काठमाण्डौ, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको छ् ।
उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक प्राविधिक इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ । समितिमा निगमको सेफ्टी, इञ्जिनियरिङ लगायत विभागको प्रतिनिधित्व छ ।
दक्षिण कोरियामा सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्नका लागि समिति गठन गरिएको हो ।
‘उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट मोलिट अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ । सोहीको तयारीका लागि निगमको तर्फबाट समिति गठन गरी काम सुरु गर्न लागिएको छ, निगमकी प्रवक्ता खड्काले भनिन् ।
निगमले अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तारको योजनाअनुरूप दक्षिण कोरिया सिधा उडानको तयारी सुरू गरेको हो । राष्ट्रिय ध्वजावाहक निगमको उपस्थिति र सिधा उडान सुरू गरेपछि बजार नियन्त्रण भई हवाई टिकटको मूल्य घट्ने र राष्ट्रिय ध्वजावाहकको दायित्व पनि पूरा हुने निगमको विश्वास छ ।
निगमले हाल भारतका तीन गन्तव्य आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग दुई थान न्यारोबडी ए–३२० र दुई थान वाइडबडी ए–३३० जहाज छन् ।
प्रतिक्रिया