एनआरएनए आईसीसीले पुरानै नाटकको मृतप्राय: दृश्यलाई पुनः मन्चन गरेको छ । उम्मेदवारले जात, धर्म र राजनैतिक आस्थाका आधारमा मत माग्न नपाउने र प्यानल निर्माण गर्न नपाउने भन्ने प्राबधान कुनै नौलो होइन । सन २०१७ अघि पनि बिश्वकान्त मैनाली, हेमराज शर्माहरुले परिमार्जित गर्नु भएको आचार संहितामा यस्ता कठोर ब्यबस्था गरिएका थिए तर नेपाल पुग्नासाथ तात्कालिक कांग्रेस, एमाले र राप्रपाका नेताहरुको ढोका चाहर्दै राजनैतिक आशिर्वाद लिन जाने हाम्रा एनआरएनका पदलोलुप ब्यापारी नेताहरुकै कारण त्यो प्राबधानलाई नियतबश फितलो र निस्क्रिय बनाईएको थियो । अहिले केही समीकरण नमिल्दा अथवा मिलाउन नसक्दा त्यो पुरानो प्राबधानले पुनर्जीवन पाएको छ । त्यो बेहोराको परिपत्र मैले पनि आईसीसी महासचिब डा. बद्रि केसीबाट यही मे ५ तारिखका दिन प्राप्त गरेको छु ।
एनआरएन ब्यापार केन्द्रित राजनीति र तिनका निजी नियत र अभिष्टहरुलाई नजिकबाट हेरिरहेको एकजना संचारकर्मीका हैसियतले यस्ता राजनैतिक नाङ्गा नाँचहरु एनआरएनए अमेरिकामा मैले सन २०१४ को प्रारम्भदेखि हेरिरहेको मात्र होइन आफ्नो ताकतले त्यसको बिरुध्दमा लेखि पनि रहेको छु । यस्ता दिशानिर्देश, निर्देशिका र परिपत्रहरुको कठोर परिपालन गर्नु गराउनु पर्ने निर्वाचन आयोगले हो तर निर्वाचन प्रमुख र टिमको चयनमा नै राजनैतिक चलखेल हुने गर्दछ । खुलेर भात्री संगठनको राजनीति गरेकाहरुलाई नियुक्ति गर्ने गरिएको छ । निर्वाचन प्रमुख तिनैले अह्राएको काम गर्ने र नाँच्ने “कठपुतली” मात्र बन्ने गरेको हामीले नजिकबाट देखेका छौं । अघिल्लो सत्रको निर्वाचनमा आयोगको सदस्य भएर काम गर्दा स्वतन्त्रतापुर्वक निर्वाचन गर्न गराउन नसकेको आरोप खेपेका बिश्व बरालको नेतृत्वमा एनआरएनए अमेरिकाको निर्वाचनको बनिबनाउ नाटकको दुई हप्ता अघि मात्र पटाक्षप भएको छ ।
मेरो अनुभवमा गैर-राजनैतिक चरित्रको स्वतन्त्र व्यक्तित्वलाई निर्वाचन प्रमुखमा नियुक्त गर्न गराउन सकियो भने मात्र यी कर्मकाण्डी प्राबधान र संहिताहरु कठोरतापुर्वक लागु हुने सम्भावना रहन्छ । त्यसैले गैर-राजनैतिक चरित्रको हाम्रो र राम्रो गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदहरुको निर्माण गर्ने हो भने सबभन्दा पहिले हामी सबैले सचेत र सतर्क हुँदै गैर-राजनैतिक व्यक्तित्वको नेतृत्वमा निर्वाचन आयोग गठन गर्न आवश्यक पहल गर्दै दवाब दिनु पर्दछ ।
हाम्रो संगठनमा खुल्लमखुल्ला छिरेको भात्रीसंगठनमार्का शंक्रामक राजनैतिक महामारी रोक्ने पहिलो “प्रेसक्रिप्सन” नै यही हो, यत्ति गर्न सके अन्य प्रक्रियाहरु तपशिलमा रहनेछन र आपसेआप ठिक हुन्छन ।
जय एनआरएनए!

स्क्रिनसट साभार: बिक्रम तिमिल्सिनाको फेसबुकबाट

Comments

comments