US Khabar

वैकल्पिक मार्गको सुनसान जंगल छेउमा बढो कष्टले जन्मियो एक बालक

- Admin | १ महिना पहिले प्रकाशित

वैकल्पिक मार्गको सुनसान जंगल छेउमा बढो कष्टले जन्मियो एक बालक

सुष्मा देवकोटा

डिसेम्बर १३ तारिक
समय: मध्यरात ११ बजेर ३ मिनेट

सगेन्द्र श्रेष्ठ नामका युवाको फेसबुकबालमा एउटा लामो स्ट्याटस सहितका ८ थान फोटोहरु सार्वजनिक भए । सार्वजनिक भएको केही समयमा नै सयौंको संख्यामा लाईक, कमेण्ट र सियर भयो सो तस्विर र तस्विरले बोकेको नेपाली ग्रामिण भेगको अत्यन्त कष्टकर कथा । जहां एक महिलाले जंगलको बाटो छेउमा नवजात शिशुलाई जन्म दिंदै थिईन् । सुनसान बाटोमा कष्टकर प्रशव पिडा झेल्दै गरेकी ग्रामिण महिला र श्रीमतीलाई टाढाको स्वास्थ्य चौकीमा लैंजान नसकेका निहिर श्रीमानको विवस अवस्थाको सजिव दृश्य कारुणिक अवस्थामा छट्पटाईरहेको थियो ।

 

कथा यस्तो थियो

२०७९ मंसिर २७ गते मंगलवार बिहानको ९ बज्दै थियो । सगेन्द्र श्रेष्ठ र उनका साथी प्रसान्त गणवाली हलेसी, खोटाङ्गबाट लिम्चुङबुङ, उदयपुर पुग्ने वैकल्पिक मार्ग हुँदै बाइकमा यात्रा गर्दै थिए । बीच बाटोमा एउटा बाइक रोकिएको थियो, बाइक छेवैमा एकजना महिला भुंइमा लडिरहेकी थिईन् । उनलाई एकजना पुरुषले उठाउन सहयोग गर्दै थिए ।

घाम लागेको तर चिसो हावा चलेको मौसम, जाडो मौसममा रुखबाट पात झरेर उजाड देखिएको जंगल, डोजरले खनेर बालुवा र धूलो मिसिएको बाटो । सुनसान बाटोमा यि दुई महिला पुरुषको अवस्थाले साहारा खोजिरहेको आभाष भएपछि सगेन्द्र र प्रसान्त चलिरहेको वाईक रोकेर सहयोगका लागि अगाडी बढे ।

निक्कै नै चिन्तित र साहाराविहिन देखिएका ती पुरुषले सहयोगको याचना सहित उनिहरुलाई आफ्नो अवस्था सुनाय । मेरी श्रीमतीलाई ब्यथा लागेर बाइकमा हेल्थ पोष्ट लान लागेको, धेरै गाह्रो भएर यता भुईंमै छौं, हेल्थ पोष्ट धेरै टाढा छ ।”

बल्ल थाहा भयो सगेन्द्र र उनका साथीलाई । यि महिला प्रशव पिडाले छट्पटाई रहेकी छन् भन्ने । आमा बन्दै गरेकी ति महिलाको पिडालाई महशुष गरेका सगेन्द्रले स्ट्याटसको सुरुमै भनेका छन् यस्तो अनुभव फेरी भोग्नु नपरोस् । यस्तो दुःख अरु कसैलाई नहोस् ।

साच्चै दृश्य कारुणिक थियो, सुत्केरी व्यथाले च्यापेकी महिलाको पिडादायि चित्कार सुन्ने निर्जन जंगल, सुनसान बाटो र यि ३ पुरुष मात्र थिए ।
महिलाको चित्कारसंगैको अनुनयता मलाई गाह्रो भयो । पेटमा थिच्नु । बच्चा झर्न लाग्यो ।”

सगेन्द्र भन्छन् नभन्दै बच्चाको टाउको निस्किसकेको थियो । बेस्मारी हात समात्नुभयो । उहांले बल गर्नुभयो । हामीले ज्याकेट भुंइमा बिछ्यायौं । केही छिनमा बच्चा जन्मियो ।

मंसिरको अन्तिम साता, उच्च पहाडी जिल्लाको ग्रामिण भेगमा वहने चिसो सिरेटो झेल्दै एउटी आमाले नवजात शिशुलाई धुलाम्मे बाटोमा जन्म दिईन् । बच्चाको आधा जिउ ज्याकेटमा र आधा जिउँ भुईंमा थियो । केही क्षण सन्नाटा छायो । हर्ष र विस्मातको दोसांधमा उभिएका ३ पुरुषको आंखा सामु घटित यो घटना त्यो यथार्थ थियो जसलाई देख्ने आँखाहरु स्वयं शिथिल देखिन्थे ।


बालुवा र धूलो लागेर बाँयापट्टीको आँखा खोल्न नसकेका नवजात शिशु हात र खुट्टा चलाउँदै रुन थालेपछि बल्ल शान्ति मिल्यो मनहरुलाई, बच्चा ठिक छ भन्ने विश्वासको लहरले ।
बाटोमा जन्मेको यस्को के नाम राख्ने ?” “इन्जिनियर” ?

श्रीमतीलाई स्वास्थ्य चौकीमा सुत्केरी गराउनु पर्छ भन्ने जानेर एक्लै भएपनि श्रीमती बोकेर हिंडेका बच्चाका पिताको खुसी मिश्रीत स्वर सुनियो हो यसले यो बाटो बनाएर अरुको दुःख मेट्नुपर्छ ।”
भखैरै सुत्केरी बनेकी आमको अवस्था सिधा उभिन सक्ने अवस्था थिएन । आमाको लुगाले बच्चालाई छोपिएको थियो, बच्चा हेर्न समेत सकिरहेकी थिईनन् उनले । सगेन्द्र थप्छन् सहाराका लागि हाम्रो जिउमा अडेस लगाउँदै लामो सास लिनुभयो । एकछिन आँखा बन्द गरेर आराम गर्नुभयो । प्यास लागेर पानी खोज्दै हुनुहुन्थ्यो । आजकै दिन हामीले पानी नबोकेको । नजिकै खानेपानी कतै थिएन ।

अन्जान सम्बन्ध पनि पल भरमै सबैभन्दा आत्मिक बनिदियो यि ४ जना पात्रको । ति पात्र जो यथार्थ कथामा संगै बसेर आ आफ्ना ह्रदयलाई साटिरहेका देखिन्थे ।

सगेन्द्रले सामाजिक संजालमा साटेको यस अनुभव उनको जीवनको पहिलो थियो, पहिलो पटक यति कारुणिक अवस्थासंग उनको साक्षात्कार भएको थियो ।
त्यो समयलाई सम्झदैं उनि भन्छन् बच्चा त जन्मियो, तर साल झर्नै बांकी थियो । बच्चाको साल काट्नुपर्ने, तर कसरी काट्ने ? हामी तीन जना पुरुष, एकछिन त लाचार भयौं । धन्न मोबाइलमा नेटवर्क थियो । अलि तल कोशी वारी उहाँका आफन्त छिमेकीहरु बस्ने रहेछन् । फोन लाग्यो ।

पानी, लुगा, धागो र ब्लेड ल्याउन गरिएको खबर पाएपछि १५ मिनेटपछि दुईवटा बाइकमा ४\ ५ जना मानिसहरु आइपुगे । बल्ल राहतको स्वास फेरे सगेन्द्र र उनका साथीले ।

यति पिडादायी अवस्था झेलेर पनि आमा र बच्चा दुवै स्वस्थ थिए । हेल्थ पोष्ट जान हिँडेका श्रीमान श्रीमती सुनसान बाटोमा अविभावक बनेर फर्किए । भर्खरै आमा बनेकी महिला सबैको सहारामा विच बाटोबाट नै घर फर्कदैं थिईन् ।

बाइकमा बसेर सबैजना कोशी वारीको घरमा फर्किए । सगेन्द्र र प्रसान्त पनि सुत्केरी महिला पुर्याउन घर सम्मै पुगे । अचानकै आफन्तको साईनो जस्तै लाग्ने सम्बन्ध बनेको थियो । त्यसैले पनि बच्चा जन्मिएको घर पक्षले चिया नास्ता नगरी जानै दिएनन् ।

एउटा कल्पना नै नगरेको सत्यतासंग ठोक्किएका सगेन्द्रको मनमा ति नवजात शिशुको घरबाट फर्कदैं गर्दा मनमा अथाहा प्रश्नहरु उब्जिरहेका थिए । कुकुर पनि नहिड्ने त्यो बाटोमा यस्तै दुःख पर्दा के गर्ने होला ?” “यहांका मानिसले हेल्थ पोष्टमा कहिले बच्चा जन्माउला ?” “केही दिन अघि नै हेल्थ पोष्टमा भर्ना हुनुपर्ने किन ध्यान नदिएको होला ?” “स्थानीय सरकार, खोइ कता छ ?”

आफै भित्रका धेरै प्रश्नका बीच सगेन्द्रलाई गाउँकै एकजना नर्स दिदीले भन्नुभएको कुरा याद आयो – गाउँमा हेल्थ पोष्टले बच्चा जन्माउनै पर्दैन, बाटोले नै जन्माउँछ ।” सगेन्द्रले यति लामो अनुभव टुंगाउंदै गर्दा भनेका छन् उंहाको कुरा बल्ल बुझ्दैछु ।

सगेन्द्र श्रेष्ठको स्ट्याटस पढेपछि र उनको क्यामेरामा कैद तस्विरहरु हेरेपछि म भित्र पनि यि र यस्तै प्रश्नहरु खेलिरहेछन् । देश चुनावमय माहौलमा छ अझै , नेताहरु सांसद र सरकार बन्ने बनाउने दौडधुपमा छन् ।

स्थानिय तहको निर्वाचन पछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समेत सम्पन्न भयो । निर्वाचन आयोगका सुचना र देशका समाचार शिर्षकमा ठुला हेडलाईनमा लेखिए ‘निर्वाचन सफलतापूर्वक सम्पन्न ‘। यो सफलता केवल निलो रंग पोतिएका सोझा जनताका बुढि औंला र स्वस्तिक चिन्हको स्ट्यामको आकृतिका लागि मात्र सफल देखियो । नत्र सगेन्द्र र भर्खरै बढो मुस्किलको सामना गरेर श्रीमती र बच्चाका पिता विचको संवादमा बालकको नाम ईन्जिनियर राख्ने प्रशंग किन आउँथ्यो ? हाम्रा सुत्केरी आमाका नवजात शिशुहरुसंग हामीले देशका विकट गाउंका बाटोहरु बनाउने सपना देख्नु पर्छ भने किन विजयी गराउने नेताहरुलाई ? किन दिने ति आमा बुवाले भोट जवकी उसको सन्तान जन्मनु अगावै मर्ने सम्भावनाको जोखिम कहिल्यै अन्त्य हुँदैन भने ? किन मान्ने त्यो बालकले यो देशका नेतालाई र किन घोक्ने कितावी पानाहरुमा देशका प्रतिनिधिको नाम ? जो यो धर्ति देख्नु पूर्व नै बढों संघर्षको सामान गर्दैछ । किन गर्ने ति गाउँलेले जयजयकार प्रतिनिधिहरुको ? जसको उपचारका लागि राम्रो अस्पताल त परको कुरा  सामान्य स्वास्थ्य चौकी पुग्दा नपुग्दै जीवन समाप्त हुने भय र त्रास छ भने ?

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!