काठमाडौं । सरकारले, मुस्ताङमा विश्वविद्यालय स्थापना गर्नका लागि भारतलाई अनुमति दिएको भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ भ्रमपूर्ण रहेको बताएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञप्ति मार्फत पूर्व प्रधानमनत्री केपी शर्मा ओलीको भनाइ भनी सञ्चार माध्यममा सार्वजनिक भएका समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ,’ नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको भन्दै विज्ञप्तिमा आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने स्पष्ट पारेको छ ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासलाई पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो त्यसको अध्ययन र छानविन गर्ने विज्ञप्तिमा उल्लेख छ । यसअघि शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरि चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका थिए । उनले सरकारले मुलुकलाई विदेशीको खेल मैदान बनाएको समेत टिप्पणी गरेका थिए । ओलीको भनाइको खण्डन गर्दै मन्त्री शर्माले निकालेको विज्ञप्तिमा परराष्ट्र नीतिमाथि आँच पु¥याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन भनिएको छ ।
प्रतिक्रिया