि सीईओलाई चेतावनीसहित स्पष्टीकरण सोध्ने निर्णय भएको जनाईएको हो ।

२ बर्षिय कार्यकालका लागि ३ अध्यक्ष रहेको एनआरएनएको वर्तमान कार्यसमितिमा ६-६ महिनाको नेतृत्व पाएका कुल आचार्य, रविना थापा र बद्री केसी मध्य अधिकारी कुल आचार्य कार्यकारी अध्यक्ष हुँदा सीईओ नियुक्त भएका थिए ।

गत अगष्ट महिनामा ३ लाख ५० हजार तलव लिनेगरि सिईओ नियुक्त भएका अधिकारीलाई संघले पछि तलव भत्ता घटाएर १ लाख ५० हजार मात्र तलव दिंदै आएको बताईएको छ । अधिकारीलाई तोकिएको तलवको आधा तलव किन घटाईयो भन्ने बारे स्पष्ट नभएको भएपनि यहि तलवका कारण समेत उनले जिम्मेवारीप्रति गम्भिरता नदेखाएको हो कि भन्ने आँकलन पनि गर्न सकिन्छ ।

१ वर्षको लागि नियुक्ति पाएका अधिकारीलाई कारवाही गर्नेबारे कुल आचार्यको आधिकारिक धारणा सार्वजनिक नभएको भएपनि अध्यक्ष मध्येका एक बद्री केसीले भने कार्यकारी अध्यक्षले प्रश्न उठाइसकेपछि सबै विषय समेटेर सीईओलाई चेतावनी सहित स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिएको समाचार पनि प्रकाशित भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!