काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सातैवटा प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडीबुटी संकलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति सरकारले अघि सारेको बताएका छन् । शुक्रवारबाट काठमाडौंमा शुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले गुणस्तरीय आयुर्वेद औषधि उत्पादनतर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवद्र्धन गर्न सरकारले योजना अघि बढाएको बताए । उनले भने,‘सरकारको तर्फबाट राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्णरूपमा क्रियाशील बनाईनेछ ।
नेपालका रैथाने जडीबुटीको अध्ययन–अनुसन्धानलाई द्रुतगतिमा अगाडि बढाइनेछ । आवश्यक नीति निर्णय गरिनेछ । यसमा सरकार गम्भिर भएर अघि बढेको छ ।’ आयुर्वेदलाई प्राथमिकता दिन नेपाल सरकार प्रतिबद्ध रहेको भन्दै उनले आयुर्वेदलाई संरक्षण र संवद्र्धन गर्न सिंहदरबार स्थित वैद्यखानाले आफ्ना काम गरिरहेको बताए । नेपाल आयुर्वेदका लागि उचित गन्तव्यस्थल भएको तर, पछिल्लो समय जलवायु परिवर्तनका कारण यसको प्रभाव जडिवुटी उत्पादनमा परेको उनको भनाई छ । यस्ता समस्या न्यूनीकरण गर्न सरकार प्रतिवद्ध रहेको पनि उनले कार्यक्रममा बताए ।
प्रतिक्रिया