यतिबेला अमेरिकाको टेक्ससमा श्रीमद्धभागवत सप्ताह महापुराण चलिरहेको छ । गत जुन २ तारिकबाट सुरु भएको यस सप्ताह महापुराणले त्यहाँ पुग्ने जो कोहीलाई नेपाल सम्झाउने गरेको छ । सपनाको देश अमेरिकाले कति सपना पुरा गरिदियो या कति सपना गुमिगयो त्यसको हिसाव राख्ने फुर्सद सम्म नहुने ब्यस्त दैनिक बोकेको यो देशमा रहेका नेपालीहरुले आफ्नो संस्कार र संस्कृतीलाई भने कहिल्यै भुलेका हुँदैनन् । त्यसकै एक उदाहरण हो टेक्ससको श्री पशुपतीनाथ तथा बुद्ध मन्दिरमा आईतबारबाट सुरु भएको सप्ताह महापुराण ।

आजकाल यस क्षेत्रका नेपालीहरुको दैनिकी नै बदलिएको छ । सबैलाई महापुराणमा सहभागी हुने रहर छ । आ आफ्नो कामको समय मिलाएर र बिदा मै बसेर पनि धार्मीक आस्था बोकेका मनहरु पुराण स्रवण र भजन कृतनमा रमाईरहेका छन् ।

यो महापुराणमा सहभागी अभिभावको आफ्ना छोराछोरीलाई पनि संगै लैजाने गरेका छन् । उनिहरु चाहन्छन् नेपाली धर्म संस्कृतीको बारेमा आफ्ना बच्चाहरुले पनि जानकारी राखुन् । अमेरिकामा नै जन्मेका र हुर्केका बालबालिका लागि यो सबैभन्दा ठुलो पर्व भै रहेको छ । महापुराणमा सहभागी बालबालिका आफुले सक्ने कामको जिम्मा समेत लिईरहेको देख्दा साँच्चै हामिले देश छोडेपनि हाम्रा बालबालिले जन्मजातनै आफ्नो संस्कार बोकेर जन्मेका छन् भन्ने माहौल छ महापुराणमा ।

अभिभावक संग सहभागी बच्चाहरु एक आपसमा चिनजान गरेर साथी भन्ने बातावरण रहेकाले पनि उनिहरु एक आपसमा नेपाली भाषामै बातचित गरिरहेका भेटिन्छन् । यो झट्ट हेर्दा सामान्य जस्तो लागेपनि हाम्रा बालबालिका बिचको परिचयले नै नेपाली संस्कार र स्कृतीको बिस्तार हुने गर्दछ । उनिहरुले बुझेको नेपाल एक अर्कासंग सुनाउँछन् यदि यो मित्रता कायम रर्यो भने भोली हाम्रा बालबालिकामा आपसी भाईचारा बलियो हुन्छ र नेपाली संस्कृती उनिहरुमा हस्तान्तरण गर्न सजिलो हुने देखिन्छ ।

नेपाली भाषा समेत राम्ररी नजानेका बालबालिकाहरु प्रति मेरो देश नेपाल हो र म जस्ता धेरै नेपालीहरु संगै छौं यहाँ भन्ने सन्देस जान्छ । अभिभावक पनि सकेसम्म नेपाली भाषा बोलिदिए हुन्थ्यो आफ्ना छोराछोरीले भन्नेमा प्रयासरत देखिन्छन् । उनिहरु द्वभाषेकै रुपमा रहेर पनि बच्चाहरुलाई यस महापुराणको बारेमा नेपालीमा बताउन कोशिस गरिरहेका छन् ।

तिज र तिहारमा माईत जान चटारो भएजस्तै छ यतिबेला सप्ताह महापुराणमा सहभागी हुने महिलाहरुको हतारो । बिदाको दिन बच्चाहरु संगै लिएर जाने उनिहरु अरुबेला घरको सबै धन्दा सकेर छोराछोरी स्कुल छोडेर, जागीरबाट सकेसम्म समय निकालेर पनि रंगीविरंगी सारी र श्रृगारमा पुराण सुन्न पुगेका छन् । जस्तो नेपालको पुजाआजामा सहभागी हुँदा बिधी पुर्याएर पुजा गरिन्छ त्यसरीनै महिलाहरु पवित्र मनले भक्तीभावमा डुवेका छन् । यहाँ को कती हैसियतको को कुन क्षेत्रको भन्ने मतलव छैन केवल हामी नेपाली हौं भन्ने मात्र छ मन मनमा ।

सबैभन्दा खुसी उमेर ढल्केका बृद्ध अनुहारमा झल्केको देखिन्छ । छोरा बुहारी, छोरी ज्वाई लगायतका नजिकका आफन्त भेट्न टेक्ससास आईपुगेका बा आमा हुन् या लामो समय देखी यतै बसिरहेकाहरु या अमेरिका आएको दशकौं लामो समयले मुजा पर्न सुरु गरेका अनुहार सबै सबैमा उत्साहपुर्ण कान्ती झल्केको भेटिन्छ । भजनमा थपडी मारीहरेका हातहरु हुन् या जानी नजानी नाचिहेका भक्ती नृत्य उनिहरुमा गहिरो आस्था प्रसस्तै छ ।

कलस यात्राको दिन दौरा सुरुवाल र ढाकाटोपीमा सजिएका पुरुषहरु यतिबेला रामनामी टिसर्ट र सलमा देखिएका छन् । नेपाल होईन यो यहाँ धेरै असजिलोको बाबजुत यस्ता कार्यक्रम आयोजना हुने गर्दछ । नेपाली समुदायलाई बलियो गरी बाँधेको हुन्छ प्रवासमा हुने कार्यक्रमहरुले । हामी पनि समुदाय र समाज खडा गरेर बसेका छौ है भन्दा आफुलाई पनि आत्मसन्तुष्टी हुन्छ भने बालबालिकामा पनि हामी अरुको देशमा छौं भन्ने खालको महसुष हुँदैन र बृद्ध बृद्धाले पनि देश अलग भएपनि संस्कार गुमाएका छैनन् हाम्रा सन्तानले भन्ने विश्वास रहन्छ ।

हेर्दा पो सप्ताह महापुराण तर यसमा संस्कृत र नेपाली भाषा, नेपाली पहिरन, नेपाली खाना, नेपाली संगीत, नेपाली धार्मीक रिती रिवाज लगायतका यावत कुरा समेटिएको हुन्छन् जसले हाम्रो अस्तित्वको परिचय बोकेको छ । जहाँ यो सप्ताह चलिरहेको छ त्यस मन्दिरको आफ्नै महत्व छ । हिन्दुहरुका आरध्यदेव श्री पशुपतीनाथ र बौद्ध दर्शनका जन्मदाता गौतम बुद्धलाई संगै राखेर निर्माण गरिएको यस मन्दिरले हामी नेपालीको धार्मिक सहिष्णुताको राम्रो उदाहरण पेस गरेको छ । त्यसैले पनि यस महापुराणमा सहभागीहरु बौद्ध दर्शनका अनुयायीहरु पनि छन् ।

७ दिन सम्म चल्ने महापुराणले गैर हिन्दुहरुलाई पनि चासो थपेको छ । किनकी उनिहरुले हिन्दुधर्मको संस्कार र संस्कृती जान्न पाउने अवसरका रुपमा यसलाई हेरेका छन् । सहभागीहरु सेल्फी खिचिरहेका छन्, फेसबुक लाईभमा छन्, सन्चो बिसन्चोको खबर र शुभकामना आदानप्रदान भै रहेको छ । दृश्यमा कुनै धार्मिक मेला या गाउँतिरको सत्यनारायण पुजा, श्री कृष्ण जन्माष्टमी, राम नवमी, शिवरात्री, लगायतका पर्वको रौनक छ यहाँ । अरुका लागि अमेरिका खुसी नै खुसी भेटिने ठाउँ हो । यहाँ रहेकाहरुलाई त आफ्नो देश भन्दा धेरै पर बिरानो ठाउँ नै हो यो त्यसैले पनि होला साना साना कार्यक्रमलाई पनि अमेरिकामा रहेका नेपालीहरु धुमधामले मनाउने गर्छन् उल्लासले रमाउने गर्छन् ।

कार्यक्रम आयोजना गर्न नेपालमा जति सजिलो हुँदैन प्रवासमा । तर असजिलोकै माझबाट पनि आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्ने पहल भएकोमा हामी सबैले गर्व गर्ने ठाउँ रहेको छ । आपसी सद्भाव बाँडेर एकले अर्कालाई सहयोग गर्न सके नेपालीहरुले आयोजना गर्ने जुनसुकै कार्यक्रम पनि सजिलै सम्पन्न गर्न सकिन्छ ।

टेक्ससको श्रीमद्धभागवत महापुराण हेर्दा सप्ताहब्यापी पुराण जस्तो मात्रै लागेपनि यसले प्रदान गरेको सन्देसले नेपाल चिनाउनमा सहयोग गरेको छ । त्यसैले कमसेकम हामी सबैले हरेक कार्यक्रमका सकरात्मक पक्षहरुलाई देख्न सक्यौं भने केही कमजोरीहरु स्वतह सुधारिएर जान्छन् र भोलीका दिनमा अझै राम्रा कार्यक्रमहरु आयोजना हुने वातावरण सृजना हुने देखिन्छ ।

Comments

comments