लण्डन- बेलायतकी प्रधानमन्त्री टरिजा मेले शुक्रबार भावुक मुद्रामा एक सम्बोधन गर्दै नेतृत्वबाट हट्न लागेको घोषणा गर्नुभएको छ ।

उहाँले यूरोपेली संघ (इयू) बाट बेलायतलाई बहिर्गमन गराउने कुरामा आफ्नै दलका सांसदहरूलाई पनि विश्वासमा लिन असफल भएपछि दलको नेतृत्वसँगै प्रधानमन्त्रीको पदबाट राजिनामा दिन लागेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

“मैले कन्जर्भेटिभ नेताका रूपमा आगामी जुन ७ गतेदेखि लागु हुनेगरी पदबाट राजिनामा दिने र नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गर्ने निर्ण लिएकी छु,” प्रधानमन्त्रीको डाउनिङ स्ट्रीटस्थित सरकारी निवास बाहिर एक भाबुक सम्वोधनमा भन्नुभयो ।

“मलाई ब्रेक्जिट सम्झौतामा सफलता पाउन नसकेकोमा धेरै दुःख लागेको छ र यो बिषयले सधैँ पश्चाताप गराइरहनेछ,” प्रधानमन्त्री मेले भावुक हुँदै भन्नुभयो । प्रधानमन्त्रीको सम्बोधनका क्रममा उहाँ भावुक बन्दा उहाँको गला नै अवरूद्ध भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले पार्टी नेतृत्वबाट राजिनामा दिनुलाई बेलायती सत्ताधारी दलमा नेतृत्वका लागि प्रतिस्पर्धाको शुरूवातका रूपमा हेरिएको छ । अर्को नेतृत्व नआउँदासम्म प्रधानमन्त्री मे ले कामचलाउ प्रधानमन्त्रीका रूपमा सरकारको कार्यभार सम्हाल्नुहुनेछ ।

मेले भन्नुभयो, “मैले आगामी जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजिनामा दिनेछु ।” त्यसपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू हुनेछ । नेतृत्वको लागि हुने प्रतिस्पर्धा आगामी केही हप्ता लाग्ने अनुमान गरिएको छ । रासस÷एएफपी

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक , भाजपालाई भारी बहुमत

नयाँ दिल्ली, १० जेठ । भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ ।

सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुदै भाजपा एक्लैले ३०३ सिट ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ ।

भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले भने ३५२ सिट हाँसिल गरेको आयोगका अधिकारीहरुले जनाएका छन् । भाजपाको राष्ट्रवादी तथा हिन्दुधर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकोले उसले एकछत्र जीत निकाल्न सफल भएको कतिपय भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

एनडीए गठबन्धनमा रहेका अन्य दलहरु मध्ये शिव सेनाले १८, जनता दल युनाईटेड (जेडियु)ले १६, लोक जनशक्ति पार्टीले छ, अकाली दल र अप्ना दलले दुई÷दुई सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रीक पार्टी, मिजो नेशनल फ्रन्ट र नेश्नल पिपल्स पार्टीले एक एक सिट जितेका छन् । त्यसैगरी भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय काँग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ । अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ ।

काँग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रका विजयी भएको छ । यस गठबन्धनमा आवद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके)ले २३, नेशनलिष्ट कंग्रेस पार्टी (एनसिपी)ले ५, इण्डियन यूनियन मुस्लीम लिगले तीन सिट जितेका छन् ।

त्यसैगरी रिभोलुसनरी सोसलिष्ट पार्टी (आरएसपी), केरला कंग्रेस —एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके)ले एक एक सिटमा जित हासिल गरेका छन् । रासस÷एएनआई

प्रधानमन्त्री मेको सम्बोधन हेर्नुहोस :- 

 

Comments

comments