म अहिले उज्यालो नहुने बिहानमा छु
यस्तो लाग्छ किन आफ्नै चिहानमा छु
गीतकार भूपेन्द्र महतको नयाँ गजल सार्वजनिक भएको छ । संगीतकार जीवन प्रकाशको संगीत तथा गायिका रजनी ऋदम राई र संगीतकार जीवन प्रकाशको स्वरमा रहेको म अहिले बोलको गजल यूटुव मार्फत सार्वजनिक भएको हो ।
दार्जलिङको रिदम रेकर्डिङ स्टुडियो र मेलोडी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गजलले विश्व समुदाय र नेपालमा समेत देखिएको पछिल्लो दर्दनाक अवस्थामाथीको पिडालाई संबोधन गरेको छ ।
यस गजलका रचनाकार भूपेन्द्र महत लामो समय देखी अमेरिकामा रहेर पनि नेपाली सांगीतिक र साहित्यिक क्षेत्रमा निरन्तर सक्रिय स्रष्टा हुन् । जिन्दगीले हिसाव माग्छ, भगवान् मर्यो, मेरा सिरानीमै, किन ढाँट्नु, सोचे जस्तो लगायतका कयौं कर्णप्रिय गीत गजल सृजना गरेका महतले भर्खरै सार्वजनिक गजल म अहिले एकातिर कोरोनाको सन्त्रास अर्को तिर अबिरल बर्षाको कारण मानविय र भौतिक क्षती हुने गरि आएका बाढी पहिरो लगायतका प्रकोपले थिल्थिलिएको मनको पिडाले यो गजल जन्मिएको बताएका छन् ।
त्यस्तै यस गीतकी गायिका रजनी ऋदम राई भ्वाइस अफ नेपालको लाइभ राउन्डको तेस्रो एपिसोड सम्म पुगेपछि चर्चामा आएकी गायिका हुन् । रजनी ऋदम राई कोच दिप श्रेष्ठ टिमकी गायिका हुन् । दर्शक स्रोताले अत्याधिक मन पराएकी उनि दार्जलिङकी भएपनि पोखराबाट प्रतिस्पर्धामा सहभागी प्रतिस्पर्धी हुन् । भ्वाईस अफ नेपालबाट बाहिरिएपनि उनको आवाजका अत्याधिक धेरै प्रशंसक रहेका छन् ।
त्यस्तै यस गीतमा संगीत, आवाज र संगीत संयोजकको भूमिकामा रहेका जीवन ‘प्रकाश’ प्रधान दार्जलिङमा रहेर नेपाली गीत संगीतमा लामो समयदेखी सक्रिय संगीतकर्मी हुन् । स्रोता दर्शकमाझ तुलनात्मक रुपमा जति चर्चा हुनु पर्ने हो त्यो नरहेको भएपनि जीवन ‘प्रकाश अत्यन्त कुशल संगीतकर्मी रहेको प्रमाण उनका गीतहरुले बोकेका छन् । उनका संगीतमा फरक मिठास भेटिन्छ । बिशेषत बौद्धिक स्तरका संगीत अनुरागी र संगीत संवद्ध ज्ञान भएकाहरु जीवन ‘प्रकाश’का प्रसंशक रहेको पाईन्छ ।
प्रतिक्रिया