टेक्सास, अमेरिका
अमेरिकाको टेक्सास स्थित ड्यालस फोर्टवर्थ अन्तराष्ट्रिय विमानस्थलमा हृदयघात भई मँगलबार निधन भएकी कन्चनपुरका पत्रकार लक्ष्मण तिवारीकी आमा सोमवती तिवारीको आज हिन्दु परम्परा अनुसार टेक्सासको ड्यालसमा दाहसँस्कार गरिएको छ ।नेपाली समाज, टेक्सास तथा सुदूरपश्चिम नेपाली समाज टेक्सासको बिशेष पहलमा स्वर्गिय तिवारीको शबलाई ड्यालस स्थित ह्युजेस परिवार श्रद्धान्जली केन्द्र(शबदाह गृह) मा दाहसँस्कार गरिएको हो ।
केन्द्रको हलमा आयोजना गरिएको श्रद्धान्जली कार्यक्रममा गैर आवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद कोस्टारिका अध्यक्ष डा. खगेन्द्रराज चापागाई, नेपाली समाज, टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, सुदूरपश्चिम नेपाली समाज, टेक्सासका अध्यक्ष नवराज नाथ, पूर्ब अध्यक्ष प्रेम शाही, महासचिब गोबिन्द शाही, नेपाल अमेरिका पत्रकार सँघ (नेजा) का केन्द्रीय अध्यक्ष बिकासराज न्यौपाने, महासचिब सुरज भण्डारी, केन्द्रीय सदस्य बाबुराम दहाल, सामाजिक अभियन्ता देबीडेविट आचार्य, सगरमाथा आरोही उषा बिष्ट लगायतका नेपाली समुदायका अगुवाहरुले स्वर्गिय सोमवती तिवारीको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरि श्रद्धान्जली दिनु भएको थियो ।
मृतकका परिवारको तर्फबाट छोरा आनन्द तिवारीले स्वर्गिय आमाको दाहसँस्कारको लागि सहयोग गर्ने नेपाली समाज, सुदूरपश्चिम नेपाली समाज टेक्सास लगायत नेपाली समुदायलाई धन्यवाद दिएका थिए ।
टेक्सासको फोर्टवर्थमा शुक्रबारका लागि तय भएको छोराको विवाहमा सहभागि हुन श्रीमान रामसिंह तिवारी सहित सोमवती तिवारी टेक्सास आएकी थिईन । टेक्सास स्थित ड्यालस फोर्टवर्थ अन्तराष्ट्रिय बिमानस्थलबाट बाहिरिने क्रममा अचानक अचानक सोमवती तिवारीलाई हृदयघात भएको थियो । यसैक्रममा नेपाल पत्रकार महासँघ कन्चनपुर जिल्लाका पूर्ब अध्यक्ष समेत रहेका पत्रकार लक्ष्मण तिवारीले सामाजिक सन्जाल मार्फत दिबँगत हुनु भएकी आमाको दाहसँस्कार कार्यक्रममा आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने नेपाली समाज टेक्सास, सुदूरपश्चिम नेपाली समाज टेक्सास, नेपाल अमेरिका पत्रकार सँघ (नेजा) लगायत ड्यालस फोर्टवर्थ स्थित नेपाली समुदायकालाई धन्यवाद दिएका छन ।
प्रतिक्रिया