US Khabar

नेपालका राजाहरुको अमेरिकी डिज्नी ल्यान्ड भ्रमण – बिचार [ सोनिषा थापा ]

- SONYSHA THAPA , TEXAS | ७ दिन पहिले प्रकाशित

नेपालका राजाहरुको अमेरिकी डिज्नी ल्यान्ड भ्रमण – बिचार [ सोनिषा थापा ]

अमेरिकी मनोरञ्जन उद्योग सिने क्षेत्रमा धेरै परिचित नाम हो वाल्ट डिज्नी। डिज्नी लोकप्रिय फिल्म निर्देशक, सफल निर्माता एवं नामि ब्यबसायी थिए। अमेरिकी राज्य क्यालिफोर्नियामा ती वाल्ट डिज्नीको प्रसिद्ध “डिज्नी स्टुडियो” छ। अहिले त अमेरिकाका अन्य राज्यहरुमा पनि डिज्नीका स्टुडियो लगायतका अन्य संरचनाहरु छन्। सन् १९६० को दशकमा क्यालिफोर्निया स्थित डिज्नी स्टुडियो अमेरिकाको भ्रमण गर्ने संसारभरका राष्ट्र एवं सरकार प्रमुखहरुको लागि पनि घुम्नै पर्ने एक मुख्य गन्तव्य थियो। त्यतिबेला अमेरिका जाने बिदेशी मुलुकका प्रतिनिधिहरु डिज्नी स्टुडियो जाने गर्दथे।

सन् १९४७ को २५ अप्रिलमा वाणिज्य एवं मैत्री सन्धिमा हस्ताक्षर भए संगै नेपाल र अमेरिकाको औपचारिक सम्बन्धको शुरुवात भएको थियो। सन् १९४८ मा एक अर्काको मुलुकमा आ-आफ्ना राजदूत खटाएका थिए। त्यस्तै सन् १९५९ सम्म आउँदा त अमेरिकामा नेपाली दूतावास त्यस्तै नेपालमा अमेरिकी दूतावास सम्म पनि खुलिसकेका थिए। त्यतिबेला सम्म नेपालका कुनै पनि राष्ट्र एवं सरकार प्रमुखहरुको स्तरमा अमेरिकाको भ्रमण भएको थिएन।

नेपाल र अमेरिकाको इतिहासमा नै पहिलोपटक सन् १९६० को अप्रिल-मे महिनामा नेपालका त्यतिबेलाका राजा महेन्द्रले अमेरिकाको राजकीय भ्रमण गरेका थिए। राजा महेन्द्रले झन्डै २ हप्ता सम्म औपचारिक र अर्को १ महिना अनौपचारिक रुपमा अमेरिकाको भ्रमण गरेका थिए। आफ्नो त्यही अमेरिका भ्रमणको क्रममा राजा महेन्द्रले क्यालिफोर्निया राज्यको समेत भ्रमण गरेका थिए। क्यालिफोर्निया भ्रमणका क्रममा राजा महेन्द्र ११ मे १९६० का दिनमा डिज्नी स्टुडियो पुगेका थिए। उक्त दिन बेलुकी ३ बजे डिजने स्टुडियो पुगेका राजा महेन्द्र दम्पतीलाई स्वागत गर्न वाल्ट डिज्नी दम्पती त्यहाँ आफै उपस्थित थिए। वाल्ट डिज्नीले राजा महेन्द्रलाई आफ्नो साथमा बसेर त्यहाँको रेल जस्तो सवारी चलाएका थिए। त्यहाँ उनले राजालाई स्टुडियोका विभिन्न चिजवस्तुहरु देखाएर त्यसबारेमा राजालाई विस्तृत जानकारी गराएका थिए। त्यति मात्र होईन वाल्ट डिज्नीले राजा महेन्द्रको सम्मानमा एउटा रात्री भोजको समेत आयोजना गरेका थिए। उक्त रात्री भोजमा त्यहाँका स्थानीय अधिकारीहरु सहित लोकप्रिय ब्यक्तित्व एवं कलाकारहरुको उपस्थिति थियो। त्यतिबेला नेपालमा समेत चलचित्र बनाउने योजनामा रहेका राजा महेन्द्रले डिज्नी ल्याण्डको भ्रमण र वाल्ट डिज्नी संगको भेटघाटबाट धेरै कुराहरु सिके होलान्। जसले गर्दा पछि उनलाई नेपालमा शाही नेपाली चलचित्र संस्थान स्थापना गर्न सहज भयो होला । राजा महेन्द्रले त्यतिबेला डिज्नी ल्याण्डको भ्रमण गरेको बिषयलाई त्यतिबेला अमेरिकाका स्थानीय संचारमाध्यमहरुले प्राथमिकताका साथ खबर सम्प्रेषण गरेका थिए। त्यस्तै डिज्नी स्टुडियोको तर्फबाट राजा महेन्द्रको उक्त भ्रमणलाई अहिले पनि स्मरण गरेर त्यस सम्बन्धि फोटो सार्वजनिक गर्ने देखि जानकारी साझा गर्ने काम निरन्तर भइरहेको छ।

सन् १९६७ मा राजा महेन्द्र दोश्रो पटक अमेरिकाको राजकीय भ्रमणमा गए। तर यसपटकको भ्रमण छोटो र त्यस अघि गईसकेको ठाउँ भएर होला यसपटक भने डिज्नी ल्यान्ड उनको अवलोकन सूचीमा थिएन। राजा महेन्द्रको दोश्रो अमेरिका भ्रमणको एक बर्ष अघि सन् १९६६ मा नै वाल्ट डिज्नीको निधन भईसकेको थियो।

तर सन् १९८३ डिसेम्बरमा राजा महेन्द्रका छोरा उनका उत्तराधिकारी राजा वीरेन्द्रले अमेरिकाको राजकीय भ्रमण गरेका थिए। राजा वीरेन्द्र आफ्नो अमेरिका भ्रमणको क्रममा उनी पनि डिज्नी ल्यान्ड पुगेका थिए। सन् १९७१ देखि अमेरिकाको फ्लोरिडा राज्यको ओर्लण्डो शहरमा डिज्नी वर्ल्डको शुरूवात भएको थियो। राजा वीरेन्द्र त्यतिबेला फ्लोरिडाको डिज्नी वर्ल्ड पुगेका थिए। आफ्नो दुई हप्ता लामो अमेरिका भ्रमणका क्रममा सन् १९८३ डिसेम्बर १२ का दिन रानी एश्वर्यका साथ राजा वीरेन्द्र डिज्नी वर्ल्ड पुगेका थिए। फ्लोरिडाको ओर्लाण्डो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका राजालाई त्यहाँका स्थानीय अधिकारीहरुले स्वागत गरेका थिए। सन् १९६० मा राजा महेन्द्रलाई डिज्नी ल्यान्डमा स्वागत गर्ने त्यसका संस्थापक वाल्ट डिज्नी त्यतिबेला सम्म जिवित थिएनन्। तर पनि संसारभरका मानिसहरूका लागि आकर्षणको प्रमुख गन्तव्य मध्येको एक रहने डिज्नी वर्ड ल्यान्ड र स्टुडियोको आकर्षण आज पनि सबैका लागि उस्तै र उत्तिकै कायमै छ। जसलाई नेपालको तर्फबाट नेपालका दुईजना पूर्व राष्ट्राध्यक्ष राजाहरुले अवलोकन गरेका थिए।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!