काठमाण्डौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् । उनले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन् ।
यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गरेका थिए । पूजा सकेर उनी शुक्रबार नै सुन्दरीजलस्थित बीपी सङ्ग्रहालय जाने कार्यक्रम छ । त्यहाँ उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला लगायत नेताको सालिकमा माल्यार्पण गर्ने तथा सङ्ग्रहालयको अवलोकन गर्ने छन् ।
उनी आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ जाने कार्यक्रम छ । पूर्वसभामुख रहेका पौडेल आफ्ना प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै बिहीबार मुलुकको तेस्रो राष्ट्रपति पदमा निर्वाचित भएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ यही फागुन २९ गते लिने जनाइएको छ ।
प्रतिक्रिया