श्री पशुपतिनाथ ग्वल पुचः समाजले गुठी विधेयकको विरोधमा पशुपतिनाथ मन्दिरबाट सांस्कृतिक झाँकी र बाजागाजासहित प्रदर्शन गरेको छ ।

विहान पशुपतिनाथ मन्दिरबाट शुरु भएको झाँकीसहितको प्रदर्शन जयबागेश्वरी–सिफल–लामपोखरी–चाबहिल गणेशस्थान–चाबहिल चोक–मित्रपार्क–जयबागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरको दक्षिणढोका अघिको भण्डारी गुठी घर आई सभामा परिणत भएको थियो । प्रदर्शनमा सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापा, प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौँ महानगरपालिका वडा नं ७ र ८ का निर्वाचित जनप्रतिनिधिलगायत सहभागी हुनुभएको थियो ।

सहभागीले नेपालको मौलिक जीवन्त सांस्कृतिक जात्रा पर्व मास्न पाइँदैन, गुठी विधेयकका नाममा धर्म संस्कृति नाशिन दिँदैनौँ, गुठी विधेयक फिर्ता गर लगायत नारा लगाएका थिए । सांसद थापा, प्रदेशसभा सदस्य वैद्यलगायतले गुठी विधेयकका नाममा मौलिक सम्पदामाथि आक्रमण हुन लागेकाले फिर्ता लिनुपर्नेमा जोड दिनुभएको थियो । पशुपति क्षेत्रमा अमालकोट कचहरी कार्यालय, जयबागेश्वरी भण्डार तहविल कार्यालय, पशुपति भण्डार तहविल कार्यालय नामका पशुपतिसँग सम्बन्धित गुठी छन्

यस अलावा निजीस्तरबाट खुलेका जात्रा पर्व एवं संस्कारसम्बन्धी सयौँ गुठी रहेको पुचः समाजका अध्यक्ष केदारमान भण्डारीले बताउनुभयो । पशुपतिका नाममा रहेका तीनै वटा गुठी विसं २०५५ देखि पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालनमा रहेको छ । त्यसअघि तीनवटै कार्यालय बेग्लाबेग्लै सञ्चालन हुने गरेको अमालकोट कचहरी कार्यालयका गणेश श्रेष्ठले बताउनुभयो । पशुपतिका तीनै गुठी छुट्टै सञ्चालन हुँदा यसको रेखदेख मूलभट्टले गर्ने परम्परा थियो । रासस

Comments

comments