काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसले नेकपा एमालेका नेताहरूलाई राष्ट्रपतिमा सघाउन नसक्ने बताएको छ । एमालको तर्फबाट राष्ट्रपतिका उम्मेद्वार सुवास नेम्वाङसहित मत माग्न नेकपा एसको कार्यालय पुगेका एमाले नेताहरूलाई सो पार्टीले यसपटक सघाउन नसक्ने जवाफ दिएको हो । दुई पार्टीका नेताहरूको छलफलपछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको प्रस्तावक रहेको पार्टी भएकाले सहयोग गर्ने परिस्थिति नरहेको जवाफ दिएको बताए । भेटमा भएको कुराकानीबारे अध्यक्ष माधव नेपालको भनाई उदृत गर्दै उनले भने, ‘हाम्रो तर्फबाट पार्टीका अध्यक्षले मत माग्न आउनुभयो । सौहार्दपूर्ण वातावरणमा कुराकानी गर्ने आधार तयार गर्नु भएकोमा धन्यवाद छ।’
पहिलो पटक दुई पार्टीबीच औपचारिक कुराकानी भएको हो । भेटमा भएको कुराकानीबारे प्रवक्ता खतिवडाले थपे, ‘नेकपा एमालेको तर्फबाट उठाईएको उम्मेद्वार सहित एउटा प्रतिनिधि मण्डलले पार्टी अध्यक्ष लगायतका पधातिकारीसँग भेट्नुभएको छ ।राष्ट्रपति चुनावमा आफ्नो उम्मेद्वमरलाई मत हाल्न अनुरोध गर्नुभएको छ ।राष्ट्रपति निर्वाचनको सन्दर्भमा हामी माननीय रामचन्द्र पौडेलको प्रस्तावक रहेको पार्टी भएकाले उहाँहरुलाई तत्काल यसो गर्छौँ भन्न सकेनौं ।’ यसअघि एमालले नेकपा एसलाई पार्टी नै हैन भनेको तर्फ संकेतगर्दै उनले अब एमाले परिवर्तन भएको संकेत गरे । उनले भने, ‘नेकपा एमालेले हाम्रो पार्टीको अस्तित्वमाथि अनेकौँ कुरा भनेको सबैलाई थाहा छ । त्यही पार्टीले आज पार्टी कार्यालयमा आएर औपचारिक संवाद गर्नु परिवर्तनको संकेत पनि हो ।’ राष्ट्रपतिमा तत्काल आफूहरूले केही गर्न सक्ने अवस्था नभएपनि वार्ताको र मित्रता विस्तारमा सकारात्मक प्रयास सुरु भएको उनको भनाई छ ।
प्रतिक्रिया