संसदमा नसुने सडकमा आउँछौं- गगन थापा

9

प्यूठान- नेपाली कांग्रेसका नेता गगन थापाले संसद्मा कांग्रेसले उठाएका सवालहरुलाई बेवास्ता गरे सडक आन्दोलनमा उत्रने बताएका छन् । मंगलबार प्यूठान विजयनगरमा भएको जनसभालाई सम्बोधन गर्दै उनले संसद्मा पेश भएका विधेयकहरु बहुमतको दम्भमा पास गर्ने तयारीमा सरकार लागेकोले यसका विरुद्ध नेपाली कांग्रेस सडक आन्दोलनमा जाने बताए ।

“संख्याको दम्भमा रहेर सरकारले प्रतिपक्षका कुराहरु सुन्न चाहेको छैन,” नेता थापाले भने, “संविधानको मर्म विपरित आउने विधेयकलाई कुनै हालतमा पारित हुन दिँदैनौ ।” आफ्ना आवाज सरकारले नसुने सडकमा जानुपर्ने स्थिति आए तयारी अवस्थामा बस्न उनले कार्यकर्ताहरुलाई आव्हानसमेत गरे । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक, गुठी विधेयकलगाएत संविधानको मर्म विपरित भएको उनको भनाइ थियो । “बहुमतका नाममा सरकार तानाशाही व्यवहार देखाउँदै छ,” नेता थापाले भने, “देशको चिन्तामा बोल्नेहरुका मुखमा ताल्चा लगाउने प्रवृति हामीलाई सह्य छैन ।”

संसद्मा दर्ता भएको गुठी विधेयकको नाममा नेपाली धर्म संस्कृति नै सखाप बनाउन सकार उद्दत भएको उनको भनाइ थियो । “गुठीको नाममा रहेको जग्गा सरकारीकरणको नाममा नेपाली संस्कृतिलाई नै सखाप पारिँदै छ,” उनले भने ।
जनताले नेकपालाई सरकार चलाउने जिम्मा र कांग्रेसलाई प्रतिपक्षको जिम्मेवारी दिए पनि सरकार जिम्मेवार नभएको नेता थापाको आरोप थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग देश चलाउने कुनै विचार नभएको उनले टिप्पणी गरे । “संसद्मा जे विषयमा छलफल चले पनि प्रधानमन्त्रीले पानी जहाज र रेलको मात्र कुरा गर्नुहुन्छ,” थापाले भने, “तर, कुराले रेल गुड्दैन ।”

एकीकरणको डेढ वर्षपछि नेकपामा विचार सिद्धान्तका विषयमा चलेको छलफलले नै पार्टीको कुनै सिद्धान्त नभएको स्पष्ट हुने उनले बताए । पार्टी एकीकरण सिद्धान्त भन्दा कांग्रेसलाई हराउनकै लागि भएको उनको विश्लेषण छ ।

Comments

comments