US Khabar

मध्यरातमा गुञ्जदैं टुँडिखेल: सिक्कम,आसाम हुँदै अमेरिकाको टेक्सससम्म सोनाम ल्होछारको रौनक

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

मध्यरातमा गुञ्जदैं टुँडिखेल: सिक्कम,आसाम हुँदै अमेरिकाको टेक्सससम्म सोनाम ल्होछारको रौनक

मध्यरात भयो काठमाडौंको टुँडिखेलमा थरि थरिका गीतहरु गुञ्जिरहेछन् । भोली सोनाम ल्होछार । तामाङ समुदायको महान साँस्कृतिक पर्व सोनाम ल्होछार (ह्योइ \तावार ल्हो) बर्ष २८५९ को अवसरमा केही दिन यताबाट तीन दिवसीय ल्होसार पर्व सांस्कृतिक प्रस्तुतीमा टुँडिखेलमा भै रहेछ । भोली ल्होछार परेकाले आज ल्होछार ईभमा झुमिरहेको टुँडिखेलमा मध्यरातमा पनि दशौं हजारको संख्यामा तामाङ तथा गैर तामाङ नेपालीहरुको खचाखच भिड देखिन्छ ।

तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ लगायत अन्य विभिन्न संघ–संस्थाको सहभागितामा शुक्रबार, शनिबार र आइतबार ल्होसार मनाउन लागिएको हो ।

महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्था ताम्बा, बोन्पो तथा लामा गुरुद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, घोडचढी र ख्याति प्राप्त कलाकारद्वारा परम्परागत गीत, नृत्य, दोहोरी, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुति हुनेछन् । मौलिक खानाका परिकार, भेषभुषा, तामाङ जातिसम्बन्धी पुस्तक, गीति क्यासेट तथा परम्परागत वस्तुलाई स्टलमा प्रदर्शनमा राखिएको छ ।

केही बेर अघि मात्रै चर्चित गायक राजु लामाले आफ्नो प्रस्तुती दिएका छन् ।  मंगोलियन हर्टका राजु लामा स्टेजमा चढ्नासाथ भिड ठुलो गुञ्जायिसमा परिणत भयको थियो अर्थात राजु लामाका फ्यानहरुले स्वागतलाई आपसमा साटिरहेको दृश्यले मध्यरातको माहौलमा अझ धेरै आकर्षण थपेको थियो ।

सोनाम ल्होछारको अवसर पारेर नेपालका विभिन्न जिल्लाहरु तथा देश विदेशमा रहेका नेपाली तथा नेपाली भाषि तामाङ समुदायले सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् । भारतका दार्जलिङ, सिक्किम, आसाम लगायतका क्षेत्रमा सोनाम ल्होछार मनाईदै छ भने अन्य बहराईन, अष्ट्रेलिया, देशहरुसंगै अमेरिकाका विभिन्न राज्यहरुमा यस पर्वलाई सांस्कृतिक र पारिवारिक समारोहका साथ मनाईंदै छ । तामाङ समाज अमेरिका, तामाङ सोसाईटी अफ टेक्सस लगायतले सोनाम ल्होछारलाई शुभकामना आदान प्रदान सहितको सांगीतिक र सँस्कृतिक कार्यक्रमहरुको आयोजना गरेका छन् ।

तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका बताउँछन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!