नेपालले आफ्नै रेलका माध्यमबाट भारतीय भूमिमा सामान ओसारप्रसार गर्ने भएको छ । नेपाल र भारतबीच रेल सेवा सम्झौता अन्तर्गतको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारत सरकारले सैद्धान्तिक सहमति जनाएको छ ।

जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकमा भारतले नेपाली रेल कोलकतादेखि विराटनगर र वीरगन्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारत सरकारले सैद्धान्तिक सहमति जनाएको वाणिज्य तथा आपुर्ति सचिव केदारबहादुर अधिकारीले बताए ।

बैठकमा रेलमार्फत् द्विपक्षीय र तेस्रो मुलुकबाट हुने पारवहन ढुवानी सहजीकरण गर्ने सम्बन्धमा विविध विषयमा छलफल भइ सहमति पनि भएको सचिव अधिकारीले बताए । बैठकले नेपाल–भारत रेल सेवा सम्झौता ५ वर्षका लागि पनि नवीकरण गरेको छ ।

सोमबार मन्त्रालयमै पत्रकार सम्मेलनमा सचिव अधिकारीले अबदेखि नेपाली झण्डा फहराईएका रेलले नेपाली समान बोकेर भारतको कोलकता र हल्दियासम्म सामान ढुवानी गर्न पाउने दाबी गरे ।

उनले भने, “यो हाम्रो लागि ठुलो उपलब्धी हो । पछि विराटनगर–जोगबनी, सुनौली–नौतनवा र कुर्था–जयनगर रुटमा रेल सेवा सञ्चालनमा आएपछि ती रुटमा पनि कार्गो ढुवानी गर्न पाउने सुविधा प्राप्त हुने गरी सहमति गरिएको छ ।”

यसैगरी भारतीय रेलबाट लाइसेन्स प्राप्त अन्य आधिकारिक कार्गो रेल सञ्चालकहरुलाई समेत नेपाली कार्गो ढुवानी गर्न अनुमति दिन नेपालले गरेको प्रस्तावलाई अनुमति दिने सम्बन्धमा सरोकारवाला पक्षसँग छलफल गर्न भारतले सहमति जनाएको छ । बैठकमा नेपाली टोलीको नेतृत्व मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका थिए ।

Comments

comments