केही जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका लडाकुको शंकास्पद गतिविधि देखिएको सुरक्षा निकायले बताएको छ । नेपाल प्रहरी स्रोतका अनुसार १४ जिल्लामा विप्लवका लडाकु दस्ता हतियारसहित देखिएका छन् । सुरक्षा निकायलाई प्राप्त ‘इन्टेलिजेन्स रिपोर्ट’ अनुसार पहाडी र चुरे क्षेत्रसँग जोडिएका जिल्लामा विप्लव समूहका लडाकु देखिएका हुन् ।

रातको समयमा सुरक्षाकर्मीको सहज उपस्थिति नभएका इलाकाहरुमा उनीहरु हतियारसहित देखा परेको बताइएको छ । एक उच्च सुरक्षा अधिकारीले भने, ‘‘विप्लव समूहको हतियासहितको गतिविधि बढेको सूचनापछि जनशक्ति बढाएका छौं । शंस्कापद स्थानमा छापा, जंगलमा सर्च अभियान पनि चलाएका छौं ।’’

सुरक्षा अधिकारीका अनुसार बर्दिया, भोजपुर, अछाम, सोलुखुम्बु, संखुवासभा, रुकुममा लडाकु समूहले आफ्ना गतिविधि बढाउँदै लगेको छ । यस्तै कालीकोट, जुम्ला, जाजरकोट, मोरङ, उदयपुर, रोल्पा, कालीकोट र कैलालीमा पनि विप्लव समूहले हतियारसहितका गतिविधि गर्न थालेको पाइएको ती अधिकारीले बताए ।

लडाकु समूहमा पूर्व लडाकु, युवा, विद्यार्थी छन् । महिलाको संख्या निकै कम छ । राति गाउँमै खाना खाएर पार्टी सदस्यता विस्तार गर्ने लगायतका काम लडाकु समूहले गर्ने गरेको सुरक्षा निकायको भनाइ छ । तीन साता अघिमात्रै सिन्धुलीको एक गाउँमा राति नौ बजेपछि विप्लव समूहका लडाकु घरघरमा पसेर खाना पकाउन स्थानीयलाई आग्रह गरेको स्थानीयले बताएका छन् ।

फेरिए कमाण्डर
विप्लव समूहका तीनवटा मात्रै भनिएको कमान्ड संरचना चारवटा बनाइएको छ । एक नेताका अनुसार चारवटै कमान्डको इन्जार्ज समेत हालौमात्र फेरबदल गरिएको छ । पूर्वी कमान्डको जिम्मेवारी सन्तोष बुढामगरलाई दिइएको छ । यसअघि पूर्वी कमान्ड इन्जार्ज अनिल शर्मा थिए । यस्तै मध्यकमान्डको जिम्मेवारी खड्गबहादुर विश्वकर्मालाई दिइएको छ ।

मध्यकमान्ड इन्जार्ज हेमन्तप्रकाश वली पक्राउ परेपछि विश्वकर्मालाई नयाँ जिम्मेवारी दिइएको हो । लुम्बिनी, धौलागिरी र गण्डकी कमान्डको इन्जार्जमा विप्लवकै ठूलो दाइ चन्द्रबहादुर चन्द ‘वीरधन’ र कर्णाली, भेरी, राप्ती र सुदूरपश्चिम कमान्डको जिम्मेवारी धर्मेन्द्र बास्तोलालाई दिइएको छ । तत्कालीन नेकपा माओवादीले युद्धकालीन समयमा बनाएको पार्टी संरचनाअनुसार नै विप्लव समूह अगाडि बढेको बताइएको छ ।

विप्लव समूहका गतिविधिबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले गोप्य सूचना संकलन गरी प्राप्त विवरणको विश्लेषणबाट आन्तरिक सुरक्षामा चुनौती थपिएको निष्कर्ष निकालेका छन् ।

कर्णाली प्रदेशका कतिपय स्थानीय तहमा विप्लव समूहले कुल बजेटको दुई प्रतिशत बजेट आफ्नो जनसरकारका लागि छुट्याउन चेतावनी दिएका छन् । प्रहरी अधिकारीका अनुसार निर्वाचनपछि विप्लवले संगठन विस्तारमा तिव्रता दिएका छन् भने चन्दा आतंक डरलाग्दो रुपमा जारी राखेका छन् । प्रतिबन्धपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले एक्लाएक्लै र संयुक्त रुपमा ‘सर्च एन्ड अरेस्ट अपरेसन’ सुरु गरेको थियो । ‘सर्च एन्ड अरेस्ट अपरेसन’ चलाएपछि सबैजसो नेता–कार्यकर्ताले सदरमुकाम र गाउँ छाडेका छन् ।

प्रहरी अधिकारीका अनुसार विप्लव लगायतका सबै शीर्ष नेता भूमिगत छन् । यसअघि गाउँमा रहेका नेता–कार्यकर्ता सुरक्षा कारवाहीबाट बाच्नका लागि विकट ग्रामीण इलाका, चुरे पहाडको क्षेत्र र जंगलमा लुक्न थालेका छन् । पार्टीका बैठक, भेला र प्रशिक्षण पनि जंगलमै हुने गरेको छ । एक प्रहरी अधिकारीले भने, ‘‘प्रहरीले विप्लव समूहका नेता–कार्यकर्ताको कल डिटेल, लोकेसनलगायत कुरा हेर्न थालेपछि शीर्ष नेताहरुले मोबाइल प्रयोग गर्न छाडेका छन् भने तल्लो तहका नेता–कार्यकर्ताले मोबाइल सेट र सिमकार्ड फेर्न थालेका छन् ।’’

 

Comments

comments